‘मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू हुँदैन’
काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले अनुसन्धान अघि बढाएको जनाएको छ।
सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले चारजनालाई पक्राउ गरि अनुसन्धान गरिएको जनाएको हो।
ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरेपनि तीन जनाले अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो।
अहिले काठमाडौं महानगरपालिका-६ का मीनबहादुर गुरुङ, रातोपुलका धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका-३ का गोपाल कार्की र काठमाडौँ महानगरपालिका-४ का सुधीर शाहमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको उहाले जानकारी दिए। उनले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने समेत स्पष्ट पारे।
पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लामो समयदेखि अनुसन्धान गरिरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने गरी काम गरिरहेको बताइन्।
Facebook Comment