नेपालमा अशान्ति बढ्यो, ग्लोबल पीस इन्डेक्समा ६ स्थानको गिरावट

डिसी नेपाल
१९ असार २०८० ११:४४

काठमाडौं। नेपालमा अशान्ति बढेको विश्वव्यापी सर्वेक्षणले देखाएको छ। द इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आईईपी) ले जारी गरेको ‘ग्लोबल पिस इन्डेक्स’ को सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ स्थान तल झरेको छ।

गत वर्ष नेपाल यो सूचीमा ७३ औं स्थानमा थियो। तर, यो वर्ष नेपाल यो सूचीमा तल झरेर ७९ औं स्थानमा पुगेको छ । यसको अर्थ नेपालमा गत वर्षको तुलनामा अशान्ति बढेको छ। नेपालका छिमेकीहरुमा भुटान मात्र नेपालभन्दा धेरै अगाडि छ। यसबाहेक अन्य नेपालका नजिकका देशहरु यो सूचीमा नेपालभन्दा पछाडि छन्।

यो सूचीअनुसार अफगानिस्तान लगातार पाँचौं वर्ष विश्वको सबैभन्दा अशान्त राष्ट्र भएको छ। अफगानिस्तान विश्वको सबैभन्दा अशान्त देशको सूचीमा पहिलो स्थानमा छ। अफगानिस्तानपछि यमन, सिरिया, रुस र दक्षिण सुडान सबैभन्दा समस्याग्रस्त मुलुक मानिन्छन्।

ग्लोबल पीस इन्डेक्स २०२२ को सूची हेरेर तालिबानले यसप्रति असन्तुष्टि व्यक्त गरेको छ। यो मामिलामा अफगानिस्तानमाथि अन्याय भएको तालिबानले बताएको छ । अफगानिस्तान स्थित टोलो न्यूजले यस बारे जानकारी दिएको छ।

आईईपीको प्रतिवेदनलाई उद्धृत गर्दै टोलो न्यूजले सन् २०२२ मा अफगानिस्तानमा सशस्त्र द्वन्द्वका कारण मृत्यु हुनेको संख्यामा कमी आएको तर अझै पनि स्थितिमा खासै परिवर्तन नआएको बताएको छ।

उल्लेखनीय कुरा के छ भने गत वर्ष अगस्टमा अमेरिकी सेना फिर्ता भएदेखि अफगानिस्तानमा द्वन्द्वको स्तरमा उल्लेख्य गिरावट आएको छ।

आईईपी प्रतिवेदनका अनुसार तालिबान शासित अफगानिस्तानका नागरिकहरू अहिले आफूलाई पहिलेभन्दा बढी सुरक्षित ठान्छन्। अफगानिस्तानका नागरिकहरूको आपराधिकताको सन्दर्भमा थोरै सुधार भएको छ। प्रतिवेदनका अनुसार यहाँ एक्लै हिँड्न असुरक्षित महसुस गर्नेको संख्या ८४ प्रतिशतबाट घटेर ७७ प्रतिशत पुगेको छ।

यससँगै सन् २०२२ मा अफगानिस्तानमा आतंकवादी घटनामा ७५ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ। यति मात्र होइन, आतंकवादबाट हुने मृत्युमा पनि ५८ प्रतिशतले कमी आएको छ। यी सबैको बावजुद अफगानिस्तान विश्वको सबैभन्दा समस्याग्रस्त देश हो।

२००८ देखि आइसल्याण्ड विश्व शान्ति सूचकांकमा पहिलो नम्बरमा रहेको छ। अर्थात् गत वर्ष पनि आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्र नै रह्यो । यो सूचीमा न्युजिल्यान्ड दोस्रो नम्बरमा छ। जबकि आयरल्याण्ड तेस्रो र डेनमार्क चौथो नम्बरमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *