साउदी अरबमा तेल उत्पादन कटौती अगस्टसम्म जारी रहने, अवधि एक महिना बढेपछि मूल्य बढ्यो
काठमाडौं । साउदी अरेबियाले कच्चा तेलको उत्पादनमा कटौतीलाई थप एक महिना लम्ब्याउने निर्णय गरेको छ । समाचार एजेन्सी रोयटर्सले साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
कच्चा तेल उत्पादनमा प्रतिदिन १० लाख ब्यारेलको कटौती यसै महिनादेखि लागू भएको छ । साउदी अरेबियाको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ ।
साउदी अरबको ऊर्जा मन्त्रालयले भन्यो, “स्वैच्छिक रूपमा प्रतिदिन १० लाख ब्यारेल कटौतीको समय अगस्टसम्म लम्ब्याइएको छ। अगस्टमा तेल उत्पादन दैनिक ९० लाख ब्यारेल हुनेछ।”
साउदी ऊर्जा मन्त्रालयका अनुसार यो कटौती सरकारले अप्रिल २०२३ मा घोषणा गरेको कटौतीभन्दा फरक छ। तेल बजारमा स्थायित्व र सन्तुलन कायम राख्ने उद्देश्यले उत्पादन कटौती गर्ने निर्णय गरिएको साउदी अरबले जनाएको छ ।
साउदी अरेबिया बाहेक रुसले पनि कच्चा तेलको निर्यात कटौती गर्ने घोषणा गरेको छ । रुसले अगस्टमा प्रतिदिन १५ लाख ब्यारेल तेल निर्यात घटाउने भएको छ । रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले यो जानकारी दिएका छन् ।
साउदी र रुसको निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार सोमबार बिहान लन्डनमा कच्चा तेलको मूल्य १.३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.३९ डलर पुगेको छ ।
Facebook Comment