नेपालीले शास्त्र किन पढ्ने ?
शास्त्रसँग जीवन, धर्म, धरा र इतिहास जोडिएकाले पढ्नुपर्छ, ढोग्नुपर्छ, पुस्तान्तरण र हस्तान्तरण हुनुपर्छ। यही भूमिमा वेद, त्रिपिटक, मुन्धुमको जन्म भयो। हिन्दू, बौद्ध, किरात र बोनको शुरुवात नेपालकै भूमिबाट हुनुपुग्यो।
यहाँको प्रकृति, प्रवृत्ति र प्राणीसँग धर्मको नाभी गाँसिएको छ। जीवनशैली, सामाजिक मान्यता, धार्मिक पद्धतिसँग शास्त्रले घाँटी जोडेको छ। धार्मिक विधि बताउने, आध्यात्मिक चेत खुलाउने, इतिहासको ज्ञान दिने, ज्ञानको भण्डारण गर्ने विज्ञानको जननीलाई शास्त्र भनिन्छ।
हाम्रो दैनिकी, चिन्तन, कर्तव्य, शक्ति, स्वभाव, आचरण आदि कस्तो हुनुपर्छ, शास्त्रले बताउँछ। शास्त्रले मानिसलाई मर्यादित, संस्कारलाई जिवन्त, कर्तव्यपरायण बनाउँछ। शास्त्रअनुसारको जीवन जिउनेहरू नै मानव, ऋषि, भगवान् भए।
शास्त्रले सम्प्रदाय, पन्थ, मतको जन्म गराउँदैन, सबैलाई एकाकार गरी आत्मीयता सृजना गर्छ। बिहानै उठ्न, पूजापाठ-दान-धर्म गरी महापुरुष बन्न, पितृ र देवीदेवताहरूको याद गर्न लगाउँछ। ईश्वरको स्मरण गर्दै भगवान् बन्न सिकाउँछ।
शुभ चिन्तन, असल योजना, सत् संकल्पसहित बाँच्न लगाउँछन्। शास्त्रले सबैलाई बाटो देखाउँछ, ईश्वर चिनाउँछ, लौकिक र अलौकिक ज्ञान गराउँछ। श्वास, शिक्षा, संस्कार र शास्त्र नै मानवजीवनका आधार हुन्।
शासनात् तारयति यत् तत् शास्त्रम् अर्थात्, शासनद्वारा सबैको उद्धार गराउने ज्ञानको भण्डार वा सङ्ग्रहलाई शास्त्र भनिन्छ।
शिष्यतेऽनेनेति शास्त्रम् अर्थात् जसबाट शासन गरिन्छ, त्यसलाई शास्त्र भनिन्छ। ईश्वरले ब्रह्मादेखि ब्रह्माण्डसम्म, जीवदेखि जीवनसम्म शास्त्रका आधारमा चलाउँछ। शास्त्र व्यक्तिविशेषको लेख एवं रचना होइन ईश्वरको स्वरुप हो, परमात्माको बिम्ब हो।
आर्थिक, सांस्कृतिक, राजनीतिकलगायतका उन्नतिका लागि शास्त्रको मार्गअनुसार चल्नुपर्छ। क्रिश्चियन राष्ट्रका उच्च पदस्थ महानुभावहरूले पदभार संहाल्दा आफ्ना धार्मिक ग्रन्थलाई साक्षी राख्छन्। ईश्वरको स्वरूप हुनाले शास्त्र सबैको साक्षी हो।
शास्त्रले कर्तव्यनिष्ठ भएर लाग्ने, इमान्दारीपूर्वक काम गर्ने बानी र वातावरणको विकाश गराउँछ। शास्त्रले बाटो देखाउँछ, माटो चिनाउँछ, जिम्मेवारीको बोध गराउँछ। भूगोल, संस्कृति र समाज विपरीत भएका विकाशले जीवन उकासिँदैन, राष्ट्रले प्रगतिको पाइला चाल्न सक्दैन।
प्रत्येक राष्ट्रको शान्ति, सद्भाव, संवृद्धिको बीजारोपण तिनीहरूको शास्त्रबाट हुनेहुँदा पुर्खाले शास्त्रलाई दैवी आशीर्वाद र अक्षय सम्पत्ति मान्दथे। प्राचीन कालमा राष्ट्रनिर्माण, एकीकरण आदिमा शास्त्रले भूमिका खेलेको छ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा होस् वा बेलायतले उपनिवेश कायम गर्दा उनीहरूले शास्त्र, सन्त र आध्यात्मिक शक्तिको सहयोग लिएका थिए। उपनिवेश बनाउन पादरीको भूमिका योद्धाको भन्दा कम छैन।
प्रकृति, पृथ्वी, प्राणीको संरक्षण गरी ब्रह्माण्डको सुरक्षा गर्न हरेक मानवले शास्त्र पूज्नै पर्छ, बुझ्नै पर्छ, अध्ययन गर्नैपर्छ। युरोपसहित पश्चिमी मुलुकमा न त धर्मगुरु जन्मिए, न त धर्मशास्त्र लेखिए। नेपालीहरु यही भूगोलमा ज्ञान र विज्ञानको खोज गर्नेका सन्तान, ऋषिहरुका सन्तति भएकाले शास्त्र पढ्न, पढाउन र संरक्षण गर्न पछि हट्न हुँदैन।
पृथ्वीनारायण शाहले भगवन्तनाथलगायतका सन्तलाई उत्तिकै सदुपयोग गरेका थिए। शास्त्रयोनित्वात् शास्त्र नै मुक्तिको बाटो हो, अवरोधको औषधि हो, परमात्मालाई साक्षात्कार गर्ने आधार हो, पुर्खा चिन्ने आँखा हो, समाज र राष्ट्रलाई एकाकार गर्ने औषधि हो, खगोल-भूगोल र जीवनको विधिपूर्वक अध्ययन गर्न विज्ञान हो।
रिसर्च गर्ने नै ऋषि हुन्। ऋषिमुनिहरूले प्रयोग र परीक्षण गरेका विज्ञानसम्मत् ज्ञानहरूलाई संकलन गरिएको पुस्तकलाई शास्त्र भनिन्छ। जीवनलाई अनुसन्धानमय, विचारलाई खोजमय, कर्मलाई विज्ञानमय तरिकाले उपयोग गरेका हुनाले ऋषिमुनिहरूलाई वैज्ञानिक भनिन्छ।
उनीहरू शारीरिक र मानसिक रूपमा अब्बल दर्जाका हुनाले शास्त्र र ग्रन्थकार बन्न सकेका थिए।छान्दोग्योपनिषद् (७।७।१।२) मा भनिएको छ- विज्ञानेन वा ऋग्वेद विजानाति….इमञ्च । लोकममुञ्च विज्ञानं ब्रह्मेत्युपास्ते
अर्थात्, “विज्ञानबाट ऋग्वेद जानिन्छ, विज्ञानबाट पृथ्वीलगायतका लोकहरूको बारेमा बुझिन्छ, विज्ञानलाई साक्षात् ब्रह्म (परमात्मा) जानेर विज्ञानको उपासना गर।” रहस्यको पुञ्ज पत्ता लगाउने, ज्ञानमा रमाउने हाम्रा पुर्खा विज्ञानका जन्मदाता हुन्।
वेदव्यासले वेदको संकलन गर्दा, याज्ञवल्क्य-मनु-पराशर आदिले स्मृतिग्रन्थहरूको निर्माण गर्दा, भृगुले भृगुसंहिता, रावणले रावणसंहिता, पाणिनिले अष्टाध्यायी, चाणक्यले चाणक्यनीति र कौटिल्यको अर्थशास्त्रलगायतका ग्रन्थहरू लेख्दै गर्दा अन्य महादेशमा अमिबाहरू बाँदरमा परिणत हुन पुच्छर उम्रदैँ थियो।
कुबेरले जहाज उडाउँदा, अश्विनीकुमारहरूले औषधि र अप्रेशनलाई प्रचारप्रसार गर्दा, विश्वकर्माले भवन र महलहरू बनाउँदा अन्य महादेशमा रामापिथेकसको जन्म हुँदै थियो।
मत्स्यगन्धाले डुंगा चलाएर साधुसन्त र ऋषिमुनिहरूलाई नदीपार गराउँदै गर्दा पाश्चात्यहरू कन्दमूल धोएर खान नजान्ने अवस्थाका लङ्गुरबाँदर थिए। यी सम्पूर्ण उपलब्धी वैदिक शास्त्रले गराएको थियो।
शास्त्रले यज्ञमात्र गराउँदैन, राज्य चलाउन, जनताको व्यवस्थापन गराउन, विकासको मूल फुटाउन सहयोग गर्छ। शास्त्र, शस्त्र, संस्कृतिका जन्म वेदबाट भएकाले वेद सबैको फेद हो, जरा हो।
वेदलाई परमात्माको श्वास भनिन्छ। वेदको नाश हुन गयो भने न त प्राणी, न त ब्रह्माण्ड, न त मान्छे, न त विज्ञान, न त संसारकै अस्तित्व रहन्छ। वेद बिउ हो, जसबाट हरेक रहस्यको भेउ पाउन सकिन्छ। वेद दैवीशक्तिको पुञ्ज भएकाले हरेक नेपालीले शास्त्रको अध्ययन गर्न आवश्यक छ।
तिस्रः कोटयोर्धकोटी रोमणी व्यावहारिके।
सप्तलक्षाणिकेशाः स्युर्नखा प्रोक्तास्तु विंशति।
-गरुडपुराण (१५।४८)
मानव शरीरमा तीन करोड पचास लाख रौँ हुन्छन्, टाउकोमा सात लाख रौँ छन्, हात खुट्टामा जम्मा बीसवटा नङ हुन्छ। मानव शरीरमा जम्मा ३६० हड्डी हुन्छ। यो सामान्य मानव शरीरको वर्णन हो। कसैको एउटै हात वा खुट्टामा ६ वटा औँला भएको अवस्थामा यसले मेल खाँदैन।
टाउको खुइलने रोग लाग्दा शास्त्रले भने जति रौँ नहुन सक्छन्। हाम्रा अग्रजले शास्त्रमा शरीरदेखि संसारसम्मका सत्य, तथ्य सङ्गलन गरी सन्ततिलाई हस्तान्तरण गरे।
नाड्यः स्थूलाश्च सूक्ष्माश्च कोटिशः परिकीर्तिताः अर्थात्, शरीरमा सूक्ष्म र स्थूल (मोटा) नाडी एक करोडको संख्यामा हुन्छन्। योगशास्त्रले ७२ हजार नाडीबाट मानव शरीर बनेको बताउँछ। पाश्चात्य वैज्ञानिकहरूले शरीरलाई नशाहरूको पूञ्जका रूपमा स्वीकारेका छन्।
भगवान् रामले एघार हजार वर्षसम्म शासन गरेका थिए। वेदव्यासले भनेर गणेशले लेख्नुभएको पुस्तकको नाम महाभारत हो। शास्त्र कहिले, कहाँ र कसरी लेखिए, त्यसभित्र के छ? भन्ने प्रमाण छ। जीवन र जगत्लाई शास्त्र पूजनीय, पठनीय र सङ्ग्रहणीय भए।
दुई चार जनाका भाष्य पढेर, अन्तर्वार्ता सुनेर, गफ गर्न जानेर हुँदैन शास्त्र बुझ्न अध्ययन र अनुसन्धानको मेसो हुनुपर्छ। पाश्चात्यहरूले जति खोज, अनुसन्धान गरेका छन्, त्यसलाई हाम्रा पुर्खाले धेरै पहिले प्रयोगमा ल्याइसकेका थिए।
विज्ञानको चरम विकाश हाम्रो क्षेत्रबाट पश्चिमतिर लागेको देखिन्छ। युरोप र अमेरिकामा हाम्रा तन्त्र, ज्योतिष, आयुर्वेद, यज्ञ, योगको अनुसन्धान व्यापक हुँदै गएको छ।
हाम्रा शास्त्र पढेरमात्र उनीहरूले अहिलेको विकाश गरेका चाहिँ होइन तर उनीहरूको विकाश हाम्रा शास्त्रमा वर्णन गरेको भन्दा फरक छैन। हामीले शास्त्रको बाटो मात्र छोडेका छैनौँ, शास्त्रलाई नै जलाउने काम गरेका छौँ।
पितापुर्खाको मृत्युपछि उनीहरूले अध्ययन गरेका पुस्तक एवं लेखेका कागजपत्र जलाउने काम हुँदै आएको छ। माओवादीका नाममा १२ वर्षे नरसंहार हुँदा नेपाल संस्कृत विश्वविद्यालयका पुस्तकालय, मठमन्दिरको पुरातत्व, शिलालेख आदिको सर्वनाश गर्ने काम भयो।
जानेको विद्या नसिकाउने, पुराना पुस्तक विदेशीलाई बेच्नेलगायतका विकृतिले हाम्रो विज्ञान पिँजडाको सुगा भयो। पञ्चायतकालमा रानी, युवराज एवं दरबारका नाम भजाएर गजुर चोर्ने, मूर्ति बेच्ने काम प्रशस्तै भए। पण्डित, पुजारी, बडागुरुज्यूहरू मूक हुँदा शास्त्र विरुद्धका कामले सिमा नाघेर राजाको शासन सकियो, धर्मको आधार हरायो।
भगवान्का स्तुतिगान रट्ने, श्लोकहरू कण्ठस्थ गर्ने, कथामात्रै सुनाउने भन्दा माथि हामी उठ्न सकेनौँ। लक्ष्मणले बनाएको लक्ष्मणरेखा, अर्जुन एवं अश्वथामाले चलाएको ब्रह्मास्त्र, महादेवको पाशुपतास्त्र, वेदव्यासको दिव्यदृष्टिको बारेमा खोज गरेनौँ।
यसलाई प्रयोग गर्न सकेको भए आजभन्दा पाँच हजार वर्ष पहिलेदेखि विधि र प्रविधि हामीले विदेशीलाई बेच्ने थियौँ। ज्ञानलाई जातभात, वर्ण, वर्ग र भूगोलमा सीमित गरायौँ। पुराण, मन्त्र, तन्त्र, आयुर्वेद, योग आदिमा रहेको विज्ञान र वैभवलाई सदुपयोग गर्न नसक्नु हाम्रो दुर्भाग्य हो।
ये समुद्रान्निरखनन् देवास्तीक्ष्णभिरभ्रिभिः।
सुदेवो अद्य तद् विद्याद् यत्र निर्वपणं दधुः।।
-शतपथब्राह्मण (७।५।२)
अर्थात्, “देवता वा विद्वान्हरूले मनरूपी समुद्रबाट वाणीरूपी तीक्ष्ण कोदालोद्वारा खनेर त्रयी विद्या (वेद)लाई निकाले।” ऋषिमुनिहरूले हरेक विषयमा सूक्ष्मभन्दा सूक्ष्म अध्ययन र परीक्षण गरी त्यसलाई मानवजीवन तथा राष्ट्रको सर्वाङ्गिण विकाशमा समर्पण गरेका थिए।
उनीहरूले भावी पुस्तालाई प्रदान गर्न ती ज्ञानलाई शास्त्रमा सङ्ग्रहित गरिदिए। त्यसैले सर्वस्य लोचनं शास्त्रम् अर्थात् शास्त्र सबैका आँखा हुन् भनिएको हो। आँखा दुई किसिमका हुन्छन्, पहिलो- चर्मचक्षु(छालाका आँखा) जसले बाहिरी दुनियाँ देख्दछ, स्थूल ज्ञान गर्दछ।
दोस्रो- ज्ञानचक्षु (ज्ञान रूपी आँखा) जसले भित्री ज्ञान वा सूक्ष्मातिसूक्ष्म थाहा पाउँछ। जसको तेस्रो आँखा खुल्छ, त्यही महादेव बन्दछ। तेस्रो आँखा भनेकै शास्त्र (ज्ञान) हो।
शास्त्रको विधानअनुसार कर्म गर्नुपर्छ। शास्त्रअनुसार कार्य गर्दा पाप हुन गएमा त्यसको जिम्मेवारी शास्त्रले लिन्छ। अहिलेका पुस्ता नेटको ज्ञान र नोटको बलले सबै प्राप्त हुन्छ भन्ने भ्रममा पुगे।
दादा वाक्यं प्रमाणम् तर्क, वितर्क, कुतर्कलाई वेदबाहेकका शास्त्रभित्र क्षेपकका रूपमा प्रवेश हुँदा शास्त्रले कानूनको काम गर्न सकेको छैन। कानुन शब्दमा ‘का’ अक्षर निकाल्ने हो भने ‘नुन’, बीचको ‘न’ अक्षर निकाल्दा ‘कान’ बन्दछ।
जसको अर्थ क्रमशः कानुनलाई सबैका कानले सुन्नुपर्छ, नुनको जस्तै सबैले स्वाद लिनुपर्छ भन्ने हुन्छ। कानुनको अन्तिम अक्षर ‘न’ निकालेमा ‘कानु’ बन्दछ। कानुनजस्तै निष्पक्ष मार्गदर्शन गर्ने महाविज्ञान हो शास्त्र।
मन तरङ्गित भएमा शास्त्रलाई ढोग्ने, पढ्ने वा शिरानीमा राखेर सुत्ने गरिन्छ। भूतप्रेतको बाधा हटाउन शास्त्रकै मन्त्र, तन्त्र र विधिको प्रयोग गरिन्छ। नेपाल त शास्त्रको जननी हो। यहाँका हरेक नागरिक र घरमा शास्त्र हुनुपर्छ। प्रत्येक नेपालीले हरेक बिहान पढ्ने, मनन गर्ने र ढोग्ने गर्नुपर्छ।
अनेकसंशयोच्छेदि परोक्षार्थस्य दर्शकम् ।
सर्वस्य लोचनं शास्त्रं यस्यः नास्त्यन्ध एव सः ।।
-हितोपदेश (मित्रलाभ)
अर्थात्, “अनेकौं शंकाहरूलाई निर्मूल पार्ने, अप्रत्यक्षलाई प्रत्यक्षजस्तै गरी देखाउने, शास्त्ररूपी आँखा जोसँग छैन वास्तवमा त्यो अन्धो हो।” हामीले नदेखेका, अनुभव नगरेका विषयलाई पत्याउने आधार शास्त्र हो।
ईश्वर, स्वर्ग, विभिन्न लोक, आत्मा, पितृ, प्रेत आदिमाथि विश्वास गर्ने आधार शास्त्र हो। शास्त्रले मन बुझाउँछ, समाजलाई बाटो देखाउँछ, इतिहास बुझाउँछ, जीवनलाई मर्यादित बनाउँछ।
शास्त्रले मान, मर्यादा, कर्मको बोध गराउँछ, प्रकृति र संस्कृतिको संरक्षण गर्न सिकाउँछ। शास्त्रले टुप्पी पाल्न, टीका लगाउन, श्राद्ध गर्न मात्र सिकाउँदैन, परिधिमा रहेर आधुनिक र अत्याधुनिक बाटो हिँड्न लगाउँछ। त्यसैले शास्त्रका ज्ञान पुरानो भए पनि उपयोगी र अमर छन्।
विद्यालय र विश्वविद्यालयमा पढाइने पुस्तक र खोज केही वर्षमा परिवर्तन हुन्छन्। शास्त्र नै शास्वत सत्य भएकाले कहिले बदल्न र थप्न पर्दैन। शास्त्रले देखाएको बाटो हिँड्दासम्म हिन्दूहरूमा शक्ति, शान्ति, आनन्द र आत्मीयता थियो, वैभवले पूर्ण थियो, सद्भावको श्वास फेर्न पाएका थिए।
कुनै पनि बाबु-आमाले समाजमा पीडा र आँशु लुकाउँदै छोराबुहारीबाट तिरस्कृत भई वृद्धाश्रमको भरोसामा प्राण धान्नुपरेको थिएन। कुनै पनि सन्तानले क्यूरेटको शिकार बनेर जन्मनै नपाईकन मृत्युको मुखमा जानुपरेको थिएन।
अहिलेको जस्तो चोरी, भ्रष्टाचारी, आततायीहरूको बिगबिगी एवं मै खाऊँ मै लाऊँको अवस्था थिएन। सभ्य समाज, असल नागरिक, शान्त वातावरण, उन्नत राष्ट्र बनाउन शास्त्रको ज्ञानलाई अपनाउनु, शास्त्रको दर्शनलाई अवलम्बन गर्नु, शास्त्रको निर्देशनमा जीवनलाई समर्पित गर्नु अत्यावश्यक छ।
म को हुँ? किन आए? के गर्नुपर्छ? मृत्युपछि कहाँ जान्छु? लगायतका विषयलाई बुझ्न शास्त्र पढ्नै पर्छ। शस्त्र र सम्पत्तिले होइन वसुधैव कुटुम्बकम्लाई स्वीकार गरी शास्त्रद्वारा विश्वलाई एक बनाउनुपर्छ।
प्रकृति, पृथ्वी, प्राणीको संरक्षण गरी ब्रह्माण्डको सुरक्षा गर्न हरेक मानवले शास्त्र पूज्नै पर्छ, बुझ्नै पर्छ, अध्ययन गर्नैपर्छ। युरोपसहित पश्चिमी मुलुकमा न त धर्मगुरु जन्मिए, न त धर्मशास्त्र लेखिए।
नेपालीहरु यही भूगोलमा ज्ञान र विज्ञानको खोज गर्नेका सन्तान, ऋषिहरुका सन्तति भएकाले शास्त्र पढ्न, पढाउन र संरक्षण गर्न पछि हट्न हुँदैन।
Facebook Comment