‘आदिपुरुष’को कमाइ ह्वात्तै घट्यो
काठमाडौं । निर्देशक ओम राउतको ‘आदिपुरुष’ यतिबेला सर्वत्र चर्चामा छ । रामायणमा आधारित यो चलचित्रको जनताले आतुरताका साथ प्रतिक्षा गरिरहेका थिए । ‘आदिपुरुष’को पहिलो दिनको कमाईमा यो उत्साह पूरै देखिन्थ्यो । प्रभास, कृति सेनन र सैफ अली खान स्टारर फिल्मले शुक्रबार भारतमै १०० करोडभन्दा बढीको कमाई गरेर नयाँ रेकर्ड बनाएको थियो । यो कुनै पनि बलिउड फिल्मका लागि भारतमा सबैभन्दा ठूलो ओपनिङ थियो।
शनिबार ‘आदिपुरुष’ को सङ्कलनमा केही कमी आएको थियो तर यो कमी खासै ठूलो थिएन । ‘पठान’ र आरआरआर जस्ता धेरै ठूला फिल्महरूको कमाईमा पनि यस्तै प्रवृत्ति देखिएको थियो। आइतबार बक्स अफिसमा ठूलो दिन हो र यस दिन फिल्मले शुक्रबारको तुलनामा पनि राम्रो कमाइ गर्छन् । त्, आदिपुरूषको हकमा भने यस्तो भएन ।
‘आदिपुरुष’ले आइतबार त्यति ठूलो कलेक्सन ल्याउन सकेन, जति फिल्मबाट अपेक्षा गरिएको थियो । सकनिल्कको रिपोर्ट अनुसार फिल्मले तेस्रो दिन भारतीय बक्स अफिसमा ६९.१ करोड कलेक्सन गरेको छ । आइतबार ‘आदिपुरुष’ जस्ता ठूला चलचित्रले ओपनिङ कलेक्सनको स्तरमा कमाइ गर्ने अपेक्षा गरिएको थियो । प्रभासको फिल्मले यो अपेक्षा पूरा गर्न सकेन ।
‘आदिपुरुष’को हिन्दी संस्करणले आइतबार ३८ करोडभन्दा बढी कमाएको छ । फिल्मले पहिलो दिन हिन्दीमा ३७.२५ करोड र दोस्रो दिन ३८ करोड कमाएको थियो । यसै अनुसार आइतबार ‘आदिपुरुष’को हिन्दी सङ्ग्रहमा केही सुधार आएको छ । पहिलो सप्ताहन्तमा मात्रै ‘आदिपुरुष’को हिन्दी संस्करणले ११० करोडभन्दा बढी कमाएको छ ।
तर पहिलो दिन फिल्मले रेकर्ड ब्रेकिङ ओपनिङ गराउनमा यसको तेलुगु संस्करणको योगदान अतुलनीय थियो। रिपोर्टहरू अनुसार शुक्रबार ‘आदिपुरुष’ ले तेलुगु संस्करणबाटै करिब ४८ करोड रुपैयाँ कमाएको थियो। अर्थात् पहिलो दिन फिल्मले हिन्दीको तुलनामा तेलुगुमा १० करोड बढी कमाएको थियो । तर शनिबार ‘आदिपुरुष’ को तेलुगु संस्करणले २७ करोडभन्दा कम कमाएको थियो।
आदिपुरुषले पहिलो दिन विश्वव्यापी बक्स अफिसमा १ सय ४० करोड रुपैयाँ कमाएको थियो। जबकि दोस्रो दिनको कमाई १०० करोड थियो । तेस्रो दिन पनि फिल्मको विश्वव्यापी कलेक्सन शनिबारको स्तरमै रहने रिपोर्टले जनाएको छ । अर्थात्, यो निश्चित छ कि प्रभासको फिल्मले विश्वव्यापी बक्स अफिसमा ३ दिनमा ३०० करोडको ग्रस कलेक्सन गरिसकेको छ।
‘आदिपुरुष’लाई लिएर जनतामा जति उत्साह थियो, फिल्म हेरेपछि त्यसलाई लिएर विवाद पनि उत्कर्षमा पुगेको थियो । चलचित्र हेरेपछि हलबाट फर्केका मानिसहरुले ‘आदिपुरुष’को संवाद र कथालाई लिएर धेरै गुनासो गरेका थिए । फिल्मको संवादको भाषालाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले ट्रोल समेत गरेका छन् । सुरुका दुई दिनमा ‘आदिपुरुष’को कमाई ठूला चलचित्रको बक्स अफिस ट्रेन्ड अनुसार चलिरहेको थियो । तर आइतवारको ठुलो उछाल गुमाउनुले अब चलचित्रसँग सम्बन्धित विवादले दर्शकको रुची बिगारिरहेको देखाएको छ ।
‘आदिपुरुष’का निर्माताले पनि जनताको भावनालाई ध्यानमा राखी यसै साता फिल्मका विवादित संवादहरू परिवर्तन गर्ने आइतबार घोषणा गरेका छन् । तर यसअघि नै यो विवादले चर्को रुप लिएको थियो र सोसल मिडियामा धेरैले विवाद देखेपछि फिल्म हेर्ने नियत त्यागेको पनि बताएका थिए । धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा ‘आदिपुरुष’का लागि बुकिङ भइसकेका टिकट रद्द गर्ने कुरा समेत गरेका छन् ।
सोमबार ‘आदिपुरुष’का लागि ठूलो परीक्षा हुने भएको छ । आइतबार फिल्मको कमाईमा ठूलो उछाल नआएपछि सोमबार ठूलो गिरावट आउन सक्छ । अहिलेसम्म ‘आदिपुरुष’को कमाई चलाउने हिन्दी संस्करण पनि सोमबार केही सुस्त हुने भएको छ । सोमबारदेखि काम गर्ने सप्ताह सुरु भएपछि ‘आदिपुरुष’ले कस्तो आम्दानी गर्छ भन्नेमा सबैको नजर रहनेछ ।
५०० करोडको बजेटमा बनेको फिल्म हिट हुनका लागि कामका दिनमा बक्स अफिसमा आफ्नो पकड कायम राख्नु निकै जरुरी हुन्छ । प्रभासको स्टारडमको आधारमा पहिलो साताको अन्त्यमा राम्रो कमाई गरेको ‘आदिपुरुष’ ले आफ्नो गति कायम राख्न सक्छ कि गर्दैन त्यो हेर्न रोचक हुनेछ ।
Facebook Comment