अमेरिकी विदेशमन्त्री चीन पुगे, के छ एजेण्डा ?
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार चीन पुगेका छन् । पाँच वर्षमा कुनै पनि अमेरिकी विदेशमन्त्रीको यो पहिलो भ्रमण हो।
यसअघि उनले यसै वर्षको फेब्रुअरीमा चीन भ्रमण गर्ने तयारी गरे पनि चिनियाँ जासुसी बेलुनका कारण उत्पन्न तनावका कारण भ्रमण स्थगित भएको थियो ।
उनले चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटबारे हालसम्म कुनै जानकारी आएको छैन ।
शुक्रबार सी जिनपिङले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई भेटे।
दुई देशबीचको सम्बन्ध सुधार गर्ने, व्यापार सहज बनाउने र युक्रेन युद्धमा रुसमा जाने चिनियाँ हतियार रोक्ने भ्रमणको मुख्य एजेन्डा हुनसक्छ ।
चिनियाँ विदेशमन्त्री किन गाङले बुधबार ब्लिन्केनसँग फोनवार्ता गरेका थिए। कुराकानीमा चिनियाँ विदेशमन्त्रीले उनलाई भनेका छन्, ‘हालैको सम्बन्धमा आएको तिक्तताको कारण को हो भन्ने स्पष्ट छ ।’
किन गाङले कथित रूपमा भने, “अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ र प्रतिस्पर्धाको नाममा चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितलाई कमजोर पार्ने काम बन्द गर्नुपर्छ।”
Facebook Comment