आप्रवासी मुद्दामा नेदरल्यान्ड्स सरकार ढल्यो, प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौं । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले आफ्नो मन्त्रिपरिषद्सहित राजीनामा दिएका छन् ।
तीन दिनसम्म चलेको वार्तापछि पनि सरकारका चार गठबन्धन साझेदार आप्रवासीको संख्या रोक्नको लागि चाल्नुपर्ने कदममा सहमत हुन सकेनन् ।
प्रधानमन्त्री मार्क रुटेले आप्रवासी नीतिमा सहमति जुट्न नसक्दा नेदरल्यान्ड्स सरकार ढलेको बताएका छन् ।
उनले आगामी निर्वाचनसम्म गठबन्धनले कामचलाउ सरकार चलाउने बताए ।
मार्क रुटेको नेतृत्वमा डेढ वर्षअघि सरकार बनेको थियो । तर आप्रवासी नीतिको विषयमा गठबन्धनका साझेदारहरूबीच विरोध भएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार नेदरल्यान्ड्समा यसै वर्ष नोभेम्बरमा चुनाव हुनसक्छ ।
मार्क रुटेको भीभीडी पार्टी नेदरल्याण्डमा शरण खोज्नेहरूको संख्या सीमित गर्न चाहन्छ। तर, गठबन्धनका अन्य दलले उनको योजनाको विरोध गरेका छन् ।
गत वर्ष नेदरल्याण्डमा ४७ हजार मानिसले आप्रवासनका लागि आवेदन दिएका थिए । यो वर्ष ७० हजारसम्म आवेदन आउन सक्ने सरकारको अनुमान छ ।
Facebook Comment