पाँचथरको बाढीमा ५ जना बेपत्ता, ठूलो परिमाणमा भौतिक संरचनामा क्षति

डिसी नेपाल
३ असार २०८० ७:५८

पाँचथर। अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपत्ता भएका छन्। एक जनाको भने उद्धार गरिएको छ। हेवा खोलामा आएको बाढीमा परी उनीहरु बेपत्ता भएका हुन्। बाढीले ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ-७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा बेपत्ता भएका छन्। उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको बताइएको छ।

बाढीले फिदिम-४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका समेत गरी ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ।

यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। यस्तै याङवरक गाउँपालिकामा ८ वटा घरहरू बगाएको प्रहरीले जनाएको छ।

सबै तस्वीर सुरेन्द्र सुवेदी/डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *