धवलागिरि गाउँपालिकाले सुरु गर्यो ‘दीर्घरोगीका घर घरमा अध्यक्ष’ कार्यक्रम

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घरघरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ ।
दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गरेका हुन्।
सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै पुगेर औषधोपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण संकलन गरिएको छ । नियमित औषधि सेवन गर्ने विवरण संकलन गरेर सातवटै वडामा घरभेट गर्ने कार्यक्रमअनुसार वडा नं १ गुर्जामा दीर्घरोगीसँग भेटघाट गरिएको उनले बताए।
गुर्जामा छजना दीर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताइन्।
सबै वडामा दीर्घरोगीले सेवन गर्ने औषधिको विवरण संकलन गरेर औषधि उपलब्ध गराउने योजना गाउँपालिकाको छ।
सो कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाले चालु आवमा रु २० लाख बजेट विनियोजन गरेको जनाइएको छ ।
यो पनि पढ्नुस्
Facebook Comment