पुटिनभन्दा अघि जेलेन्स्कीलाई भेटेर अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डल रूस पुग्यो

डिसी नेपाल
३ असार २०८० ११:५८

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डललाई सेन्ट पिटर्सबर्गमा स्वागत गरेका छन्। अफ्रिकी नेताहरूले युक्रेन युद्धको वार्ताबाट अन्त्य गर्न आह्वान गरेका छन्।

राष्ट्रपति पुटिन दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र उनका सहयोगीहरूसँगको भेटमा मुस्कुराउँदै थिए । अफ्रिकी नेताहरूले युक्रेन युद्धका दुवै पक्षलाई ध्यानपूर्वक सुन्न चाहन्छन्।

रुस पुग्नुअघि नेताहरुको यो प्रतिनिधिमण्डलले युक्रेनको राजधानी किभमा केही समय बसेर राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेको थियो ।

यसै क्रममा जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई ‘आतंकवादी’ भनेका थिए र उनको आलोचना गरेका थिए । जेलेन्स्कीले भने कि जबसम्म रुसले युक्रेनमाथि कब्जा गरिरहन्छ तबसम्म केही हुने छैन।

युक्रेनमा रुसको आक्रमणका कारण युक्रेनबाट हुने अन्नको निर्यात प्रभावित भएको छ भने रुसबाट हुने तेल निर्यातमा पनि असर परेको छ । जसका कारण अफ्रिकाका धेरै देश प्रभावित भएका छन् र उनीहरूले खाद्यान्न र तेलको अभावको सामना गरिरहेका छन् ।

पछिल्लो समय युक्रेन र रुसबीचको द्वन्द्व चर्किएको छ । युक्रेनले रुसमाथि जवाफी हमला सुरु गरेको छ र रुसले कब्जा गरेको आफ्नो भूभाग मुक्त गराउने प्रयास गरिरहेको छ ।

केही दिन अघि युक्रेनको एउटा महत्वपूर्ण बाँध विस्फोट भएको थियो । यसका लागि रुस र युक्रेन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् । अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डल अघि टर्की, चीन र अन्य धेरै देशका राजनीतिज्ञहरूले दुई पक्षबीच वार्ता गर्ने प्रयास गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *