सम्झाना अर्थात दंश

ठाकुर बेलवासे
९ असार २०८० ७:४१

अचानक भेटिएकी तिमीले भन्याैँ –
मलाई टाढाटाढा हिड्नु छ
हिड्ने बाटाे देखाईदिनुहाेस् न !
मैले मेहनतले भेटेका र दुःखले हिडेका बाटाहरू देखाएँ !

तिमीले ती बाटा नै माग्याैँ
मैले आफ्ना खुट्टामा जोगाएर राखेका सबै बाटा दिएँ !

दोस्रो भेटमा अझ नजिक भएर भन्यौं-
अपरिचित बाटाेमा हिड्न डर लाग्छ
मलाई तपाईंको आँट दिनुहोस् न !
आमाले भरिदिएको मनभरिको आँट तिमीलाई दिएँ !
र आँटले नै संसार जितेकाहरूकाे
इतिहास पनि सुनाए !

अर्को भेटमा आत्मीय बनेर भन्यौं-
मलाई हाँस्न रहार छ !
तपाईंको हाँसाे दिनुहोस् न
म पनि अरू मान्छेजस्तै हाँस्छु !

बाले हाँस्न सिकाएका ओठबाट सम्पूर्ण हाँसाे झिकेर तिमीलाई दिएँ !

एउटा जीवनलाई चाहिने
बाटो,आँट र हाँसाे मात्रै हो !

बाटाे,आँट र हाँसाे भेटे पछि
तिमी वनकुखुराे जस्ताे जङ्गल पस्याैँ

जङ्गल मान्छेकाे पनि हुन्छ
हिंस्रक जनावरमन
मान्छेमा पनि हुन्छ !

यतिबेला सम्झिरहेको छु
तिमी रहरहरूको जङ्गलमै हरायाैँ कि !
आँटले नयाँनयाँ बाटो हिँड्दै हाँसिरहेकी छाैँ !

अझ बढी सम्झिएको छु
तिमीलाई मैले दिएका
पहिरोमा पनि पैतला अडाइदिने
ती बाटहरू !
आँधीहुरीसंग जुध्नसक्ने
ती आँटहरू !
अनि
परेलीलाई सधैँ हसाईरहने
ती हाँसाेहरू !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *