ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायी बीचको विवाद चर्कदै (भिडियोसहित)

डिसी नेपाल
१८ असार २०८० १५:३८

ललितपुर। ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवाद चर्कदै गएको छ ।

अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेपछि कानून व्यवसायीहरुले पनि बहस पैरवी छाडेर घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले सोमबार ललितपुर जिल्ला अदालतको प्राङ्गणमा कानून व्यवसायीमाथिको आक्रमण, झुठा मुद्दा, अदालतमा भएका विकृति विसंगति, घुसखोरी र भ्रष्टाचारको विरुद्धमा भन्दै विरोध सभा गरेका हुन् । उनीहरुले उक्त घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने र कानुन व्यवसायी अमिर लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

त्यस्तै कानून व्यवसायीहरुले सेवा लिन गएका कानुन व्यवसायीमाथि कर्मचारीबाट हातपात भएकाले सिसिटिभि देखाउन चूनौति समेत दिएका छन् । विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफुहरुको अभियान अदालतको कर्मचारी र न्यायाधिश विरुद्धको अभियान नभएको र भ्रष्टाचारविरोधीको अभियान भएको बताए ।

उनले कानून व्यवसायी पनि घुसखोर छ भने निर्मम भएर लाग्ने जिकिर गर्नुभयो । घिमिरेले उक्त घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरे । उनले अदालतभित्र हुने भ्रष्टाचारीलाई कसैले पनि जोगाउन नसक्ने स्पष्ट पारे।

गत असार १३ गते बुधबार जिल्ला अदालत ललितपुरमामा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद भएको थियो । अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको बताउदै आएका छन्।

१३ गते नै अदालत परिसरबाट पक्राउ परेका लामिछाने आइतबार मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका छन् । कर्मचारी तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिए । दुईपक्षको विवादका कारण अदालतको कामकारवाही नै प्रभावित भएको छ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *