मणिपुरमा फेरि हिंसा भड्कियो, इम्फालमा धेरै घरमा आगजनी

डिसी नेपाल
२ असार २०८० १०:५०

काठमाडौं । मणिपुरको राजधानी इम्फालको न्यू चेकोनमा फेरि हिंसा भड्किएको छ । सो क्रममा भीडले धेरै घरमा आगजनी गरेको थियो । भीडलाई रोक्न खोज्दा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

सेना र असम राइफल्सका जवानहरू सडकमा गस्ती गरिरहेका छन्। प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दुई महिलासहित केही घाइते भएको स्थानीय पत्रकारले बताए । आगजनी गरिएका घर कुकी जातिका हुन् । आगजनीको यो घटना आदिवासी बजार नजिकको हो।

यसअघि बुधबार खामेनलोक क्षेत्रमा संदिग्ध चरमपन्थीहरूले गरेको आक्रमणमा परी नौ जना मेइतीको मृत्यु भएपछि राज्यको वातावरण तातेको छ ।

सोही क्रममा बुधबार साँझ इम्फाल पश्चिम जिल्लाको लाम्फेल क्षेत्रमा भीडले भाजपा सरकारकी एकमात्र महिला मन्त्री नेम्चा किपगेनको सरकारी क्वार्टरमा आगजनी गरेको छ ।

हमला हुँदा नेम्चा घरमा थिइनन् । मणिपुरमा हिंसाका घटना बढ्दै गएपछि सेना र असम राइफल्सले अभियानलाई तीब्र बनाएका छन्।

सेना र असम राइफल्सका जवानहरूले संवेदनशील क्षेत्रमा गस्ती गरिरहेका छन्, जहाँ-जहाँ ब्यारिकेडहरू खडा गरिएको छ, तिनीहरूलाई हटाइँदैछ।

मे ३ तारिखदेखि राज्यमा मेइती र कुकी समुदायका जनताबीच भएको यस जातीय हिंसामा एक सयभन्दा बढीले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी घाइते भएका छन् । यस हिंसाका कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *