सेनाको साइजले किन पीडित छन् वाग्लेहरु

यतिबेला केही स्वनामधन्य चिचिला नेताहरुदेखि केही परियोजनाका काम गर्नेहरु भनेर चिनिएका विद्वानहरु नेपाली सेनाको साइजका बारेमा चिन्ता र चासो व्यक्त गर्न थालेका छन्।

उनीहरुको सार नेपाली सेनाको संख्या ठूलो भयो, मुलुकको अर्थतन्त्रले धान्दैन,गाह्रो भयो भन्ने तर्क दिएर मुलुकको अर्थतन्त्रप्रति माया देखाएकोजस्तो भान पनि दिँदैछन्।

नेपाली सेनाको संख्याबारे यिनीहरुको यतिविधि चिन्ताले अनेक शंकाहरु जन्माएको छ। के साँच्चै यो देशमा नेपाली सेना भारी भएको हो? नेपाली सेना ककस्का लागि भारी भएको छ? इतिहासदेखिका केही प्रसंगहरु हेरौं।

२००८‐२०१७ सालको राजनीतिक अवस्थामा सत्ता अस्थिर, शिथिल र अस्तित्व रक्षाको संकटमा पुगेको थियो। त्यसबेला सेना पुनर्गठनको ठूलो हल्ला चलाइयो र यस्तै हल्लाका बीचमा नेपाली सेनाको संख्या ह्वात्तै घटाइयो।

यसको परिणाम के भयो? सबैले बुझेकै छ कि उत्तरी सीमानामा भारतीय गार्ड पोष्टहरु तैनाथ गरियो। राजालाई देशको माया थियो त्यो बेला उहाँजस्तो राजनेता नभएको भए ती गार्ड पोष्टहरु कोही माइकालालले हटाउन सक्ने थिएनन्। किनभने फिर्ता हुने भारतको योजना नै थिएन।

कीर्तिनिधि विष्टसहितका तत्कालीन नेताहरुले राजासंगको सल्लाहमा कुटनीतिका केही चालाबाजीहरु प्रयोग गरेर भारतीय चेक पोष्टहरु हटाउनु परेको थियो। नेपालको इतिहास पढ्ने सबैले यो कुरा बुझेका छन्। तर, बुझ पचाउनेहरुबारे जति टिप्पणी गरे पनि केही अर्थ रहन्न।

मुलुकविरुद्ध नियत खराव राखेर गरिएका काम र राजनीतिक लविङले अन्तत विदेशीको सेवा गर्ने हो भन्ने कुरा जनतालाई बुझाउनु बाहेक अरु के नै हुन्छ र?

नेतृत्वको अकर्मव्यताले राजनीतिक आर्थिक र कुटनीतिक फ्रण्टमा आज नेपाल पुनः इतिहासकै अस्थिर, शिथिल र असफल राष्ट्रको दर्जामा घटुवा भएको छ। नेपाली गणतन्त्रले विश्वका बाँकी गणतन्त्र र प्रजातन्त्रको बदनाम गरेको छ।

“नेपाली सेना अघि आउ, भ्रष्टाचारीलाई पाता फर्काउ” भन्ने आम नारा घन्किरहँदा वाग्ले सेनाको साइजका कुरा गरेर जनताको आस्थाको धरोहर नेपाली सेनाको हुर्मत लिन लागि परेका छन्। त्यसमा बिदेशी इशारा र खतरानाक गुलामीको गन्ध आउँदछ। त्यो नेपाली जनताको आस्था र बिश्वासमाथिको ठाडो प्रहार हो।

नेपालको शान, मान, अस्मिता, सार्वभौमिकता कहाँ छ बत्ती बालेर खोज्नुपर्ने बेला आएको छ। ठिक यही बेला सेनाको डाउन साइजिङको बहसले बजार तताइएको छ।

मुलुक तीब्रगतिमा श्रीलंकापथमा गइरहँदा किन यो बेमौसमी बाजा बजिरहेको छ? यसका रचनाकार संगीतकारको हुन् र कहाबाट कसरी परिचालित छन् त्यसको समीक्षा अपरिहार्य छ।

र, यसका लागि भारतीय चेकपोष्टहरुको नेपालमा स्थापना र त्यसलाई हटाउन भोग्नु परेको मुस्किल नै पनि काफी उदाहरण हो जो नेपाली इतिहासको तीतो सत्य हो।

तथ्यहरु के बोल्दैछन् ?

यतिबेला राष्ट्रिय ईण्टेलिजेन्स मृत अवस्थामा छ। अथवा, असफल नेतृत्वहरुको बचाउ, सत्ता टिकाउ र बिरोधीहरुको खोइरो खनाउमा दुरुपयोग भइरहेको छ। राष्ट्रिय ईण्टेलिजेन्स बिक्री भयो भन्ने गुनासोमा सत्यता छ। त्यस्तो अवस्थामा सैनिक ईण्टेलिजेन्स धरापमा पर्नु स्वभाविक हो।

तथापि, सैनिक ईण्टेलिजेन्सले तत्कालीन राजदबारबाट सैनिक सचिवालय र त्यसपछिका राष्ट्रिय सुरक्षा परिषद एवं सोझै प्रधानमन्त्री (पीएम) लाई दिएका सुझावहरु सत्य ठहर भएका छन्।

जस्तै राजसंस्थाको अन्त्य, माओवादीको उदय, द्वन्द्व र गणतन्त्रको गन्तब्य नेपालको बिलय सैनिक ईण्टेलिजेन्सका बासी रिपोर्ट हुन्।

क्षेत्रीय, जातीय, धार्मिक द्वन्द्वको बिजारोपण भैसकेको र त्यसले रक्तपात् र बिखण्डनको कुबाटो मार्फत मातृभूमिलाई सिक्किमीकरण, नभए भुटानीकरणको मोडलमा लैजाने सेनाको भविष्यवाणीलाई सवैले नजर अन्दाज गरेको परिणामलाई आज हेरौं। आज कोशीको पेचिलो पहिचान मुद्दा हेरौं।

भोलि मधेसको मुद्दाले झन् बाह्र बजाउने निश्चित छ। नागरिकता बिधेयकको खुकुलोपनले मुलुकको अस्तित्व समाप्त हुने सैनिक ईण्टेलिजेन्सको निश्कर्ष उत्तिकै सम्बेदनशील र दूरगामी असरको थियो।

सैनिक नेतृत्वमा पूर्वसैनिक उच्चअधिकारीहरु समेत राष्ट्रपतिकोमा पुगेर मुलुकको अस्मिताका लागि नागरिकता विधेयकबारे गरिएको पुकार तत्कालका लागि सुनुवाई भए पनि राष्ट्रपति फेरिने वित्तिकै उल्टिइसकेको छ।

राम राम भनेको गाई आज तारेभिरबाट लडिसकेको छ। सेना कार्यकारी होइन, यसले मुलुकलाई गलत बाटोमा जान लागेको बेला राजनीतिक नेतृत्वलाई सुझाव र दवाव भने दिनसक्छ तर निर्णय त नेताहरुकै हो।

न्यायालयको बचाउ र रक्षाको लािग सेनाले हारगुहार पुकार गरेको हो। न्यायालयले सुशासन अभ्यास गराएर स्थायी समृद्धि, सुख र खुसी दिनेछ र त्यस्तो समृद्धि मात्र दिगो शान्ति र स्वाभिमानको रक्षास्त्र हुनेछ भन्ने सेनाको बुझाइ थियो।

मातृभूमिको अस्मिता रक्षाको लागि स्वतन्त्र र शक्तिशाली न्यायालय अपरिहार्य हुन्छ भन्ने सेनाको आत्मविश्वास थियो। तर सुनियोजित रुपमा न्यायालयलाई भताभुङ्ग पारिसकेपछि अब सेनाको पालो भन्ने अर्थ सबैले लगाएकै हो।

राष्ट्रिय ईण्टेलिजेन्ससँगै सैनिक ईण्टेलिजेन्स र राष्ट्रिय सुरक्षा परिषद्लाई कोमामा पठाइसकिएको छ। आज ती संस्थाहरुमृतसरह छन्। यसो गर्नु स्वदेशको सेवा हो र? कदापि होइन।

यी संस्थहरु मुलुकका धमनीहरु हुन् जसलाई थुनछेक गरिएको छ र परिणाम जगजाहेर छ मुलुकको हर्टएट्याक हो। त्यसको परिणाम प्यारालाइज्ड हुनु वा कोमामा पुग्नु नै हो।

जो पहरेदार उसैलाई प्रहार

नेपाली सेना हरेक संविधानको आज्ञाकारी पहरेदार हो। यसले हरेक संविधान र सत्तालाई इमान्दारसाथ रक्षा कल्याण सम्मान गर्दै आएको छ। स्थायी शान्ति, समृद्धि सुनौलो भविष्य र सार्बभौमिकता रक्षाको खातिर।

“सेना आउ मिलिजुली शासन लिउँ” यो हरेक गणतान्त्रिक पीएमको गुहार हो र बाह्य शक्तिको सुझाव थियो। तर सेनाले उक्साहटमा नलागी संविधानको अक्षरश पहरा गरिरह्यो। जुन काम अझैसम्म जारी छ। मुलुकको संविधानको पहरेदार भएकै कारण सेनालाई ठीक लगाउनु परेको हो? संख्या कटौती र घटौटी गर्नु परेको हो?

नेपाली सेना संयुक्त राष्ट्र संघ र विश्व शान्तिको अति भरपर्दो र बिश्वासिलो पहरेदार हो। विश्व शान्तिमा अपूर्व योगदान मात्र होइन सेनाको अद्भूत त्याग र बलिदानी छ। विश्व मञ्चमा नेपाल र नेपालीलाई चिनाउने पहिलो र ठूलो ऐना भएको छ शान्तिसेना।

राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान झन् धेरै उल्लेखनीय छ। अहिले विश्व शान्तिमा खटिएको नेपाली सेनाको संख्याले हाम्रा चिचिला पार्टीका नेता र केही पावरफुल परियोजना संचालकहरु मर्माहत हुनु र सेनाको काम र यसको साइजमाथि निरन्तर प्रहार गर्नुको उद्देश्य नेपाली जनताले तिनीहरुसँगै खोज्नु पर्छ।

एकजना पूर्वप्रधानमन्त्रीले भावुक हुँदै भन्नु भएको थियो-“आज पशुपतिनाथको भेटी हराउने देशमा नेपाली सेना नभएको भए न बैंकहरु न मुद्रा र ढुकुटी बाँकी रहने थिए। न मतपत्र छपाई संभव थियो न त ढुवानी र निश्पक्ष चुनाव। न म प्रधानमन्त्री हुने थिएँ न हामी भिभिआईपी सुरक्षित रहनु न महत्वपूर्ण संरचनाको सुरक्षा संभव हुनु।”

मैले उहाँलाई आफ्नो मनको कथा सेयर गरें-“द्वन्द्वकालमा बैंकहरु रित्ता थिए। ढुकुटी ब्यारेकमा सारिएका थिए। मेरो गर्धन जावस्, सिपाही मारिउन्, हतियार लुटिउन् तर यो ढुकुटी लुटिन दिन्नौं भनेर हामीले ढुकुटीको रक्षा गर्‍यौं।’

ब्यारेकको सुरक्षामा रहेका एउटा बैंक (ढुकुटी) हराएको लुटिएको बहानाबाजी गरेनन् सेनाहरुले। सैनिक इमान, समर्पण र त्यागको नजीरहरु मध्ये एउटा गर्वयोग्य नजीर हो यो।

प्रकृति संरक्षणमा नेपाली सेनाको समर्पण र त्याग उस्तै प्रशंसनीय छ। गैंडा होस वा उसको ताल वा हिमालको सरसफाई संरक्षण र सम्बद्र्धनमा १४० बढी होनहार सैनिकले ज्यान गुमाएका छन् र नेपाली सेनाले यो संबेदनशील राष्ट्रिय जिम्मेवारीलाई पवित्र र धार्मिक डिउटी मानेर सभक्ति पूरा गर्दैै आएको छ। फलस्वरुप सबै फ्रण्टमा असफलसिद्ध राष्ट्र प्रकृति संरक्षणको क्षेत्रमा अब्बल कहलाएको छ।

आजको सडक यातायात विकास होस् वा संचार, जलश्रोत, शिक्षा, खेलकूद र स्वास्थ्य क्षेत्रमा नेपाली सेनाको उल्लेखनीय योगदान रहेकै छ।
हिजो एक्लै आफ्नै बलबाहुमा खम्पा बिद्रोही हटाएर सेनाले गरेको छिमेकी मुलुक बिरुद्ध मातृभूमिको दुरुपयोग हुन नदिने ऐतिहासिक विश्वास आर्जन असंलग्न परराष्ट्र नीति पुनर्पुष्टि गर्ने कोसेढुंगा थियो।

यी कामहरु त्यसबेलादेखि नै केही छिमेकी र विदेशीका लागि टाउको दुखाइका विषय थिए। अहिले तिनैका पात्रहरु नेपाली शरीर र भेषभुषामा तिनको आवाज बर्बराउँछन्‐लु सकिन्न सेना कटाऊ सेना घटाऊ भनेर।

द्वन्द्व ब्यवस्थापन र सेना समायोजनमा नेपाली सेनाले देखाएको उदारता, सदासयता र त्यागको आज बिश्व समुदायले प्रशंसा गरेको छ। र, त्यो समायोजन र शान्तिको मोडल आज विश्वलाई सिक्नैपर्ने पाठ भएको छ।

सरकारले नागरिकहरुलाई अनिवार्य दिनुपर्ने शिक्षा, स्वास्थ्य, आवासको सुलभ सुबिधा सेनाको आन्तरिक सैनिक कल्याणकारी कोषले सेनाका आश्रित परिवार र गैर सैनिकलाई समेत प्रदान गरेर राष्ट्रिय अर्थतन्त्रमा भरथेग गरिरहेको छ।

बेरोजगार ब्याप्त मुलुकमा सेनाले सानदार रोजगारको समान अवसर उपलब्ध गराएको छ। सेना अनुशासित, इमान्दार, साहसिक, दक्ष र विविध शीपयुक्त राष्ट्रबादी जनशक्ति उत्पादन गर्ने शक्तिशाली कारखाना हो।

आपत बिपद् दिनचर्या भएको मुलुकमा सेना उद्धार, राहत, पुर्ननिर्माणको फष्ट रेस्पोण्डर हो। महाभूकम्पमा सेनाले गरेको उद्धार कार्यको साक्षी छन् नेपाली जनता र विश्व समुदाय।

कोभिड-१९ महामारीमा सेनाले चुस्तसँग गरेको शव ब्यवस्थापन र मलामी सलामीको स्वस्फूर्त स्वयंसेवा त्यो पुस्ताले आजीवन भुल्ने छैनन्। सेनाले निभाउँदै आएका बहुआयामिक जिम्मेवारीहरुको फेहरिस्त लामो छ।

तर आजको समय र बिन्दुमा अस्तब्यस्त, शिथिल र असफल मुलुकको बोझ तथा ब्ययभार नेपाली सेनालाई देख्ने र उसलाई झन् मजबुत  बनाउनुको सट्टा राईट साइजिङको एजेण्डा उठान गरेर उसको हौसला तथा मनोबल गिराउनु सरासर उल्टो र उदेकलाग्दो कुरा हो।

साइज निर्धारण

मुलुकको राजनीति, अर्थतन्त्र, प्रकृति, संस्कृति, आन्तरिक र बाह्य चुनौतीले सेनाको आकार प्रकार निर्धारण गर्ने हो। संख्यात्मक भन्दा गुणात्मक फौज आजको आवस्यकता हो।

तर नेपाली सेनालाई न आधुनिकीकरण गरेर न मोबिलिटी, कम्युनिकेसन र फायर पावर बढाएर गुणात्मक फड्को मार्न सकिएको छ। सेना परापूर्वकालदेखि सेरोमोनियल प्रकृतिको छ। र, मुलुकलाई आर्थिक भार पार्ने गरी उसले आधुनिकीकरणको माग तेर्साएको छैन।

आज विश्व शान्तिमा अनवरत योगदान पुर्‍याउँदै आएको ६५ वर्ष पुगेको छ। म जन्मिनु अगाडि देखिको अब्बल योगदान। शान्तिसेनाबाट मात्र बार्षिक साँढे २२ अर्ब बढी रकम नेपाल भित्रिन्छ।

नेपालको भूरणनीतिक महत्व इतिहासमै यति धेरै मुखरित भएको कहिल्यै थिएन। विश्वशक्ति अमेरिका र भावी विश्व शक्ति चीन र भारतको अर्जुनदृष्टि अहिले नेपालमा छ। स्वाभिमान र शक्तिशाली भएको भए नेपाल अहिले सबैको मियो अथवा निर्णायक शक्तिकोरुपमा स्थापित भइसकेको हुने थियो। 

रकम भन्दा ठूलो १३ देशमा नेपालको राष्ट्रिय झण्डा फहराउने कुटनीतिक प्रबद्र्धनको पवित्र मिसन हो शान्ति सेना। ६ हजार बढी फौज उपलब्ध गराउने नेपालसँग आज १० हजार शान्तिसेनाको माग छ। नेपाल युएनलाई फौज उपलब्ध गराउने दोश्रो ठूलो राष्ट्र हो।

धेरै महिला शान्ति सैनिक पठाउने पहिलो ठूलो राष्ट्र हो। सानो देशले ठूलो देशको दर्जा पाएको छ विश्व शान्तिको बिशिष्ट नक्शामा। १० हजार फौजको माग भनेको ४० हजारको तयारी हो। १० हजार तैनाथी, १० हजार बाटोमा, १० हजार तालिम केन्द्र पाचखालमा र १० हजार स्ट्यान्डबाई ब्यारेकमा।

नेपाली सेना भनेको बृद्ध बालक मात्र बाँकी भएका मुलुकका शक्तिशाली, प्रतिबद्ध, समर्पित युवा जनशक्ति हुन्। अथवा, तालिम प्राप्त नेपाली जनता हुन्। अब विद्वान माननीयहरुलाई मेरो जिज्ञाशा सेना घटाउने कि बढाउने?

उद्धार गर्ने एउटा जहाजमा लोडर, इन्जिनियर, कोपाइलट, पाइलट हुन्छ। अब कुन चाहिँलाई हटाउने। बृहद टिमको टिमवर्कद्वारा अस्पताल संचालन भइरहेको हुन्छ। अब डाक्टर, नर्स, प्राबिधिक, एम्बुलेन्स ड्राईभर कसलाई कटौती गर्ने?

नागरिकको हरेक दुखः पीडा, कष्टमा साथ दिने  नेपाली सेना हटाएर कुन देशको सेना ल्याउने माननीयहरुको सोच हो? स्मरण रहोस् सेनाको साइज निर्धारण गर्ने संबेदनशील काम बिस्तृत गृहकार्य पछि नेपाल सरकारको हो। न कि अरु कुनै बिदेशी जासुसहरुको।

स्यालहरुको हुइया र सेना

नेपालको भूरणनीतिक महत्व इतिहासमै यति धेरै मुखरित भएको कहिल्यै थिएन। विश्वशक्ति अमेरिका र भावी विश्व शक्ति चीन र भारतको अर्जुनदृष्टि अहिले नेपालमा छ। स्वाभिमान र शक्तिशाली भएको भए नेपाल अहिले सबैको मियो अथवा निर्णायक शक्तिकोरुपमा स्थापित भइसकेको हुने थियो।

फितलो, शिथिल, दुर्बल र भ्रष्टाचारले गरीब भिखारी भएपछि मुलुक अहिले परनिर्भर, पराधीन, पराजित र सबैको क्रिडास्थलमा रुपान्तरण भइसकेको छ अथवा अस्तित्व, रक्षाको संकटमा छ।

आन्तरिक सुरक्षा लथालिङ्ग छ। बिखण्डनको आगो सल्किसेकेको छ। न्यायालय भत्किसकेको छ। ठिक यही बेला सेनाको साइज भन्दै स्याल हुइँया छ। संयोग होइन सुनियोजित स्याल हुइँया ।

ठूला दलहरु सत्तालिप्सा र भ्रष्टाचारमा लिप्त हुँदा जनताबाट तिरस्कृत भए र बढारिए। ती दलहरु आज अन्तर्राष्ट्रिय समुदायबाट समेत बहिष्कृत छन्।

बिकल्पमा नया दलहरुको उदय भयो। आम नेपालीको भरोसा जाग्यो। बिडम्बना, आज तिनै दलका बिद्वान माननीयहरु सेनाको राइट् साइजको एजेण्डा बोकेर हिँडेका छन्।

अर्थबिद् माननीय स्वर्णीम वाग्लेको सुरक्षा एजेण्डा बुझिनसक्नु छ। र, राष्ट्रवादी देशभक्त जनतालाई सन्देह पैदा भएको छ कि वाग्ले र उनको पार्टी कहाँबाट को द्वारा किन परिचालित छ?

“नेपाली सेना अघि आउ, भ्रष्टाचारीलाई पाता फर्काउ” भन्ने आम नारा घन्किरहँदा वाग्ले सेनाको साइजका कुरा गरेर जनताको आस्थाको धरोहर नेपाली सेनाको हुर्मत लिन लागि परेका छन्। त्यसमा बिदेशी इशारा र खतरानाक गुलामीको गन्ध आउँदछ। त्यो नेपाली जनताको आस्था र बिश्वासमाथिको ठाडो प्रहार हो।

अर्थबिद्लाई थाहा हुनुपर्ने हो मुलुक किन कंगाल बनिरहेको छ? सिन्को नभाच्ने करिब ३ लाख अनावस्यक राजनीतिक नियुक्ति, पद, आयोग, समिति र संरचनाको भ्रष्ट राजनीति र अर्थनीतिले कि ज्यान जोखिममा राखेर अहोरात्र देश र जनताका लागि मरिमेट्ने नेपाली सेनाले?

करिब ८० हजारमा सीमित सैनिक रोजगारी र सुरक्षाको प्रत्याभूति अनावस्यक भए के तिनीहरुलाई पनि बैदेशिक रोजगारीमा बिदेश लखेट्ने र बिदेशी सेनालाई पुनः मैदान खाली गरिदिने भनेको हो?

नेपाली सेनाको अन्तर्राष्ट्रिय लोकप्रियता र माग बढ्दो छ। राष्ट्रिय माग र बिकास निर्माणको आवस्यकता ब्यापक छ। अब कुन कोणबाट किन सेना घटाउनु पर्ने कसको विचार प्रबाह भइरहेको छ त्यो प्रष्टै छ।

कतै नयाँ बैकल्पिक शक्ति बिदेशी जासुुस र गुलामहरुको छद्म अड्डा नहोस्। स्वतन्त्र पार्टीले बालेन र हर्क जस्ता खाँटी नेपाली स्वाभिमानी राष्ट्रवादी युवा नेतृत्वको योगदान र त्यागलाई फोहोर ढलमा नबगाउन्।

र, सोसल मिडियाले हाई हाई गरेर टुप्पामा पुर्‍याएको खहरे दल बाह्य शक्तिद्वारा परिचालित मिसिनरी हो भने समयमै साबधानी नअपनाए अनुमान लगाउँ त्यसको कस्तो दुर्गति होला?

सेनाको डाउन साइज मुलुकको राष्ट्रिय सुरक्षा बिदेशीको हातमा सुम्पेर मुलुक समाप्त पार्ने बिषबाण हो भन्ने कुरा नेपाली जनता र सैनिक नेतृत्वले बेलैमा बुझ्नु जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *