त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २२ किलो सुन तस्करी
काठमाडौं। वैदेशिक रोजगारीबाट नेपाल आउनेहरुबाट हरेक दिन २२ किलो भन्दा बढी सुन तस्करी हुने गरेको छ। सरकारले वैदेशिक रोजगारमा गएका युवालाई ५० ग्राम सुनको गहना ल्याउन दिने सहुलियतको उपयोग गर्दै सो सुन तस्करी हुने गरेको हो।
तस्करहरूले आफ्नो सुन केही रकम र लोभ देखाएर यसरी पठाउने गरेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानमा दैनिक कतारबाट २०/३० जना युवाले यसरी नै सुन ल्याउने गरेको देखिएको छ।
‘औसतमा २० देखि २२ किलो सुन आएको देखिन्छ ती सबै गिरोहको हातमा पुग्ने गरेको हाम्रो अनुमान छ’, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले भने।
भन्सार विभागले दिएको सहुलियतलाई सदुपयोग गरेर विदेशमा बस्ने सुन तस्करहरुले नेपालमा सुन पठाउने गरेका छन्। तस्करहरुले भन्सार छलेर पठाउन अवस्था नभएपछि भन्सारले दिएको सहुलियतलाई उपयोग गरिरहेका छन्।
एसएसपी केसीका अनुसार कतारबाट सुन तस्करी गरेरै एक दम्पतीले काठमाडौँमा होटल किनेका थिए। सप्तरीको बलानबिहुल गाउँपालिका-२ चनहिपथराहका विनोदकुमार साह र उनकी पत्नी सञ्जुकुमारी साह सुनतस्करीको आरोपमा पक्राउ परेपछि तस्करीको सुन ल्याउने अर्को पक्षलाई दिने गरेका कारण उनले होटल किनेको खुलेको हो।
सुनतस्करी गरेको रकमबाट उनीहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि रहेको होटल हिमालयन स्पायर किनेको अनुसन्धानबाट खुलेको थियो।
प्रहरीका अनुसार कतारमा बस्ने तस्करीका गिरोहले नेपाल पठाएको सुन विनोद र सञ्जुले काठमाडौंमा लिने गरेको सो सुनलाई बेचेर पैसा अर्को ठाउँमा पठाउने गरेको खुलेको थियो। प्रहरीका अनुसार विनोदकी श्रीमती सञ्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँको कारोबार भएको थियो।
यस्तै उनका पति विनोद पनि विमानस्थलमा सुन बुझ्न जाने गरेको उनको खातामा ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ ७६ पैसाको कारोबार देखिएको छ। ‘यो सबै रकम सुन बेचर अर्कोलाई पठाउदा जम्मा गरेको देखिन्छ’, कार्यालयका प्रमुख एसएसपी केसीले भने।
विनोदले सुन बेच्ने गरेका निमाइ साह पनि पक्राउ परेका छन्। उनीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ४६ तोला सुन बरामद गरेको छ। सर्लाहीका ५६ वर्षीय साहले काठमाडौंको बागबजारमा सुन पसल सञ्चालन गरेका थिए।
सोही पसलमा लगेर केही सुन बेच्ने गरेको र केही सुन सिराहमा शिवसुन्दर राउतलाई पठाउने गरेको खुलेको छ। उनीहरुले पठाएको सुन र सुन बेचेको रकम लिने शिवसुन्दर राउतको खातामा भने एक अर्ब ९३ करोड ६८ लाख ६१ हजार ४९५ रुपैयाँको पठाएको देखिएको छ।
३३ किलो सुन तस्करी प्रकरणमा मोरङका चुडामणि उप्रेती ‘गोरे’ समूहले प्रहरी-भन्सारका कर्मचारीकै सहयोगमा अवैध जालो बिछ्याएको खुलेपछि अवैध कारोबारीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्रयोग गर्न थालेका छैन्।
उनीहरुले सरकारको सुविधालाई उपयोग समेत गरेको पाइन्छ। प्रहरी र त्रिभुवन विमानस्थल भन्सारको सेटिङमा सुन छिराउन असम्भव भएपछि अहिले तस्करीमा संलग्न नयाँ नयाँ विधि प्रयोग गर्न थालेका छन्।
Facebook Comment