एससीओ शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले के भने ?
काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी जिनपिङले मङ्गलबार सांघाई सहयोग संगठन (एससीओ) को बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा बेइजिङले कुनै पनि प्रकारको संरक्षणवाद र एकपक्षीय प्रतिबन्धको विरोध गर्ने बताए।
भारतले आयोजना गरेको यो एससीओ बैठक भर्चुअल रूपमा आयोजना भइरहेको छ। चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले बैठकमा सबैका लागि क्षेत्रीय शान्ति र सुरक्षा सुनिश्चित गर्नमा जोड दिएका थिए।
चीनको आधिकारिक च्यानल सीसीटीभीको रिपोर्टका अनुसार भेटमा राष्ट्रपति सीले भने, “क्षेत्रीय शान्ति र स्थिरता हामी सबैको सामूहिक जिम्मेवारी हो। चीन आर्थिक भूमण्डलीकरणको सही बाटोमा अघि बढ्नेछ। एकै समयमा, संरक्षणवाद र एकपक्षीय प्रतिबन्ध जस्ता चीजहरूको विरोध जारी राख्नेछ।”
सो क्रममा उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याको राजनीतिक समाधानका लागि प्रतिबद्धता व्यक्त गरे । एससीओमा भारत, रुस, चीन, पाकिस्तानलगायत आठ सदस्य राष्ट्र छन् ।
यस बैठकमा सी जिनपिङका अलावा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र अन्य सदस्य राष्ट्रका प्रमुखहरू पनि सहभागी थिए।
उक्त भेटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नाम नलिई चरमपन्थीहरुको कथित प्रयोगको लागि पाकिस्तानलाई निशाना बनाएका थिए ।
Facebook Comment