आरजुको नाम लिएको अडियो नक्कली शरणार्थी प्रकरणका अभियुक्त शर्मासँग मिल्यो

डिसी नेपाल
२४ असार २०८० १३:१७

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाले समेत रकम लिएको आरोप लगाइएको अडियोमा सुनिएको स्वर नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी थुनामा रहेका अभियुक्त सन्देश शर्माको स्वरसँग मिलेको पाइएको छ ।

दाङका शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर अनुसन्धानका लागि थुनामा राखिएका छन् । उनीमाथि प्रहरीले संगठित अपराध कसूर मुद्दामा अनुसन्धान गरिरहेको छ । यो अडियो सार्वजनिक भएपछि आरजु राणाले आफ्नो नाम जोडेर फेक अडियो भाइरल गराइएको भन्दै यसको सत्य तथ्य जाँच गरी दोषीउपर कारवाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

राणाकै निवेदनको आधारमा यो अडियोको जाँच अगाडि बढेको थियो । तर, जाँचमा यो अडियो शरणार्थी प्रकरणमै संलग्न भएको देखिने पर्याप्त आधार भेटिएर पक्राउ गरी थुनामा राखिएका अभियुक्तसँग मिलेको पाइएको हो । शर्माको स्वरसँग यो अडियो मिलेको पाइएसँगै आरजु राणाको ‘फेक अडियो’ भन्ने दावीको धरातल कमजोर भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले दिएको जानकारी अनुसार यो अडियोको स्वर यही प्रकरणमा अनुसन्धानमा रहेका अभियुक्त शर्मासँग मिलेको पाइएसँगै यो अडियो कहाँबाट र कसरी सामाजिक संजालमा आयो भन्ने विषयमा अनुसन्धान अगाडि बताइएको छ । यसका लागि यो अडियो टिकटकमा कहिले र कसले अपलोड गरेको हो भन्ने बारेमा टिकटकको सिंगापुरस्थित कार्यालयसँग जानकारी मागिएको कडायतले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *