लगेजको तौल बढाएर यात्रु ठग्दै त्रिभुवन विमानस्थलका कर्मचारी

शरद रिजाल
१९ असार २०८० १४:०४

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमका कर्मचारीहरुले यात्रुहरुबाट लगेजको तौल मनोमानी ढंगले बढाएर ठगी गर्ने गरेको पाइएको छ।

नेपालबाट विदेशका विभिन्न मुलुकमा जाने यात्रुहरुलाई उनीहरुको लगेजको तौल साविक भन्दा बढी देखाएर चर्को शुल्क असुल्दै सास्ती दिने गरिएको एक घटना बाहिरिएको छ।

आफैंले तौलेर लगेको सही तौलको सामान लैजान समेत एक केजीको ४ हजारसम्म लिने गरेको पाइएको छ। घरमा नै तौल लिएर लगेका एक यात्रुको लगेजमा २ केजी बढी सामान देखाए पछि यो बिषय बाहिर आएको हो।

यो घटना सोमबार बेलुकाको कोरियन एयारलाईन्सको हो। कोरियन एयरको उडान नं. केई ६९६ बाट कोरिया भइ बिभिन्न गन्तब्यमा जाने यात्रुहरुलाई कोरियन एयरका कर्मचारी र नेपाल बायुसेवा निगमका कर्मचारीहरुले यात्रहरुलाई ठगी गरेका हुन्।

यात्रुहरु आफ्नो निश्चित उडान समय तालीका अनुसार उडान गर्नका लागि तीन घण्टा अघि बिमानस्थल पुग्छन्। उनीहरुलाई लाईनमा सुरक्षा जाँच गरी आफ्नो लगेजहरुलाई पुनः ट्रलीमा हाली बोर्डिङ पासको लागि लाईनमा बसी बिमान चढ्ने र पैसा कमाउने सपना बुन्दै बाेर्डिङ  पासको लागि प्रतिक्षा गरिरहेका हुन्छन्।

तब उनीहरुको बोर्डिङ पास लिने पालो आएपछि सोही ठाउँमा यात्रुहरुलाई बोर्डिङ पास दिनका लागि बसेका बिमान कम्पनीका कर्मचारीहरु र ग्राउन्ड हान्डलिङको जिम्मा लिई बसेका नेपाल बायुसेवा निगमका कर्मचारीहरुले लगेज जोख्ने मेसिनमा राख्न लगाउँदछन्।

उक्त जोख्ने मेसिनमा यात्रुले राखेको लगेज जोखी लगेको भन्दा १ देखि २ केजी बढी देखाउने गरिएको छ। त्यसपछि कर्मचारीले टिकटमा लेखिएको भन्दा तौलको मात्रा बढी भयो भन्दै सामान निकाल्न लगाउँछन्।

नेपालको बिदेशी र स्वदेशी पर्यटक तथा यात्रुहरुको आगमन र प्रस्थान गर्ने ढोकाको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भएर तातो खाडीको घाममा बाध्यताले बिदेसिने,  उच्च शिक्षा अध्ययन गर्न जाने र  बैदेशिक भ्रमण गर्ने तथा बिदेशमानै बसोबास गर्ने हजारौ नेपालीहरु बिमानस्थलमा ठगिने गरेका हुन्।

आफ्नो उडान समयमा गन्तव्यतर्फ हिँडेका एक यात्रुले नाम नबताउने सर्तमा डिसी नेपालसँग भने, ‘मैले घरमानै लगेज जोखेर ठिक्क बनाई लिएर आएको थिएँ। यहाँको जोख्नेमा राख्दा २ केजी बढी देखायो।  म अलमलमा परेँ। लगजेको २ केजी सामानमा निकाल्न भन्दै नेपाल वायुसेवा निगमका लोडरहरुले लगेज बाहिर निकाली दिए पछि म एक छिन सोच्न बाध्य भएँ।’

उनले अगाडि भने, ‘मैले जोखेर लिएर आएको लगेज कसरी बढी देखायो, कतै संचालन भएको काउन्टरको जोख्ने मेसिनमा समस्या छ कि भनेर सँगै रहेको अर्को मेसिनमा जोख्ने निधो गरेँ र अर्को जोख्ने मेसिनमा जोख्दा मेरो लगेजको तौल सहीे देखायो र लगेज सबै ल्याउन पाइयो।’

यो त एक उदाहारणमात्र हो।  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भएर यात्र गर्ने दैनिक हजारौं यात्रुहरुलाई बिमानस्थलका कर्मचारी, एयरलाईन्सका कर्मचारीहरुले कति ठगी गर्ने रहेछन् भन्ने यसै घटनाबाट पनि पुष्टि हुन्छ।

कोरियन, कतार, नेपाल वायुसेवा निगम, हिमालय, टर्कीलगायतका अन्य बायुसेवा कम्पनिहरुमा समेत बाट यात्रा गर्दा समेत यात्रुहरु यसै गरी ठगिने गरेका छन्। यसरी तौलमा नै कम गरी यत्रुहरु ठगिएको बिषयमा बिमानस्थल प्रशासन बिमानस्थलस्थित सुरक्षा निकाय र एयरलाईन्सका कर्मचारीहरु सबै जानकार छन्।

यस्तो गम्भीर बिषय थाहा हुँदा हुँदै पनि बिमानस्थलका सुरक्षा निकाय, कर्मचारी लोडरको मिलेमतोमा ठगिएको तौलमा पैसा असुल गर्ने गरेका छन्। यात्रुहरुले लगेको प्रविधिको प्रयोग गरी सही तौलको समेत कम देखाइ पैसा असुल गर्न पल्केका यस्ता कर्मचारीहरुलाई कसले कारवाही गर्ला ?

यस बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलासँग सम्पर्क गर्दा उनले कर्मचारीबाट यात्रुको लगेजको तौल मनोमानी ढंगले कायम गराएको पुष्टि भएमा कारबाही गरिने बताए।

उनले लगेजको तौलमा ठगिएका यात्रुलाई निवेदन दिन सुझाउँदै कर्मचारीबाट गलत कार्य गरिएको भएमा छानबिन गरि कानूनी कारबाही गर्ने विश्वास दिलाए।

उनले यसबारेमा छानबिन गर्ने बताउँदै विमानस्थलका कर्मचारीबाट यात्रुको लगेजको तौलमा ठगी भएको पाइएमा कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *