समाजवादी मोर्चा 

दलहरुको शक्ति सञ्चय गर्ने नयाँ दाउ, जनाधार गुमाएकाहरु एकै ठाउँ

शरद रिजाल
१ असार २०८० १२:५२

काठमाडौं। लामो समयदेखिको रस्साकस्सीका बीच दलहरु समाजवादी मोर्चा गठनको तयारीलाई अन्तिम रुप दिन लागेका छन्।

गएको निर्वाचन अघिदेखि नै गठन गर्ने चर्चामा रहेको समाजवादी मोर्चा वामपन्थी दलहरुले लामो गृहकार्य पछि अन्ततः मुर्त रुप लिने भएको छ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा, विप्लव नेतृत्वको नेकपा, माधव नेपालको एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा (एकता अभियान) काबीच मोर्चा बन्ने सहमति जुटिसकेको छ।

अहिले तत्कालै मोर्चा मार्फत एकाकार हुन लागेका दलहरु समयक्रममा पार्टी एकतासम्म पुग्ने नेताहरुले बताइरहेका छन्। लामो समयदेखि एक आपसमा छलफल जारी राखेका नेताहरु सघन छलफल पछि सहमतिमा पुगेका हुन्।

दलहरुको लामो विमर्शपछि सत्ताधारी र बाहिर रहेका दलहरुको मोर्चा गठन टुंगो लागेको हो। अब उक्त मोर्चालाई पार्टी एकता गर्दै अन्तिम निष्कर्षमा पुर्याउने नेताहरुले दाबी गरेका छन्।

माओवादी नेताहरुले मोर्चा गठनको पहलकदमी लिन लामो समयदेखि प्रयासरत थिए। पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समित गठन गरेरै अन्य दलसँग एकता र मोर्चाका लागि छलफल गर्ने औपचारिक निर्णय गरेको थियो।

सुरुमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको प्रस्ताव रहेको समाजवादी मोर्चा हुँदै नयाँ पार्टी समाजवादी केन्द्र गठनको योजनामा पछिल्लो समय उनी आफैं सहभागी नहुने बताइएको छ।

समाजवादी मोर्चाको योजनाकार रहेका भट्टराईलाई दलहरुले बेवास्ता गरेकै कारण अहिले गठनको तयारीमा रहेको मोर्चामा उनको दल सहभागी नहुने स्रोत बताउँछ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्चा केही दिनमै घोषणा हुने जानकारी दिए। उनले हालसम्मै सरकारमा रहेका तथा बाहिरै बसेका पाँच दलबीच मोर्चा गठनका लागि सहमति भएको जनाए।

उनले भने, ‘मोर्चामा सम्मिलित हुने सबै दलसँग सहमति जुटिसकेको छ। एक साता भित्रमै घोषणा गर्ने तयारी गरेका छौं।’

सबैसहभागी दलको सहमतिमा मोर्चाको लिखित घोषणापत्र पनि तयार भएको उनले बताए। शनिबारसम्म औपचारिक कार्यक्रमममार्फत मोर्चाको घोषणा गर्ने तयारी सहित सम्बद्ध दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ।

महासचिव गुरुङका अनुसार मोर्चामा सहभागी हुने दलहरुमा माओवादी केन्द्र, जसपा, वामदेवको एकता अभियान, विप्लवको नेकपा, माधव नेपालको एकीकृत समाजवादीलगायतका दलहरुबीच सहमति भएको र बाबुरामको नेसपालाई पनि समेट्ने प्रयत्न भइरहेको छ।

दलहरुको मोर्चाले आगामी चुनाव हुँदै पार्टी एकतासम्म पुग्ने दीर्घकालीन लक्ष्य भएपनि आपषमा एकतावद्ध हुन नसकेर खण्डित भएका दलहरुको सहकार्य एउटै पार्टीमा पुग्नेमा वाम राजनीतिका जानकार श्याम श्रेष्ठ शंका गर्दछन्।

उनी भन्छन्, ‘अहिल्यै पदलोलुपता प्रकट भइसकेको छ । मोर्चाको नेतृत्व गर्न उहाँहरुको बीचमा तछाडमछाड छ। यसले पार्टी बन्ने त धेरैं टाढा भयो मोर्चा कति दिनसम्म टिक्छ त्यसैमा शंका छ।

उनले विगतदेखि कम्युनिष्ट आन्दोलनको नाममा संसदीय राजनीतिक अभ्यासमा लिप्त र गैर संसदीय चरित्रका विप्लव सहभागी हुने मोर्चामा नीतिगत अस्पष्टता कायम रहने जिकिर गरे।

यसले याथोचित परिणाम नदिने बताउँदै श्रेष्ठले भने, ‘यसको लक्ष्य र उद्देश्य समाजवाद निर्माणका लागि आगामी यात्रा तय गर्ने उहाँहरुको दाबी छ। त्यसका लागि अत्यावश्यकीय आधार तयार गर्ने दिशातर्फ अग्रसरता छैन। अमूर्त गफ गरेरै जनतालाई दिग्भ्रमित तुल्याउने नयाँ चेष्टा मात्रै हो।’

निर्दिष्ट उद्देश्य बिनाको समाजवादी मोर्चाले कुनै निकास नदिने उनले दाबी गरे। जनाधार गुम्दै गएपछि शक्तिसञ्चय गर्दै बार्गेनिङ पावर बढाउने र सत्तामा रहने दलहरुको नयाँ दाउ रहेको उनले टिप्पणी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *