दक्षिण कोरियाको नयाँ कानुनअनुसार नागरिकको उमेर एक वर्ष घट्यो
बीबीसी । दक्षिण कोरियामा परम्परागत रूपले उमेर गणना गर्ने दुई विधिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाइपछि दक्षिण कोरियालीहरूको उमेर एक वा दुई वर्ष कम भएको छ। उक्त कानुनले गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने परम्परागत प्रणाली खारेज गरेको छ।
साथै सबैलाई उनीहरूका जन्मदिनको साटो ज्यानुअरी १ मा वर्षवृद्धि भएको ठानेर गणना गर्ने पद्धति पनि खारेज भएको छ। जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधवारबाट कार्यान्वयनमा आएको छ।
राष्ट्रपति यून सङ योलले गत वर्ष चुनावी प्रतिस्पर्धा गर्दा यस्तो परिवर्तन गर्ने विषयलाई जोडदार रूपले उठाएका थिए। ती परम्परागत उमेर गणनाका विधिले अनावश्यक सामाजिक र आर्थिक मूल्य चुकाउनुपरेको उनले बताए।
उदाहरणका लागि, बीमाको भुक्तानी र सरकारी सहायता कार्यक्रममा सहभागी हुन योग्य हुने उमेर निर्धारणका क्रममा विवादहरू सिर्जना भएका थिए। यसअघि व्यापक रूपमा प्रयोग हुने विधि धेरै शताब्दी पुरानो उमेर गणना गर्ने प्रणाली हो। यसअनुसार मानिस जन्मिँदा एक वर्ष र त्यसपछिको ज्यानुअरी १ मा थप एक वर्षको हुन्छ।
यसको अर्थ ३१ डिसेम्बरमा जन्मिने बच्चा अर्को दिन दुई वर्षको हुन्छ। एउटा बेग्लै काउन्टिङ एज प्रणाली समेत दक्षिण कोरियामा प्रयोगमा थियो जसले जन्मँदा शून्य वर्ष ठाने तापनि ज्यानुअरी १ मा एक वर्ष थप गर्थ्यो। उदाहरणका लागि सन् २०२३ को २८ जुनमा, सन् २००३ को २९ जुनमा जन्मेको व्यक्ति अन्तर्राष्ट्रिय प्रणालीअनुसार १९ वर्षको, काउन्टिङ एज प्रणालीअन्तर्गत २० वर्षको र कोरियन एज प्रणालीअन्तर्गत २१ वर्षको हुन्छ।
गत डिसेम्बरमा सांसद्हरूले परम्परागत उमेर गणना विधि खारेज गर्न मतदान गरेका थिए। उक्त कदमपछि पनि मानिसको उमेर गणना गर्ने काउन्टिङ एज पात्रोको प्रणाली कायम रहने छ। जस्तो, दक्षिण कोरियालीहरूले जन्ममितिले नभई जन्मेको वर्षका आधारमा १९ वर्ष लागेपछि चुरोट र मदिरा किन्न पाउने छन्। सन् २०२२ को ज्यानुअरीमा हान्कुक रिसर्च संस्थाले गरेको एक सर्वेक्षणका अनुसार चारमध्ये तीन दक्षिण कोरियालीहरू नयाँ व्यवस्थाको पक्षमा छन्।
जिओङसुक वूका अनुसार यस परिवर्तनले कोरियामा विद्यमान तहगत संस्कृति तोड्न सघाउने छ। यी २८ वर्षीय कन्टेन्ट क्रिएटर भन्छन्, ‘मानिसहरूको व्यवहारमा नजानिँदो ढङ्गले उमेरका आधारमा विभेद रहेको पाइन्छ। यो उमेरमा आधारित जटिल भाषा प्रणालीमा पनि देखिन्छ… मलाई आशा छ कि कोरियन एज प्रणालीको उन्मूलन र अन्तर्राष्ट्रिय मापदण्डमा अनुकूलनले विगतका पुराना अवशेषहरू हट्ने छन्।’
ह्युन जिओङ ब्युन नामक अर्का व्यक्ति भन्छन्, ‘मलाई यो नयाँ नियम मन पर्यो किनकि म दुई वर्ष कम उमेरको भएँ। मेरो जन्मदिन डिसेम्बरमा पर्ने हुँदा मैले सधैँ कोरियन एज प्रणालीले मलाई वास्तविकतामा भन्दा बूढो बनाएको अनुभव गरेँ।’ उनी थप्छन्, ‘अब कोरियाले अन्तर्राष्ट्रिय मापदण्ड पछ्याएकाले म विदेश जाँदा कोरिअन एजबारे व्याख्या गरिरहनुपर्ने छैन।’
यी ३१ वर्षीय चिकित्सक दक्षिण कोरियाको चिकित्साक्षेत्र यसअघि नै अन्तर्राष्ट्रिय उमेर प्रणाली अनुकूल हुन थालिसकेको बताउँछन्। परम्परागत उमेर गणना विधि अन्य पूर्वी एशियाली देशहरूले समेत प्रयोगमा ल्याए पनि ती धेरैजसोले त्यसलाई त्यागिसकेका छन्। सन् १९५० मा जापानले आफूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल गराएको थियो भने उत्तर कोरियाले सन् १९८० को दशकमा त्यस्तो क्रम पछ्याएको थियो।
Facebook Comment