युवाहरूको बदलिँदो खानापान
हालै नेपालको एक राष्ट्रिय दैनिक अखवारमा ‘के खान्छ डिजिटल काठमाडौं?’ शीर्षकमा काठमाडौं र अन्य विभिन्न शहरका खासगरी १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाहरूले अनलाइनमार्फत के कस्ता खाना मगाएर खाने गरेका छन् भन्ने कुरा पढेपछि मनमा यस सम्बन्धि अनेक तर्कनाहरू आउन थाले।
खासगरी कोभिडको महामारीको समयदेखि फस्टाएको अनलाइन खाना मगाउने व्यवसायले हाल नेपालमा मात्र नभई अन्य मुलुकमा पनि जरो गाडी सकेको छ।
केही समय अघि भारतको राजधानी नयाँ दिल्लीमा जाँदा त्यहाँ अन्य सामानका साथै पाकेका खाना मात्र नभई विभिन्न खाद्यशालाहरूबाट घरैमा काँचो मासु, तरकारी, अनाज तथा अन्य खानेकुरासमेत पुर्याउने सेवा निकै प्रचलित भएको पाइयो।
आधारातमा वा एकाबिहानै समेत जेजस्तो परिकार पनि अनलाइन अर्डर गरेर घरैमा आइपुग्ने र रकम भुक्तानी पनि डिजिटल माध्यमबाट नै गर्न मिल्ने भएकोले एकातर्फ यसले निकै सहजता ल्याएको छ र धेरैलाई रोजगारी पनि प्रदान गरेको छ भने अर्को तर्फ मानव स्वास्थ्य र पारिवारिक अनुशासनलाई खलल पुर्याउँदै फजुल खर्ची बाटोतिर समाजलाई डोर्याइरहेको पनि छ।
हिजोआजका युवाहरू आधारातसम्म नसुतेर गफ गर्ने तथा सामाजिक सञ्जालमा बाँधिएर बस्ने अनि घरको भान्सामा सुटुक्क गएर बचेखुचेका खाना खाने, अण्डा, ससेज, चाउचाउ आदि भेटे पकाउने र अनलाइनबाट पनि रातबेरात खाना मगाउने गर्दछन् भने बिहान अबेला उठ्ने एक प्रकारको आदत नै परेको छ उनीहरूलाई।
अनावश्यक तवरले आफ्नो स्वास्थ्यसँग खेलवाड गरिरहेको कुरा उनीहरूले महसुस नै गर्न सकेका छैनन् भने घरका अग्रजहरूका कुनै पनि सल्लाह र अर्ती उनीहरूलाई कतई पच्दैन।
आजको लेख अनलाइनमार्फत सामान ढुवानी सेवाको बारेमा भन्दा पनि नेपालमा बढ्दो जङ्कफुडको प्रयोग र यसबाट स्वास्थ्यमा हुन सक्ने हानी बारे केन्द्रित रहने छ।
उक्त छापामा लेखिए मुताविक काठमाडौँका युवाहरूमा क्रमशः बिर्यानी, मःमः, बर्गर, पिज्जा, फ्राइड चिकेन, रोल, समोसा, नान, चाउमिन नुडल्स आदि विशेष प्राथमिकतामा पर्ने खाना भएको पाइयो भने नेपालका कुना कुनाका गाउँ शहरमा पनि पुरातन खाना भन्दा मःमः र चाउमिन जस्ता खाना लोकप्रिय हुँदै गएको पनि बुझियो।
हाम्रो बाल्यकाल तथा युवावस्थामा हामीलाई बिहान बेलुकी दालभात, जाउलो, आलु तारेको, साग तथा अन्य तरकारी र दुध खान दिइन्थ्यो भने दिउँसोको खाजामा हलुवा (मनभोक), घिउ-चिनी-च्युरा, मह हालेको खट्टे, फुरनदाना, टिकारा (गुलियो वा नुनिलो), पत्रे रोटी, आलु चप, च्युरा–तरकारी, अण्डा आदि दिइन्थ्यो।
मिठाईमा स्थानीय हलुवाईहरूले बनाएका लड्डु, पेडा, बर्फी, लालमोहन, रसवरी, सिखर्नी, खुवा र यसका परिकार, लाखामरी, जेरी (जिल्फी), स्वारी, गुँदपाक, पुस्टकारी आदि। त्यस्तै बच्चाहरू मिश्री, चिनी, सख्खर, पिपलमेट, यदाकदा कचलेट खान पाए भने दङग पर्दथे। त्यतिबेलाका शिशुहरू आमाको दुध तथा लिटो खाएर हुर्कन्थे।
स्कूलबाट घर आएपछि पनि आमाले हातैले मुछ्दै घिउमा बिहानको कालो दाल हालेर भुटेको बासी भात तताएपछि त्यो भन्दा मिठो अर्को खाना नै हुँदैनथ्यो हाम्रो लागि।
यदाकदा भने हामी मःमः तथा चटामरी पसलमा र हलुवाई पसलमा पनि गएर त्यस्ता खाजा पनि खान्थ्यौँ। ती दिन सम्झँदा अझ पनि कति रमाइलो अनुभव हुन्छ।
त्यतिबेला मासु हप्तामा एक दिन मात्र खाने चलन थियो। त्यो पनि खसीको। खासगरी शनिबार र चाडपर्वहरूमा टोल टोलमा खसी काटेर भाग लगाएर बेच्ने चलन हुन्थ्यो र केही मासु पसल पनि छँदै थिए।
बाहुन क्षेत्रीले बोका-खसीको मासु र माछा मात्र खाने भएता पनि अन्य विभिन्न जातजातिले आआफ्ना संस्कार मुताविक कुखुरा, हाँस, राँगा, सुंगुर आदि पनि काटेर खाने गर्दथे। कुखुराको मासु हिजोआज जस्तो छेलो खेलो थिएन।
ब्रोइलर कुखुराको मासु त निकै कम संख्यामा खुलेका साना कोल्डस्टोरमा मात्र यदाकदा पाइन्थ्यो। नत्र साखिनी यानी लोकल कुखुरा घरैमा ल्याएर काटेर खाने गर्दथे। त्यतिबेलासम्म ठूलो परिमाणमा मासु खाने चलन नै थिएन। मज्जाले मासु खान दशैँ नै कुर्नु पर्दथ्यो।
कहिले काहीँ कसैले कतैबाट माछा तथा कालिज आदि ल्याइदियो भने विशेष पर्व समान हुन्थ्यो त्यो दिन। एकचोटी काठमाडौँमा सलह आएर बाली बिगार्दा हाम्रा पिताजी तथा उहाँका साथीहरू पुष्पलाल श्रेष्ठको घरमा गएर सलह तारेको र च्युरा खाएको कुरा पनि बडो रोचक तवरले सुनाउनु भएको थियो।
त्यस्तै उहाँले कहिले काहीँ कुखुराको मासु पकाउने प्रख्यात कालुचा र आलुको तरकारी पकाउने तुईचाकहाँबाट यस्ता खाना ल्याएर खुवाउने गरेको पनि अझै याद आउँछ।
तर आजको अवस्था हेरौँ त हामी। शिशुको जन्म भएदेखि नै आमाको दुधको साटो विभिन्न ब्रान्डको पाउडर दुध, विदेशी लिटो, अपार गुलियो खाना, विभिन्न प्रकारका चकलेट तथा मिठाइ, गम तथा स्पञ्ज, प्याकेटमा पाइने आलु चिप्स, लेज, कुरकुरे, चिज बल, कोकाकोला र अन्य अत्यधिक मात्रामा चिनी भएका सोडाजन्य पेय पदार्थ, चिल्लो, अमिलो, गुलियो तथा नुनिलो गरिष्ठ खाना आदि खाएर बच्चाहरू हुर्किन्छन्। पुरातन पौष्टिक खानाको सानो अङ्श पनि आजकलका बच्चाहरू खान मन गर्दैनन्।
नेपालमा मात्र होइन, विश्वमा नै सन् १९८०को उत्तराद्र्धदेखि डिजिटल माध्यमबाट आम सञ्चार क्षेत्रले मारेको फड्कोका कारण मानव जीवनका हरेक पाटामा अप्रत्याशित परिवर्तनहरू आएका छन्।
विगत ४५ वर्षमा विश्वमा शिक्षा, स्वास्थ्य, बैंकिङ, व्यापार, सञ्चार, हुलाक, पत्रकारिता आदि यावत महत्वपूर्ण क्षेत्रमा भएका नवीनतम खोज तथा आविष्कारहरूले गर्दा मानवजातीको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ भने ज्ञानको दायरा पनि बढ्दै गएको छ। यातायातको सुलभता र विश्व व्यापारमा भएको प्रगतिले गर्दा खाद्य संकट पनि पहिलेको दाँजोमा निकै कम हुने गरेको छ।
केही समय अघिदेखि त किनमेल गर्ने कामदेखि घरैमा बसेर कार्यालयको काम गर्ने बन्दोवस्ती समेत मोवाइल फोन र कम्प्युटरबाट सम्भव हुन पुगेको छ। त्यस्तै नवीनतम सञ्चार प्रविधिमार्फत विभिन्न प्रकारका सामाजिक सञ्जालमा आवद्ध भएर समाजका सबै प्रकारका मानिसहरू आफूलाई आवश्यक भन्दा पनि बढी व्यस्त राख्न थालेका छन्।
एकाघरमा एउटै कोठामा बसिरहेका बच्चादेखि वृद्धसम्मका सबै उमेर समूह आआफ्ना फोनमा वार्तालाप गर्न र विभिन्न खाले भिडियो हेर्न व्यस्त भइरहेका हुन्छन्। एउटै बिछौनामा पल्टिरहेका श्रीमान् र श्रीमती पनि आआफ्ना मोवाइल फोनमा को कोसँग के के कुरा गरिरहेका हुन्छन् भन्ने कुरा एक अर्कालाई थाहा हुँदैन र त्यति मतलव पनि गर्दैनन्।
त्यसैले यो सामाजिक सञ्जालले वास्तवमा घर परिवारका सदस्यहरूलाई झनै असामाजिक र गैरजिम्मेवार पो बनाउँदै लगेको छ। सञ्चार प्रविधिले विशाल फड्को मारेको कारण आफ्नो हत्केलामा नै संसारभरको सूचना र ज्ञान आइपुगेको भएता पनि अधिकांश मानिसहरू उपयोगी र ज्ञानवद्र्धक कुरा भन्दा पनि बेकारका कुराहरू हेरेर र फजुलका च्याट गरेर प्रविधिको दुरुपयोग गरिरहेका छन्।
आजभन्दा ३ दशक अघिसम्म पनि उच्च रक्तचाप, मधुमेह तथा मुटुको रोगलाई खास गरी ४०-४५ वर्षको उमेर कटेपछि मात्र लाग्ने रोगको रूपमा लिइन्थ्यो।
त्यतिबेलाका बच्चा तथा युवाहरू अक्सर हिँडेरै विद्यालय, कलेज तथा नजिकका ठाउँहरूमा ओहोर दोहोर गर्ने, घर बाहिर समूहमा खेल्ने खेलहरू बढी रुचाउने तथा धेरैजसो घरमा पाकेका खाना नै खाने भएकाले उनीहरू स्वस्थ, हृष्टपुष्ट र पातलो काँटीका हुन्थे।
तर यसको ठीक उल्टो आजका बालक तथा युवाहरू ज्यादै कम हिँड्ने, खेलकुद नगण्य तथा खानपानमा ज्यादै अधिक चिल्लो, गुलियो र गरिष्ठ पदार्थको बाहुल्य हुने अनि बेला न को बेला खाना खाइरहने भएकोले पहिलेको दाँजोमा ज्यादै भद्दा र स्थुल देखिन थालेका छन्।
पहिले पहिले बाहिर धेरै खेले भनेर आमाबाबाले बच्चाहरूलाई घरमा बोलाउँथे भने अहिले घरमा नै टाँसिएर बसे भनेर बाहिर खेल्न जाओ भन्नु पर्ने अवस्था आएको छ।
त्यसैले हिजो आज ज्यादै कम उमेरका युवाहरूमा पनि उच्च रक्तचाप, मधुमेह तथा मुटुको रोगका साथै यी भन्दा पनि भयानक रोग भेटिन थालेका छन्। फलस्वरुप डाक्टरका क्लिनिक र अस्पतालहरूमा जाने असंख्य रोगीहरूमा बुढाखाडा भन्दा युवाहरू नै बढी हुने गरेका छन्।
धनी वा विपन्न, जसको घरको पनि भान्सा सफा नै राखिएको हुन्छ भने भाँडाकुँडा पनि राम्ररी धोएर राखिएका नै हुन्छन्। त्यस्तै घरमा पकाइने खाद्यान्न र सागसब्जी राम्ररी सफा गरिएका हुन्छन्।
तरकारीमा राम्रो तेल, बेसार, ज्वानो, मेथी, हिङ्ग, धनिया, जिरा, तेज पत्ता, ल्वाङ-सुकमेल-अलैँची तथा दालचीनी आदि हालेर पकाइएको हुन्छ।
अनि दुध, दही, मही र मौसम अनुसारका थोरै भएपनि फलफूल समेत पस्कने चलन छ हाम्रो समाजमा। पहिलेको दाँजोमा माछामासु पनि प्रायः पाक्ने नै गरेको हुन्छ। त्यसैले पनि घरको प्राकृतिक खाना खाने मानिसहरू प्राय निरोगी नै रहन्छन्।
हाल आएर राजधानी वा अन्य शहर र गाउँमा पनि विभिन्न प्रकारका र स्तरका होटेल र रेष्टुरेन्टहरू खुलेका छन्। यिनमा धेरै मानिसहरूले रोजगारी पाउनुका साथै यहाँ विभिन्न प्रकारका खानाहरू तयार गरिन्छन्।
कहिले काहीँ यस्ता होटेलहरूमा गएर खाना खाँदा मन बहलिनुका साथै एक प्रकारको फरक पनि महसुस हुन्छ। त्यस्तै यात्रु तथा व्यस्त मानिसहरूले यदा कदा होटेलमा प्रातः दिवा वा रात्री भोजन गर्नु वा घरमा पाहुना बोलाउँदा खाना मगाउनु पनि साधारण नै कुरा हो।
तर सधैँ सधैँ होटेलको खाना खानाले भने स्वास्थ्यमा हानी पुग्छ नै। त्यसमाथि आजकल सबै खाद्य वस्तु विषाधीको प्रयोगबाट उत्पादन भएका हुन्छन्।
हामीमध्ये कति जनाले होटेलको भान्सा वा त्यहाँ तरकारी तथा अन्य खाद्य पदार्थ कसरी धुन्छन्, के कस्ता हालतका सागसब्जीहरू ल्याएर पकाउँछन्, बासी खानाको व्वस्थापन कसरी गर्छन्, कस्तो पानी प्रयोग हुन्छ, तरकारीमा हाल्ने मसला तथा ससहरूको गुणस्तर कस्तो हुन्छ, तिनका भाँडाकुँडाको अवस्था के कस्तो छ र त्यहाँ मुसा, साङ्ले तथा अन्य किटाणुले डेरा जमाएर बसेका छन् वा छैनन् अनि पकाउने तथा मद्दत गर्ने कर्मचारीहरूले सरसफाइमा के कस्तो ध्यान दिन्छन् र तिनीहरू आफैं स्वस्थ, तन्दुरुस्त छन् वा छैनन् भन्ने कुराहरूको बेला बेलामा खोजीनीति गर्ने गरेका छौँ त?
नेपालमा खाद्य सुरक्षा सम्बन्धि निकायहरू कत्तिको सकृयता र इमान्दारीताका साथ काम गर्छन्? खाद्य पदार्थको गुणस्तरको अनुगमन नियमित रूपमा हुन्छ या हुँदैन?
झनै हामीलाई अनलाइनमार्फत खाना पठाउने निकायहरूका भान्सा र सरसामानको अनुगमन कसले गर्ने वा गरेको छ? हाम्रो घरसम्म खाना पु¥याउने विभिन्न कम्पनीका भान्सा, खाद्य सामग्री, कर्मचारी र तिनका खाना ओसार्ने झोला र अन्य सामान कति सफासुग्घर छन् भन्ने कुरामा पनि हामीलाई त्यति मतलब हुँदैन। यस्ता खाना कुसमयमा यानी रातबिहान मगाउने अधिकांश ग्राहक १८-१९ वर्षका युवा देखि ४०-४५ वर्षसम्मका अर्धवैंशेहरू हुन्छन्।
चिकित्सकहरू मात्र होइन, हाम्रो परापुर्वकालदेखि चलिआएको चलनमा पनि रातिको खाना साँझ परेको केही समयभित्र खाएर त्यसपछि एकैपटक बिहानको नास्तामा मात्र खाना खानु पर्छ भन्ने छ।
तर रातिको समयमा उपवास बस्नुको साटो आजकलका अधिकांश युवाहरू निन्द्रा बिगारेर मोवाइलमा च्याट गर्दै बस्ने तथा अनावश्यक तवरले विभिन्न थरीका खाना मगाएर वा जङ्क फुडहरू खाएर रात बिताउने गर्दछन्।
उनीहरू बिहान पनि ढिलो उठ्ने गर्दछन् भने शारीरिक व्यायाम नगण्य नै हुन्छ। यस्ता युवाहरू मात्र नभई हिजोआज कैयन् गृहस्थी पुरुष तथा महिला समेत घरमा खाना पकाउन अल्छि गरेर प्रायजसो बाहिरबाट खाना मगाएर खानुका साथै बच्चाहरूको बानी बिगार्ने तथा वृद्ध बाबुआमालाई समेत त्यस्ता खाना खान वाध्य बनाउँछन्।
यो कुरा झट्ट हेर्दा साधारण जस्तो देखिए पनि यसले हाम्रो समाजलाई कता तिर डो¥याई रहेको छ भन्ने कुरामा गम्भीरतापूर्वक मनन गर्नु जरुरी भएको छ।
उहिलेका भोज भतेरहरू घरैमा खाना पकाएर आयोजना गरिन्थ्यो भने मदिराको प्रयोग नगण्य हुने गर्दथ्यो। तर हिजोआज घरमा ठूलो भतेर गर्न ठाउँ नपुग्नुका साथै पकवानको व्यवस्थापन गर्न पनि गाह्रो हुने हुँदा पार्टी प्यालेस तथा होटेलहरूमा यस्तो महेफिलको आयोजना गर्ने गरिन्छ।
तर हाम्रो समाजले फड्को मारेको भनौं या के भन्ने हो कुन्नि, परिवारका अग्रज तथा समाजको समेत पर्वाह नगरी पुरुष मात्र होइन धेरै महिलाहरू समेत हातमा वाइन, वियर र ह्विस्कीको चुस्की लगाउँदै नाची रहेका हुन्छन्।
समाज र जमानाको बदलावसँगै सकेसम्म घरैमा बसेर एकाध गिलास यस्ता पेय पदार्थको सेवन कहिले काहीँ गर्दा ठीकै हुने भएता पनि घर बाहिर आयोजित समारोहहरूमा यसरी खुलेआम बेहिसाब मद्यपान गर्नु र अग्रजहरूलाई जिल्ल्याउनुका साथै नयाँ पिँढीलाई खराव कार्य गर्न हौस्याउनाले समाज मात्र होइन आफ्नै परिवारको सद्भावनामा समेत खलल पुग्न जान्छ।
कैयन् घरमा संयुक्त परिवारमा बसोवास गर्दा आफ्ना अग्रजहरूको खटन र अनुशासनमा बस्नु पर्ने तथा सधैँ घरको खाना मिठो नलाग्ने भएकोले राम्रो आय हुन थाल्ने वित्तिकै त्यस्ता परिवारका सदस्यको बाहिर होटेलमा मिठो खाने तथा घरमा रहेका आफ्नो लोग्नेस्वास्नी र बच्चाहरूलाई मात्र त्यस्ता खाना ल्याएर कोठैमा सुटुक्क खाने स्वार्थी परिपाटीको पनि विकास हुँदै गएको छ।
हामी खाद्यान्न तथा सागसब्जी र विभिन्न सरसामान किनेर ल्याउँदा घरका जम्मा भएका प्लास्टिक तथा कागजका झोला आदिको मात्र विचार गर्दछौँ तर विभिन्न होटेल र निकायबाट मगाएका खाना प्याक भएर आएका बट्टाहरू, आलुमिनियम फोइलहरू, प्लास्टिकका चम्चा र न्याप्किनको खात, र सस तथा अचारका पाउचहरू र राम्ररी नधोएका हरित काँचा सब्जीहरू जस्तै काँक्रो, मुला, गाजर, प्याज, गोलभेँडा आदि सडेर बसेका र वातावरणलाई प्रदूषित बनाइरहेको कुरामा त्यति ध्यान दिँदैनौँ। त्यस्तै यस्ता खाना मगाएर महिनाभर खर्च गरेको रकमको पनि हिसाब राख्दैनौँ।
विश्वमा प्रविधिले फड्को मारेसँगै त्यसको दुरुपयोगले निम्तिने यस्ता विकृतिले गर्दा समाजमा पर्ने गरेका असरहरू बारे घोत्लिने बेला आइसकेको छ। यदि हामीबाटै समाधान हुन सक्ने यस्ता समस्यालाई हामीले वास्ता गरेनौँ भने यसले जनस्वास्थ्य र जनताको आर्थिक अवस्थामा पनि ठूलो नकारात्मक असर पार्न सक्दछ।
त्यसैले उच्च प्रविधिको उपयोगले स्थापित भएका यस्ता सेवा र सुविधाको उचित तवरले उपभोग गर्न समाजका सबै तप्काका मानिसहरूलाई बेलैमा शिक्षित बनाउने तथा समाज र वातावरणको सम्वर्द्धनमा आफ्नो तर्फबाट पनि केही गर्ने कार्यमा हामी जस्ता सजग नागरिकले लागिपर्नु पर्ने आजको आवश्यकता हो।
लेखक विकास अर्थशास्त्री हुन् ।
Facebook Comment