भारतद्वारा चन्द्रयान–३ प्रक्षेपण

डिसी नेपाल
२९ असार २०८० १६:३१

बीबीसी । भारतले शुक्रवार अपरान्ह एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गरेको छ। एउटा ‘ल्यान्डर र एउटा रोभर’ सहित अन्तरिक्षतिर जाने उक्त रकेटले एक अर्ब भारतीयहरूको सपना पनि बोकेको छ। सबै कुरा योजनानुरूप नै भयो भने चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ‘रोभर’ पुर्‍याउने भारत पहिलो देश बन्ने छ। चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन।

चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन। परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सियस सम्म छ। त्यस्तो परिस्थितिमा प्राविधिक उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुन्छ।

त्यसैले अहिलेसम्म पठाइएका सबै अभियानहरू चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए। त्यो भाग र त्यहाँको तापक्रमलाई तुलनात्मक रूपमा अनुकूल मानिन्छ। भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिइएको आफ्नो चान्द्र अभियानलाई असफल हुन नदिन यथोचित उपाय अवलम्बन गरिएको जनाएको छ।

‘चन्द्रयान–२ मा प्रयुक्त सफलतामा आधारित प्रारूपको साटो हामीले चन्द्रयान–३ मा असफलतामा आधारित प्रारूप प्रयोग गरेका छौँ,’ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले भने। ‘के विफल हुन सक्छ र त्यसलाई कसरी त्यसो हुन नदिने – हामीले यही बाटो अवलम्बन गरेका छौँ,’ उनले भने।

भारत किन चन्द्रमाको निष्पट्ट अँध्यारो भागमा पुग्न चाहन्छ ?

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमा तर्फ चन्द्रयान–१ पठाएको थियो। उक्त अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिको थियो। पहिलो चन्द्र अभियानका लागि भारतले ७.९ करोड अमेरिकी डलर खर्च गरेको थियो।

‘त्यहाँ कहाँ र कति पानी छ अनि त्यो सबै जमेको अवस्थामा पो छ कि भन्ने विषयमा हामीले धेरै कुरा थाहा पाउन बाँकी छ,’ शिव नादर विश्वविद्यालयसँग आबद्ध डा आकाश सिन्हाले भने। दिल्लीनजिकै अवस्थित उक्त विश्वविद्यालयमा उनी अन्तरिक्ष रोबटिक्स विषय पढाउँछन्।

‘जलभण्डारको प्रकृति र स्थान थाहा पाउनु भविष्यमा हुने हाम्रा अभियानको सफलता र जलभण्डारनजिकै बसोबासको योजना बनाउन पनि उपयोगी हुनसक्छ।’ चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ। त्यहाँको सतहको अन्वेषण गर्दा सौर्यमण्डलको निर्माणसँग सम्बन्धित रहस्योद्घाटन पनि हुन सक्छ।

भारतको दोस्रो अभियान सञ्चालन गर्दा खर्च झन्डै दोबर भएर १२ करोड डलर पुगेको थियो। सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान-२ चन्द्रमामा अवतरण गराउन सकिएको थिएन। चन्द्रमामा त्यहाँको सतहमा घुमफिर गर्न सक्ने वाहन रोभर अवतरण र सञ्चालन गराउने तथा वैज्ञानिक प्रयोगहरू गर्ने लक्ष्यसहित अहिले भारतले चन्द्रयान–३ का लागि झन्डै ८ करोड डलर खर्च गर्न लागेको छ। विगत दुई दशकमा भारतको अन्तरिक्ष कार्यक्रममा निकै विकास भएको छ। खर्च घटाउन सक्ने सामर्थ्यका कारण विश्वको ध्यान भारततिर आकर्षित भएको छ।

‘सन् २०१८ मा भारतले एउटै पोलर स्याटलाइट भिअकल (रकेट) प्रक्षेपण गर्दा त्यसमार्फत अन्तरिक्षमा १०४ वटा भूउपग्रह पठाएर विश्वकीर्तिमान बनाएको थियो। हामीले त्यसो गर्‍यौँ किनभने हाम्रा वैज्ञानिक र इन्जिनियरहरूसँग ती १०४ वटा यन्त्र सबैलाई सही कक्षमा राख्न सक्ने कौशल र ज्ञान छ,’ स्पेसपोर्ट साराभाई नामक अन्तरिक्षको विषयमा सञ्चालित स्वतन्त्र थिङ्कट्याङ्कका महानिर्देशक डा सुष्मिता मोहन्तीले भनिन्।

उनका अनुसार पृथ्वीको तल्लो कक्षमा यस प्रकारको संवेदशनशील कार्य जोसुकैले गर्न नसक्ने उनको भनाइ छ। भारतले मङ्गल ग्रहलाई लक्ष्य बनाएर सञ्चालन गर्न लागेको मङ्गलयानको खर्च झन्डै ७.५ करोड डलर छ। त्यो नासाको म्याभन मार्स अर्बिटरका लागि छुट्ट्याइएको खर्चको दशांशजति हो। नासाले मंगल ग्रहको परिक्रमा गर्ने उक्त अर्बिटर निर्माण गर्न ४८.५ करोड डलर र प्रक्षेपण गर्न १८.७ करोड डलर छुट्ट्याएको छ।

भारतका सबै अन्तरिक्ष अभियानहरूको विशेषता के हो भने ती सबै पुनः प्रयोग गर्न सकिन्छ अनि तिनका सबै अवयवहरू स्थानीय रूपमा उपलब्ध सामग्रीबाट बनाइन्छ। यसअघिको अभियानभन्दा भिन्न चन्द्रयान–३ मा छुट्टै अर्बिटर हुने छैन। कक्षमै रहने स्याटलाइटलाई अर्बिटर भनिन्छ।

ल्यान्डर, रोभर र नियन्त्रणकक्षबीच सञ्चार गराउन यसअघि सञ्चालित चन्द्रयान–२ को अर्बिटरमै यो अभियान निर्भर हुने छ। इसरोका पूर्वअध्यक्ष के शिवनले भनेअनुसार कम शक्तिशाली रकेट प्रयोग गरेर पनि भारतले खर्च घटाएको छ। ‘यो यानलाई चन्द्रमाको कक्षमा पुर्‍याउन हामी चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गर्छौँ,’ उनले भने।

‘चन्द्रमाको कक्षसम्म पुग्न हामीलाई २९ दिन लाग्ने भए पनि चन्द्रमाको यात्राका लागि यो सबैभन्दा मितव्ययी तरिका हो।’ उनका अनुसार इजरेलले पनि त्यस्तै रणनीति प्रयोग गरेको छ। ‘सन् २०१९ को सुरुतिर पठाइएको इजरेलको बेरशीट अभियानले चन्द्रमामा जाने उही मितव्ययी मार्ग प्रयोग गरेको थियो,’ उनले भने।

भारतको अन्तरिक्ष कार्यक्रमका लागि १.५ अर्ब डलर बजेट छुट्ट्याइएको छ। ‘अन्तरिक्षको क्षेत्रमा अग्रणी शक्तिहरूमध्ये भारत सधैँ व्यावहारिक बनेको छ। हाम्रो योजनाको केन्द्रमा अभियानको मितव्ययिता हुन्छ,’ डा मोहन्ती भन्छिन्। ‘चन्द्रयान–२ लाई उदाहरण मान्न सकिन्छ जसमा वैज्ञानिकहरूले इन्धन खपत घटाउन ुअर्बिटल मेकानिक्सु का सिद्धान्तबाट फाइदा उठाए र केही दिनको साटो ४८ दिन लगाएर उक्त यानलाई चन्द्रमामा पुर्‍याए,ू उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *