सदनमा व्यवस्थाका हिमायती र विरोधीको जुहारी

गणतन्त्रवादीलाई राप्रपाका शाही एक्लै भारी

शरद रिजाल
३२ जेठ २०८० १५:३९

काठमाडौं। सत्ता पक्ष र प्रतिपक्षका कतिपय सांसदहरुको गर्जनले यसपटक प्रतिनिधिसभामा नयाँ रौनक कायम गराएको छ।

संसदमा राष्ट्रिय राजनीतिको ज्वलन्त विषयमा आफ्ना धारणा शसक्त रुपमा व्यक्त गर्ने सांसदहरु मध्ये अधिकांश नयाँ अनुहारको बर्चस्व देखिएको छ। पहिलो पटक संसदीय यात्रा तय गरेका दल र सांसदको गर्जनले संसदको रापताप निकै ओजीलो देखिन थालेको छ।

नीति निर्माण गर्ने थलोको रुपमा रहेको व्यवस्थापिकाको तल्लो सदन प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गर्नेदेखि कामकारबाही र गतिविधिबारे प्रश्न उठाउने कार्यमा नयाँ सांसदको तदारुकता व्यापक देखिएको छ।

नयाँ सांसदको गर्जनले विगतको तुलनामा यसपालि नयाँ रौनक पैदा गरेको दृष्यले सबैको ध्यान केन्द्रित गरेको छ। यसपटकको संसदमा ज्वलन्त विषयमा आवाज मुखरित गर्ने अधिकांश नयाँ दल र संसदमा पहिलोपटक प्रवेश गरेका सांसदहरुको बाहुल्यता देखिएको छ।

संसदको नियमित बैठकमा आफ्ना आवाज बुलन्द तवरले अभिव्यक्त गर्ने सांसदहरुमा सत्ता पक्षबाट नेकपा (माओवादी केन्द्र) माधव सापकोटा, राजन दाहालको नाम अग्रपंक्तिमा आउँछ। त्यसपछि प्रतिपक्षबाट सशक्त रुपमा आवाज बुलन्द गर्ने सांसद हुन् ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)।

यसका अलावा प्रतिपक्षी एमालेबाट रघुजी पन्त, योगेश भट्टराई, महेश बर्तौलालगायतका सांसदहरुको धारिलो आवाज समेत नियमित रुपमा व्यक्त हुँदै आएको छ।

तथापि संसदमा सबैभन्दा सशक्त आवाज राप्रपाका प्रमुख सचेतक शाहीको देखिएको छ। उनी संसदमा मात्रै प्रतिपक्षी नभएर अहिलेको गणतान्त्रिक व्यवस्थाकै विरोधी समेत हुन्।

उनको पार्टीले देशमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै लामो समयदेखि संघर्षरत छ। यसर्थ संसदमा वर्तमान व्यवस्थाका पक्षपाती र यसको विरोधी बीचको खरो बहस नियमित रुपमा प्रकट हुने गरेको छ।

सरकारको नेतृत्व गरेको दल नेकपा(माओवादी केन्द्र)का सांसदहरुमा सापकोटा र दाहालको गर्जनको तुलनामा अन्यको प्रस्तुती त्यति सशक्त देखिँदैन।

यद्यपि समसामयिक सवालमा औपचारिक रुपमा अन्य सांसदको उपस्थिति पनि यदाकदा नदेखिएको होइन। तर सापकोटा र दाहालको तुलनामा माओवादीका अन्य सांसदको प्रस्तुती निकै गौण देखिने गरेको छ।

माओवादीका सांसद दाहालले यसअघि प्रतिपक्षी एमालेका अध्यक्षमाथि आक्रामक ढंगले खनिएका थिए। उनले आफ्नो पार्टी अध्यक्ष नेतृत्वको सरकारको प्रतिरक्षा गर्दै ओलीलाई पशुपतिनाथको जलहरी काण्डमा भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका थिए।

महालेखा परीक्षकको सार्वजनिक प्रतिवेदनमा अनियमितताबारे उल्लेख गरिएको बताउँदै एमाले अध्यक्ष ओलीको संलग्नता रहेको उनको आरोप थियो। उनको आरोपले संसदमा निकै तरंग ल्याएको थियो।

उनको सोही आरोपले संसद नै अवरुद्ध गर्ने अवस्थामा एमाले पुगेको थियो। संसद बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्नैपर्ने अवस्था निम्तिएको थियो।

उनले लगाएको आरोपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सुन काण्डमा ओलीको संलगनता बारे लगाइएको आरोप निराधार भएको जवाफ रोष्ट्रमबाट दिएपछि संसदको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन गर्न सहज भएको थियो।

संसदमा राप्रपाका सांसद शाहीको प्रस्तुती निकै आक्रामक र जोडदार प्रस्तुती देखिन्छ। उनले पनि वर्तमान व्यवस्थाका बेथितिविरुद्ध संसदमा प्रवेश गरेदेखि अभिछिन्न रुपमा प्रस्तुती दिँदै आएका छन्।

उनले मंगलबार प्रधानमन्त्री दाहाल विरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएपछि नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए। उनको मागको प्रतिवाद गर्दै माओवादीका सांसद माधव सापकोटाले संसदमा शाहीले राजीनामा माग्ने अधिकार नभएको बताएका थिए।

यसले संसदमा दुबै पक्षको सवाल जवाफ निकै आक्रामक रुपमा देखिएको थियो। संदको दृष्यमा सदाबहार देखिने यीनै अनुहार व्यवस्थाका हिमायति र विरोधीका रुपमा रहेका छन्।

माओवादीले सुरु गरेको जनयुद्ध नीति कार्यक्रममा समेटिएको बारे एमालेका सांसद योगेश भट्टराईले प्रश्न गर्दा सांसद सापकोटाले सदनको रोष्ट्रमबाटै जनयुद्ध जिन्दाबाद भन्दै प्रतिरक्षा गरेका थिए।

यस्तै बारम्बार राप्रपाका सांसद शाहीले पनि जनयुद्धमाथि प्रश्न उठाउँदै आएका छन्। उनले जनयुद्धमा भएका हरेक घटनाक्रमलाई अपराधको आरोप लगाउने गरेका छन्।

उनले जनयुद्धलाई राजनीतिक आन्दोलन नभएर हिंसात्मक घटनाको संज्ञा दिँदै अवमूल्यन गरेको भन्दै माओवादी सांसदद्वय सापकोटा र दाहालले सदनमै र सदन बाहिर समेत उनको अभिव्यक्तिको खरो रुपमा आलोचनात्मक प्रतिवाद गर्ने गर्दछन्।

सांसद शाहीले देशमा हिन्दु राष्ट्र पुनस्र्थापनासँगै राजसंस्थाको वकालत गरिरहँदा सांसदद्वयले राजसंस्थाको पैरवी गर्ने थलो सदन नभएको बताउँदै उनको प्रतिवाद गरेको दृष्य निकै रोचक देखिएको छ।

यसपालिको संसदमा व्यवस्थाका पक्षधर र विरोधीहरुको सवाल जवाफमा निकै रस्साकस्सी देखिन्छ । एक अर्काको आरोप प्रत्यारोप, खण्डन र प्रतिवादमा सांसदत्रयको मूल भूमिका सदनमा देखिएको छ।

माओवादीका सांसद सापकोटा र दाहालको मुख्य प्रतिवाद शाहीको अभिव्यक्तिप्रति निकै कठोर रुपमा देखिने हुँदा जनस्तरमा उनीहरुलाई माओवादी समर्थकहरुले व्यवस्थाको रक्षाकवचका रुपमा औंल्याएका छन्।

यता, शाहीको अभिव्यक्तिलाई लिएर वर्तमान व्यवस्थाले निकास नदिने बताउँदै राजसंस्था पक्षधरहरु निकै हौसिएका छन् । उनको जुझारुपनले राजसंस्था तथा हिन्दधर्मका पक्षपातीहरुले उत्साहित हुँदै प्रशंसा गर्न थालेका छन्।

उनको अभिव्यक्तिले संसदीय अभ्यासमा निकै पुरानो मानिएको उनको दल राप्रपाका अन्य सांसदहरु ओझेलमा परेको सर्वत्र चर्चा हुन थालेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *