महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित
काठमाडौं । नेपाल प्रहरीका एसएसपी योगबहादुर पाललाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधानकार्यालयको सिफारिसमा उनलाई मन्त्रालयले निलम्बन गरेको हो ।
प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुव्र्यवहारको आरोप लागेका एसएसपी पाललाई गृह मन्त्रालयले आज निलम्बन गरेको मन्त्रालयका एक सहसचिवले जानकारी दिए । प्रहरी प्रधानकार्यालयका प्रवक्ता डिआइजी कुवेर कडायतले निलम्बनका लागि सिफरिस गएको तर निलम्बन भएको पत्र आइनसकेको बताए ।
नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए । बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुव्र्यवहार गरेका थिए ।
ती महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बनका लागि पत्रचार गरिएको थियो । उनका विरुद्ध गत जेठ १९ मा उजुरी परेको थियो । गत १९ जेठमा एक महिला प्रहरीलाई दुव्र्यवहार गरेको घटनामा प्रहरी प्रधान कार्यालयले उनलाई त्यहाँबाट सरुवा गरेर छानबिन गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसपी श्यामसिंह चौधरीको अध्यक्षतामा समिति गठन भई छानबिन समितिले एसएसपी पालको गल्ती देखाएको थियो । सो छानबिनका क्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूहरूलाई समेत एसएसपी पालले दुव्र्यवहार गर्दै आएको सुनाएका थिए ।
छानबिन समितिले १९ जेठको घटनाबारे कार्यालयका प्रहरी कर्मचारीसँग सोधपुछ गरेको थियो । जसक्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूमाथि एसएसपी पालले गरेको दुर्व्यवहारका घटना सुनाएका थिए ।
Facebook Comment