सेनाको गाम्भिर्यतालाई नबुझी संख्या घटाउने कुरा नगरौं

पूर्ण ओली
१४ असार २०८० ८:२५

प्रत्येक देशमा सेनाको आफ्नो छुट्टै महत्व हुन्छ। यसलाई अरु निजामती या प्रहरीसँग तुलना गरेर हेरिने गरिँदैन।

बिकसित देशले पनि सुरक्षालाई धेरै महत्व दिएर सेनालाई सुबिधासहित सम्पन्न बनाएर राखेको हुन्छ। अल्पबिकसित देशमा पनि सेनाको सुबिधामा कुनै सम्झौता नगरि सेनालाई सधैं तयारी अबस्थामा राखिएको हुन्छ।

छिमेकी राष्ट्र भारतमा हेर्ने हो भने त्यहाँ सेनाले पाउने तलब भत्ता र सुबिधा अरुको भन्दा माथिल्लो स्तरको हुन्छ। त्यहाँ अधिकृत हुनसाथ उसलाई प्रथम श्रेणीको तहमा राखिन्छ। अर्थात् अरुभन्दा माथिल्लो तहमा राखिएको हुन्छ। रेलमा यात्रा गर्दा उनीहरुलाई भिन्दै बोगी राखिएको हुन्छ।

अधिकृत स्तरका ब्यक्तिलाई तालिम तथा बिशेष काममा सफर गर्दा फर्ष्टक्लास एसीमा निशुल्क यात्रा गर्न पाउँछन्। नेपाली सेनाले त्यस्तो छुट्टै सुबिधा खोजेको छैन। मात्र इमान्दारीपूर्वक निष्पक्ष भएर राष्ट्रको सेवा मात्र गर्न चाहेको छ। कमसेकम सेनालाई अरु संस्थालाई जस्तो राजनीतिकरण गरेर बेहाल पार्ने कार्य नगरि राष्ट्रहितमा सदुपयोग गर्नु उचित हुनेछ।

प्रत्येक देशमा आ-आफ्नै किसिमका जिम्मेवारी र सुबिधा दिए पनि सेनाको कर्तब्य बाह्य हमला रोक्नेदेखि, परेको बेला देशको आन्तरिक सुरक्षा तथा बिपद् ब्यबस्थापनमा सबभन्दा पहिला उद्धारमा साहसपूर्वक संलग्न हुने हो।

हाम्रो गौरबमय इतिहास भएको नेपाली सेनाले पनि जहिलेपनि संविधान र कानुनभित्र रहेर सरकारको आदेश निर्देशनमा चल्ने गरेको छ। पञ्चायती ब्यबस्थासम्म सेनाको बिरुद्ध कुनै किसिमका लेख र भाषण गर्न पाइँदैन थियो।

बहुदलीय ब्यबस्था आइसकेपछि केही दल र पत्रकारहरु यसको बिरुद्धमा अनर्गल हल्ला र दुश्प्रचारमा लागेका देखिन्छन्। बहुदलीय ब्यबस्था आइसकेपछि सेनालाई पनि प्रजातन्त्रीकरण गरिनु पर्छ भन्ने आवाज जोडदारले उठाइयो।

तर उनीहरुले अरु संस्था र सेनाको फरक छुट्टाउन सकेनन् या चाहेनन्। सेनाको संगठन तथा अनुशासनमा दखल पर्ने कार्य गरेमा परेको बेलामा सेनाको सही परिचालन हुन सक्दैन। त्यस्तै गरेर सेनाको संख्या घटाउने कुरा पनि बेला बेलामा उठ्ने गर्छ। तर यस बिषयमा विस्तृत रुपमा कसैले पनि गृहकार्य गरेको पाइँदैन।

सबभन्दा पहिला २००८ सालमा मात्रिकाप्रसाद कोइरालाको पालामा भारतको सल्लाहमा नेपाली सेनाको संख्या ह्वात्तै घटाएर ९,००० झारियो। अनि उत्तरी सिमानामा १७ ओटा चेकपोष्टमा भारतीय सेना राखियो।

यसलाई हटाउन २०२६ सालमा मात्र राजा महेन्द्रको इच्छा र निर्देशनमा तात्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा भारतका लागि नेपाली राजदूत यदुनाथ खनालको कुटनीतिक पहलमा सफल भएको थियो।

२०६३ सालपछि आएको लोकतन्त्रमा नेपाली सेनामा माओवादी लडाकु मिसाउन फेरि सेनाको संख्या घटाउने पहल गरियो। सेनाको जोडबल र केही नेपाली राष्ट्रभक्तहरु दवाव पछि यो बिषय थाँती राखियो।

पछिल्लो अबस्थामा नेपाली काँग्रेसका नेता र चुनावमा टिकट नपाएर स्वतन्त्र दलमा गएर चुनाब जितेर आएका योजना आयोगमा बसिसकेका, वल्र्ड बैंकलगायत अमेरिका भारतमा बसिसकेका बिद्वान डा. स्वर्णिम वाग्लेले सदनमा नेपाली सेनाको संख्या घटाउने कुरा गरे।

तर त्यसको कारणमा केही पनि तथ्य प्रस्तुत गरेको पाइएन। यसको ठोसरुपमा बहस अघि नबढे पनि सेनाको महत्व र अहिले नेपाली सेनाले गरिराखेका राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्य बारेमा कसैलेपनि ठोस रुपमा कुरा उठाएको पाइँदैन। नेपाली काँग्रेसबाट रक्षामन्त्री भएका पूर्णबहादुर खडकाले पनि यसलाई गम्भिररुपमा जवाफ दिएको देखिँदैन।

सेनाको संख्या घटाउन ठूलो कुरा नहोला तर अहिले सेनाले गरिरहेको आफ्नो दैनिक कार्य बाहेक बिकास निर्माणमा खटाएको फौज, बन्यजन्तु आरक्ष तथा निकुन्जहरुमा खटाएको फौज बारेमा कुरा उठेको पाइँदैन।

शायद निकुन्जहरुमा समयमा सेना नखटाएको भए अहिलेसम्म त्यस क्षेत्रमा जंगल बाँकी रहने थियो थिएन शंकै छ। शान्ति सेनामा खटिने फौजले आज देशको मात्र होइन युएनमासमेत नेपालको इज्जत धेरै माथिल्लो स्तरको छ। यसबाट करोडौ बिदेशी डलर नेपालले प्राप्त गरिरहेको छ। युएन मिसनमा जाने सेनाको संख्या डबल पार्न सके सेना र देशको हितमा हुनेछ।

सेनाको संख्या घटाउन ठूलो कुरा नहोला तर अहिले सेनाले गरिरहेको आफ्नो दैनिक कार्य बाहेक बिकास निर्माणमा खटाएको फौज, बन्यजन्तु आरक्ष तथा निकुन्जहरुमा खटाएको फौज बारेमा कुरा उठेको पाइँदैन।

जुनसुकै देशमा पनि रक्षा बिशेषज्ञहरु रहेका हुन्छन् जसले सरकारले देशको सुरक्षा बारेमा सही सल्लाह लिने गर्छन्। नेपालमा त्यस्ता नाम चलेका बिशेषज्ञ खासै देखिदैन र भएकालाई पनि सरकारले वास्ता गर्दैन ।

सुरक्षा परिषदमा समेत सेनाको बिशेषज्ञ लानु पर्नेमा निजामतिका अबकास हुने बेलाका मुख्य सचिब लगियो । देशको सुरक्षा बारेमा सेनाबाट अबकास पाएका केहि रथीबृन्दले मात्र कहिलेकाहिँ मिडियामा बोलेको र लेखेका पाइन्छ। ती पनि नगण्य छन्।

सेनाका पूर्ब सेनापति तथा अरु पनि रथीबृन्द छन् जो सेनामा रहिन्जेल निकै आसालाग्दा देखिन्थे तर अबकास भएपछि आफ्ना ब्यापार र पेन्सनमा रमाएर मात्र बसेका पाइन्छ । प्रधानसेनापतिले स्वयं पनि सेना र देशको पक्षमा बोल्ने हिम्मत गरेको पाइँदैन।

सेनाले परेको बेला देशको रक्षा गर्न युद्ध गर्नपनि तयार हुनुपर्छ। सानो देश भनेर आफुलाई कमजोर ठान्नु हुंदैन । सानो देश भएर पनि इजरायलले स्वाभिमान पूर्बक राष्ट्र बचाएर देश बिकासित बनाएको छ।

त्यो देशमा लडाइँ हुँदा अमेरिकामा बसेका यहुदीहरु समेत लड्न सघाउन आएको यो पङतीकारले लेबनानमा शान्ति कायम राख्न जाँदा देखेको छु । त्यस्तो राष्ट्रप्रेम र एकता भएमा देश सधैं स्वतन्त्र भएर रहन सक्छ ।

हाम्रो देशका कमजोर र भ्रष्ट सोच भएका नेताको भनाइ के छ भने हामी दुइ ठुला देशबाट चेपिएका छौं । हामी उनीहरुसंग कहाँ लड्न सक्छौ र ? तर हाम्रो मानसिकता यति कमजोर छ कि हामीले ती ठुला देशसँग लडन् त के हाम्रो सिमाना मिचिँदा, सिमानामा हाम्रा जनता लुटिँदा कुटिँदा र बेला मौकामा मारिँदा पनि सरकारमा बस्नेहरु बोल्न पनि सक्तैनन्।

लडाइँ भनेको आजको भोलि हुने होइन। त्यसका लागि बातावरण बन्न समय लाग्छ। हामीले हाम्रा छिमेकी देशबाट आफूलाई अन्याय भएको कुरा प्रष्टसँग राख्नु पर्छ। सिमाना मिचिएको कुरा उसले नमानेमा युएनमा उठाउने हिम्मत गर्नुपर्छ।

खासगरि छिमेकी भारतसँग हाम्रो सिमानामा धेरै बिबाद छ। उसले सीमा बिबादलाई समाधान गर्न भन्दा अरु बढि दुःख दिने गरिरहेको छ। उसँग हाम्रो खुला सिमाना छ जहाँबाट तस्करी, अपहरण, चोरी, भारतीय सुरक्षा निकायका मानिस पनि नेपालमा छिरेर नेपाली जनतालाई कुटने पिटने र मार्नेसमेत गर्दा पनि हाम्रा सिमानमा बसेका सुरक्षा निकाय शिर्फ मुकदर्शक भएर बस्छन्।

यो शिर्फ नैतिकहीन हुतिहारा तथा भ्रष्ट नेता र सरकारको कारण पनि हो। यदि हिम्मतिलो इमान्दार नेता र सरकार हुँदोहो त छिमेकीलगायत बिदेशीसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्नुपर्छ। अब हाम्रो खुला सिमाना नियन्त्रण गर्नैपर्छ।

यदि ठूलो छिमेकी भएर नेपाललाई हेपिराख्छ भने भारतीय सेनामा भएका हाम्रा गोर्खाली फौज फिर्ता गर्नेसम्मको कुरा सरकारले भन्न हिम्मत गर्नुपर्छ। त्यसपछि मात्र भारतले चेत्नेछ। किनकि बिना गोर्खाली फौजको भारतीय फौज नैतिकरुपमा र भौतिकरुपमा पनि कमजोर हुनेछ। हाम्रा बिद्वान स्वर्णीम वाग्लेहरु नेपाली सेनाको संख्या घटाउन दवाव दिन्छन् तर भारतले हाम्रो सिमाना मिचेको बारेमा सदनमा बोल्न सक्तैनन्।

त्यसैले हाम्रा नेता सुरक्षा अंग यदि इमान्दार सक्षम तथा राष्ट्रप्रेमी भएर लाग्ने हो भने हामी निडरतापूर्वक अघि बढ्नै पर्छ। बंगलादेश र भारतको सिमाना अहिले बलियोसँग बनाइएको छ। पहिला पहिला बंगलादेशी नागरिक भारतमा छिरे भने भारतीय सुरक्षा गार्डले गोली हानेर मार्ने गर्दथ्यो।

धेरै बंगलादेशी नागरिक भारतीय सीमा गार्डले मारिसके पछि एकचोटी बंगलादेशी सीमा सुरक्षा गार्डले पनि ३०।३५ जना भारतीय सीमा सुरक्षा गार्डलाई मारिदियो। त्यसपछि मात्र भारत सरकारले एक अर्काको जमिन लेनदेन गरि मिलाएर सिमानालाई सुरक्षित र मजबुत बनाए।

त्यसपछि सिमानाको समस्या सधैंलाई समाप्त पारियो। हामीले पनि हिम्मत गर्नुपर्‍यो। परेको बेला बोल्नु पर्‍यो। सिमानामा नेपाली मारिँदा सीमा सुरक्षामा खटिएका ससस्त्र प्रहरी हिम्मतसाथ बोल्ने र गोलि समेत चलाउनु पर्‍यो।

भारतीय फौज खुलारुपमा नेपाल छिरेर हाम्रो प्रहरी सेनालाई मार्ने हिम्मत गर्दैनन्। किनकि उसको फौजमा सबभन्दा बलियो फौज नै गोर्खाली फौज हो। यदि नेपाललाई धेरै दुःख दिँदा त्यसको प्रतिकृया अबश्य आउनेछ भन्ने भारतीय शासकले पनि बुझेको छ। अर्को कुरा सिमानाको केही भित्र नेपाली सेनापनि ब्याकअप फोर्समा छ।

नेपाली सेनाको अहिलेको संख्या त्यति बढि होइन बरु यसलाई आधुनीकिकरण गरि धेरै कुरामा आत्मनिर्भर बनाउनु पर्छ। खासगरि गोलिगठ्ठा, बम बारुदमा आत्मनिर्भर बनाउनु पर्छ। यी सबै हाल नेपाली सेनाले बनाउँछ तर ती नपुग छन्। यसको परिणाम बढाउनु पर्छ।

एक्सप्लोसिभ सडक बिभागलाई पनि आबश्यक पर्दा दिन सकियोस्। अहिले भारतबाट पनि मगाउनु पर्छ। यदि हामीले हाम्रा युवालाई एसईई परीक्षापछि सैनिक तालिम दिन सकिएमा यो अनुशासित युवा समूहलाई रिजर्भ फोर्सको रुपमा प्रयोग गर्न सकिन्छ। जसले सेनालाई लडाइँमा मद्दत गर्न सक्छ। यदि युवालाई अनिवार्य सैनिक तालिम दिइने हो भने सेनाको केही प्रतिशत फौज घटाउन सकिन्छ।

सेनासँग कोहिपनि पूर्वाग्रही हुनु हुँदैन। अनि नेपाली काँग्रेस पनि १७ सालमा राजा महेन्द्रले नेपाली सेनाको सहयोगबाट काँग्रेस सरकारलाई बर्हिगमन गराएको भन्ने सोच छ। यो त्यतिखेरको सरकारको आदेश नेपाली सेनाले मानेको मात्र हो।

शायद त्यो बेलाको काँग्रेसको सरकारलाई राजा महेन्द्रले अपदस्थ नगरेको भए नेपाल अहिले सिक्किम भइसक्ने थियो कि? यो पनि बिचारणीय छ। खासगरि भारतीयको चाहना जतिसक्तो नेपाली सेना थोरै र कमजोर भएमा नेपाललाई भुटान बनाउन सकियोस भन्ने चाहना देखिन्छ।

त्यसैले आफूलाई सुरक्षा बिज्ञ ठान्ने बिद्वान, बुद्धिजिवि, पत्रकार, नेताहरू,  सेना भनेको कुनै निजी कम्पनि होइन। परेको बेला यहाँहरुकै सहयोगमा देश बचाउने एउटा इमान्दार अनुशासित खम्बा हो। जसको हौसला र नैतिक बलले नेपाललाई बचाउन र बिकास गर्न सक्छ।

हामी सबै नेपाललाई काँधमा राखेर अघि बढने हो भने त्यतिखेर हामीलाई हाम्रा पहाड पखेरु, जंगल, हिमाल, नदीनाला, ढुंगा माटोले पनि सहयोग गर्छ। जसरी हाम्रा पुर्खाले हाम्रो देश बचाएर हामीले अहिले भोग्न पाएका छौं त्यसरी नै हाम्रा सन्ततीले पनि हाम्रो सुन्दर देशमा रमाएर बस्न र गरिखान पाउन्।

युवाहरु भावनामा मात्र नबहेर देशको माया हुने नव जोशीला युवाहरु राष्ट्र बचाउन अब ब्यबहारिक र अनुशासित भएर जागौं। त्यसभन्दा पहिला यी भ्रष्ट अनैतिक बिदेशीका दलाललाई पन्छाउन सबै एक जुट हौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *