बगानमा शिक्षाको महत्व छ : निर्देशक खनाल
काठमाडौँ। एकल महिलाको जीवन, संघर्ष र भोगाईमा बनेको चलचित्र ‘बगान’ मा शिक्षाको महत्वलाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए। उनले चलचित्रमा २० मिनेटको हाराहारी शिक्षा र त्यसले जीवनमा पार्ने प्रभाव देखाईएको बताए।
उनले भने,’यो चलचित्रमा एकल महिलाको जीवनमा शिक्षाले ल्याउने परिवर्तनलाई देखाएका छौं। चलचित्र आम मानिससम्म पुग्ने सशक्त माध्यम भएकाले मनोरञ्जनसँगै सर्जकको दायित्व निर्वाह गरेका हौँ।’
उनले हालै निर्माण समूहले आयोजना गरेको कार्यक्रममा एकल महिले आफू शिक्षित भएर आफ्नो सन्तानलाई शिक्षा दिने र त्यसको प्रभाव महसुस हुने समेत बताए। आयोजित कार्यक्रममा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले महिलाको विभिन्न समस्यालाई विषय बनाएर पर्दासम्म ल्याउन आग्रह गरेकी थिइन्।
‘चलचित्रमा नदेखिएको र नसुनिएको महिलाको कथा ल्याउन म समस्त चलचित्रकर्मीलाई आग्रह गर्छु। यहाँ देख्नु भयो भने सहि, गलत र त्यसको परिणामसँग परिचित बन्नुहुनेछ’, अध्यक्ष कोइरालाले भनिन्।
चलचित्र ‘बगान’ मा मिथिला शर्मा, नीर शाह, प्रमिला कार्की लगायतले अभिनय गरेका छन्। नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ। चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।
Facebook Comment