जडीबुटीलाई आम्दानीमा बदल्ने उपाय
नेपालका विभिन्न क्षेत्रमा विभिन्न गुण भएका धेरै प्रकारका जडीबुटीहरु पाइन्छन्। त्यस्ता जडीबुटीहरुलाई परम्परादेखि विभिन्न रोग विरामको उपचारमा औषधिको रुपमा प्रयोग गरिँदै आएको छ।
जुनबेला आधुनिक औषधि विज्ञानको विकास भएको थिएन तर जडीबुटी विभिन्न रोगमा औषधिको रुपमा सेवन भइरहेको थियो। आयुर्वेदसँग जोडिएको छ जडिबुटीको इतिहास। सञ्जिवनी बुटीको नामले रामायणसँग जोडिएको छ जडीबुटीको इतिहास।
मुर्छा परेका लक्ष्मणलाई बचाउन भनेर रामले हनुमानलाई सञ्जिवनी बुटी लिन पठाउँछन्। हनुमानले सञ्जिवनी नचिनेर पहाडै बोकेर ल्याएको कथा रामायणमा प्रसिद्ध छ। मानव चेतना र सभ्यातासँगै जोडिएको छ जडीबुटीको इतिहास।
अनेक कालखण्डमा अनेक प्रयोग र अनुसन्धानले अनेक अनुसन्धान कर्ता विज्ञ ऋषिमुनीहरुले धेरै उपयोगी अनेक रोगको उपचारको लगि औषधीय गुण भएका जडीबुटी पत्ता लगाउँदै आएको इतिहास छ जडीबुटीको। अझ यो भन्दा पनि उपयोगी कति जडीबुटी पत्ता लाग्न नसकेर प्रकृतिको गर्भमा नै होलान्।
प्रकृतिले नेपाललाई धेरै जडीबुटी दिएको छ। अर्थात् नेपाल जडीबुटीको ठूलै संभावना भएको मुलुक हो। नेपालको अर्थतन्त्रलाई सवल बनाउन जडीबुटीले ठूलै योगदान दिने विश्लेषण गरेर नै नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले जडीबुटीलाई विदेशी मुद्रा आर्जनको साधन मानेर यसलाई निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न निर्देशन विचार अघि सारेका थिए।
नेपालमा नै अर्बौं रुपैयाँको जडीबुटी नेपालका औषधिजन्य उद्योगहरुलाई चाहिरहेको छ। यो माग भविश्यमा झन् बढ्न सक्छ। नेपालका आयुर्वेदिक तथा एलोपेथिक तथा अन्य प्रकारका समेत सबै औषधि उद्योगहरुलाई कच्चा पदार्थको लागि अत्यावस्यक चाहिने जडीबुटी नेपालमा नै उत्पादन गरेर आपूर्ति गर्न सकेमा पनि नेपालले अर्बाैं रुपैयाँ जोगाउन सक्छ।
तर पनि पृथ्वीनारायण बितेको यति लामो समयपछि पनि जडीबुटी निर्यात गरेर आम्दानी तान्ने खासै योजना बनाएर नेपालले उपलब्धि हासिल गरेको छैन। यसको औषधीय मात्रै होइन कि अर्थतन्त्रीय महत्व बुझेर महत्वको साथ कुनै सरकार पनि लागेको पाइएको छैन।
पृथ्वीनारायणाले जडीबुटीको महत्व बुझे जस्तै उनको मुकुट ओढ्नेदेखि मुकुट तोढ्नेसम्मका कुनै पनि उत्तराधिकारीहरुले जडीबुटीको विकास र निकासमा गम्भीर चासो दिएको पाइएन।
यदि उनीहरुले चासो दिएको भए पृथ्वीनारायणले भने जस्तो जडीबुटीले धेरै नै नगद आर्जन गरिसकेको हुने थियो। जडीबुटी मास्ने काम त धेरै भयो तर अर्थतन्त्र हास्ने काम भने भएको छैन।
जडीबुटी याने औषधिलाई आम्दानीको बाटो कसरी बनाउन सकिन्छ यसलार्ई निर्यात योग्य महत्वपूर्ण वस्तु बनाएर धेरै भन्दा धेरै विदेशी मुद्रा कसरी आर्जन गर्न सकिन्छ छलफलको विषय यसैलाई बनाएर यसैमा केन्द्रीत बनौं।
नेपालका प्राय सबै जिल्लामा कुनै न कुनै प्रकारका जडीबुटी उत्पादन भएको पाइन्छ। कुनै फलको रुपमा कुनै पात, जरा वा लहराको रुपमा होलान् पाइएकै हुन्छन्।
जे को रुपमा पाइए पनि औषधि, सौन्दर्य या अन्य केही न केहीमा उपयोगी हुने त्यस्ता जडीबुटी या बनस्पति पाइएकै हुुन्छन्। विडम्बना नै भन्नुपर्छ नेपालमा उत्पादन हुने अत्याधिक जडीबुटीहरु कौडीको मूल्यमा भारतमा निकासी हुन्छन् र अनि पछि अत्यन्तै महँगोमा तिनै प्रशोधित या औषधिको रुपमा नेपालमा भित्रिन्छन्।
उदाहरण दिएर भन्नु पर्दा एक किलो जडीबुटी भारतमा रु २०० मा बेचिन्छ। त्यही जडिबुटी भारतबाट नेपालमा रु २०० भन्दा बढी तिरेर एक ग्राममा खरिद गरेर नेपाल ल्याइन्छ। अर्थात् त्यही वस्तु नेपालले २०० मा बेचेर भारतसँग २००० मा खरिद गर्छ।
त्यो पनि औषधि बनाउने प्रमुख तत्व एक्सट्याक्ट निकालेर। अनि हामी नै भारतसँग हाम्रा व्यापारघाटा अत्यधिक भयो भनेर रोइकराई पनि गर्छौं। थाहा छैन व्यापारको उल्टो यात्राबाट हामी कहिले सच्चिने छौं।
प्रदेश ५ का बाँके, रोल्पा, रुकुम, दाङ, प्युठानमा बढी मात्रामा विभिन्न प्रकारका जडीबुटी उत्पादन हुन्छन्। त्यसरी नै कर्णालीका हुम्ला जुम्लामा पनि प्रचुर मात्रामा जडीबुटी पाइन्छन्। यी जिल्लामा उत्पादित तथा संकलित जडीबुटी सुर्खेत र नेपालगञ्जबाट भारतमा निकास भएर जान्छन्।
नेपालगञ्जबाट मात्रै वार्षिक ४ हजार देखि ७ हजार मेट्रिक टन जडीबुटी भारत निकासी भएर जान्छ। रुपन्देही, कपिलवस्तु,नवलपरासी र दाङमा रहेका जडीबुटी औषधि उद्योगले त्यही नेपालका सस्ता जडीबुटी भारतबाट महँगोमा खरिद गर्न बााध्य छन्।
यता नेपालको काठमाडौं, हेटौंडामा रहेका जडीबुटी प्रशोधन उद्योगहरुलाई भने जडीबुटीको अभाव छ। हामी नीतिगत रुपमा वा व्यवहारिक रुपमा कहाँ चुकेका छौं यसैमा छलफल गरौं। जसले जडीबुटीमा भएको यस्तो उल्टो व्यापार सच्याउन सकियोस्।
जडीबुटीलाई आफ्नै उत्पादन आफ्नै धन बनाउन किन सक्दैनौं? किन हामी सस्तोमा जडीबुटी भारतमा पठाएर फेरि भारतबाटै महँगोमा भित्र्याउन रहर हो कि बााध्यता हो? यस्ता धेरै सवालहरुको जवाफ हामीले खोज्नै पर्ने हुन्छ।
नेपालगञ्जनाका रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जट्टामासी, हड्चुरलगायत धेरै जडीबुटी भारतसहित अन्य देशहरुमा निकासी भइरहेको छ।
नेपालमा १६० भन्दा धेरै प्रकारका जडीबुटी पाइएका छन्। अनुसन्धानले भविश्यमा थपिन पनि सक्ला। अहिले भारतमा मात्रै ८० प्रकारका भन्दा बढी निर्यात भइरहेको छ। नेपालमा अर्बौंको जडीबुटीसँग जोडिएका औषधि उद्योगको लागि भारतबाट कच्चा पदार्थको आयत भइरहको छ।
तर आफ्नै मुलुकमा उत्पादित जडिबुटी भने सस्तोमा भारतमा बेच्नु पर्ने विडम्वना छ। के हो त यसको कारण? किन नेपाल कै औषधि उद्योगहरुले नेपाल कै जडीबुटी सस्तोमा किन्न पाउँदैनन्? छलफल यतातिर तन्काऔं।
नेपालमा जडीबुटीको किनबेच ओसार पसार र कर प्रणली झन्झटिलो भएको कारणले पनि नेपालको जडीबुटी धेरै भारतमा गएको हो भनिन्छ। औषधिमा प्रयोग हुने जडीबुटी एक जिल्लाबाट अर्का जिल्लामा निकासी गर्न वा लैजान बन कार्यालयको छुटपुर्जी र जिल्ला समन्वय समितिले लगाउने निकासी कर अनिवार्य तिर्नु पर्दछ।
यस्तो कर र बढी झन्झटको कारणले पनि भारतमा निकासी भएको जडीबुटी महँगो भए पनि ल्याउन सजिलो मान्छन् नेपालका व्यवसायीहरु। एउटै कर हरेक जिल्लामा अनेक पल्ट तिर्नु पर्ने झण्झट बोझले नेपालको अफ्टेरो प्रकृयामा नलागि भारतको छिटो छरितो र झण्झटहीन प्रकृयातिर लागेका रहेछन्।
भारतमा जडीबुटी बिक्री गर्न पनि समस्या नहुने र खरिद गरेर ल्याउँदा पनि एउटै प्रज्ञापनपत्र भएपछि कहीं सोधीखोजी पनि नहुने भएकोले भारतमा बेच्न पनि र भारतबाट किनेर ल्याउन पनि आकर्षित भएको पाइन्छ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय निकायले जडीबुटीलाई बेचबिखन ओसार पसारमा कम झण्झटिलो बनाएर नेपालमा किनबेच हुने परिस्थिति निर्माण गरेमा नेपालको अर्बौं रुपैयाँ बाहिर जानबाट बच्ने थियो।
जडीबुटी सम्बन्धी सरकारले बृहत परियोजनको एउटा प्याकेजको घोषणा गर्नुपर्दछ यो सम्बन्धमा गहिरो अध्यायन अनुसन्धान गरेर विज्ञहरुको राय सुझाव समेत लिएर।
जडिबुटीको अर्थ महत्व बुझेर नै नेपालको राष्ट्रको निर्माण अभियानको क्रमसँगै निर्माता पृथ्वीनारायण शाहले नेपालको निर्यातयोग्य महत्वपूर्ण वस्तुमा जडीबुटीलाई अघि सारेका थिए।
सरकारले राष्ट्रनिर्माताको सम्मान र संझनामा पृथ्वीनारायण जडीबुटी अध्ययन, अनुसन्धान विकास तथा खरिद विक्री केन्द्र स्थापना गर्न सक्छ। यो केवल सम्मानको लागि सम्मान नभएर राष्ट्रको समृध्दिको लागि हुनुपर्दछ र हुन्छ।
सरकारले नेपालका सबै जडीबुटीलाई व्यवसायिक नगदे कृषिबाली अन्तरगत राख्नु पर्दछ। कृषकहरुलाई रिण, अनुदान र अन्य प्रविधिक लगायत सहयोग सहुलियत दिएर जडीबुटी औषधिजन्य बालीमा उत्प्रेरित गर्नु पर्दछ।
समुदायमा आधिारित र सामुदायिक वनमा आधारित र ठूला वनमा आधारित विशेष ऐन नियम बनाएर जडीबुटी अनुसन्धान,उत्पादन, प्रशोधन र वेचविखनको समेत व्यवस्था मिलाउनु पर्दछ।
नेपालमा नै अर्बौं रुपैयाँको जडीबुटी नेपालका औषधिजन्य उद्योगहरुलाई चाहिरहेको छ। यो माग भविश्यमा झन् बढ्न सक्छ। नेपालका आयुर्वेदिक तथा एलोपेथिक तथा अन्य प्रकारका समेत सबै औषधि उद्योगहरुलाई कच्चा पदार्थको लागि अत्यावस्यक चाहिने जडीबुटी नेपालमा नै उत्पादन गरेर आपूर्ति गर्न सकेमा पनि नेपालले अर्बाैं रुपैयाँ जोगाउन सक्छ।
बढि उत्पादन गरेर जडीबुटीको अत्यन्तै धेरै माग भएको चीन र भारतमा प्रशोधन गरेर मात्रै निर्यात गर्न सकेमा त्यसरी नै पृथ्वीनारायण शाहले भने जस्तै अबौं नगद षैंचन सक्छ। जडीबुटी जति उत्पादन गरेपनि कहाँ बेचौं भन्ने समस्या नै छैन।
अचम्म लाग्छ सरकारको ध्यान किन यतातिर नगएको? चीन र भारत मात्र होइन नेपालका जडीबुटीको माग विश्वका जुनसुकै देशका औषधि तथा श्रृंगार सम्बन्धि उद्योगबाट हुनसक्छ। आँखै अगाडि छ भारतको डाबर तथा पतञ्जलि उद्योगहरुले जडीबुटीसँग जोडिएर कति व्यापक सन्जाल बनाएर व्यापारमार्फत कति धेरै कमाई गरिरहेका छन्।
नेपालमा जडीबुटी उत्पादन मात्र होइन जडीबुटी सम्बन्धी अध्ययन अनुसन्धान सम्बन्धी विश्वविद्यालय पनि चल्न सक्छ। जडीबुटीको अध्ययन सम्बन्धी पाठ्याक्रम पनि माध्यामिकतहदेखि नै तय गरेर पठन पाठन गरिनु पर्दछ। जसले यसको ज्ञान तलैदेखि हुन सकोस्।
परम्परागत तथा पुस्तौनी ज्ञान भएकाहरुलाई पनि यो क्षेत्रले उपयोगी श्रोत मान्न सक्छ। नेपाललाई जसले जोड्यो उसैले नेपाललाई समृद्ध बनाउन जडीबुटीमा जोड दिएका थिए, आज त्यसैलाई पत्याइएको वा पच्छ्याइएको छैन।
आज नेपालले पत्याउने र पच्छ्याउने परिस्थिति निर्माण गर्नै पर्दछ। त्यसैले मात्र नेपाललाई सम्पन बनाउन योगदान दिन्छ। बेरोजगारी घटाउन पनि योगदान दिन्छ । जे होस् जडीबुटीमा सबैले जोड दिने नीति लिनु पर्दछ।
Facebook Comment