उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका राजदूतबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बंगलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
उपप्रधानमन्त्रीको निजी सचिवालयका अनुसार राजदूत चौधरीलाई मन्त्रालयमा स्वागत गर्दै नेपाल र बंगलादेशबीचको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा साबित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए। दुई देशबीच व्यापार सम्झौतामा काम भइरहेको आफूले बुझेको उनले सुनाए।
राजदूत चौधरीले द्वीपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत् प्रशारण लाइन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। यस विषयमा फलदायी छलफल भएको र दुई देशको व्यापार मन्त्रालयले समेत व्यापार सहजीकरण सम्बन्धमा काम गरिरहेको राजदूत चौधरीले बताए।
भेटमा बंगलादेशी राजदूतावासले २३ जुनमा कला प्रदर्शनीको आयोजना गर्न लागेकोमा उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति हुन उपप्रधानमन्त्री श्रेष्ठलाई राजदूत चौधरीले आग्रह गरे। जवाफमा निमन्त्रणाको लागि कृतज्ञता व्यक्त गर्दै समयको उपलब्धता हेरेर उपस्थितिबारे जानकारी गराउने उपप्रधानमन्त्री श्रेष्ठले बताए।
Facebook Comment