श्रावण महिनाकाे महत्व
हाम्रो धार्मिक सामाजिक परम्परामा श्रावण महिनालाई कृषिको नयाँ जीवनचक्रको थालनी मानिन्छ। हुन त असार महिनामै यसको प्रारम्भ हुन्छ। तर असार महिनामा रोपाइँको चटारोका कारण धार्मिक एवं सामाजिक क्रियाकलाप अनुकूल भैसकेको हुँदैन।
साउन महिनामा रोपाइँ लगभग सकिन्छ र धर्मकर्मतर्फ बढी ध्यान गएको पाइन्छ। हाम्रा चाडबाडमध्ये कृषि संस्कृति झल्काउने चाडका रूपमा साउन महिनामा प्रकृतिसँग गाँसिएका विभिन्न परम्परा निर्वाह गर्ने चलन कृषि युगदेखि नै चलेको पाइन्छ।
साउन महिनालाई महिलाहरूले विशेष महत्वका साथमा लिन्छन्। श्रावण महिना हिन्दु क्यालेन्डरअनुसार आध्यात्मिक रूपले महत्वपूर्ण महिना मानिन्छ। हिन्दू धर्म मान्ने महिलाहरू मात्र नभएर सबै धर्म संस्कृतिका महिलाहरूले यो महिनालाई महत्वका साथ लिएको पाइन्छ।
श्रावण भगवान् शिवको विशेष पूजाआजा गरिने महिना हो। महिलाहरू यो महिनाभरि व्रत लिने, शुद्ध आहार–विहार अँगाल्ने तथा शिवजीको मन्दिर दर्शन गर्ने आदि काम गर्छन्।
भगवान् शिवको प्रिय दिन सोमबार भएकाले सक्नेले महिनाभरि र नसक्नेले साउनका प्रत्येक सोमबार ती नियम पालना गर्छन्। आध्यात्मिक दृष्टिकोणले यो महिनाको विशेष महत्व त छँदैछ।
साउन महिनामा आशुतोष भगवान् शंकरको भक्ति, आराधना एवं पूजाको विशेष महत्व छ। सांसारिकता र भौतिकताको कुनै वास्ता नगरी व्रत बस्ने एवं शिवालयमा नांगै खुट्टा हिँडेर दर्शन-पूजा गर्न जानेजस्ता क्रियाकलापले आत्मिक शान्ति प्राप्त हुने बताइन्छ।
सौभाग्यवती महिलाले साउन महिनाको सोमबार व्रत लिए अखण्ड सौभाग्य प्राप्त हुन्छ भन्ने कुरा विभिन्न धर्मग्रन्थहरूमा वर्णन गरिएको छ। यो दिन युवा–युवतीहरूले व्रत बसे मनले इच्छाएको वर वा कन्या प्राप्त हुन्छ।
हाम्रो परम्परागत मान्यताअनुसार छात्रछात्राले सोमबारका दिन व्रत लिई शिवालयमा गएर जलाभिषेक गरे विद्या एवं बुद्धि बढ्छ। बेरोजगारलाई यो व्रतको प्रभावबाट रोजगारी प्राप्त हुन्छ भने आयको मार्ग सरल हुन्छ अनि मान-प्रतिष्ठा आर्जन हुन्छ।
गृहस्थ, पेसाकर्मी, व्यवसायी वा व्यापारीले निष्ठापूर्वक साउन महिनाको सोमबारका दिन व्रत लिए धनधान्य र सुख-समृद्धि अभिवृद्धि हुन्छ। समग्रमा जुनसुकै पेसा, व्यवसाय वा विभिन्न वर्गका व्यक्तिले यो व्रत लिए उन्नति, प्रगति र कल्याण हुने बताइन्छ।
श्रावण महिनामा भगवान् शिवलाई जल चढाउने संस्कृतिसँगै नेपाली नारीहरूले हरिया चुरा, हरियो पोते, हरियै पहिरन एवं हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ। शास्त्रीय आधार नभेटिए पनि यसलाई भिन्न-भिन्न व्यक्तिले बेग्लाबेग्लै ढंगले विश्लेषण गरेको पाइन्छ।
हुन त श्रावण महिना त्यसै पनि हरियाली हुने महिना हो र यो महिना भगवान् शिवलाई प्रसन्न तुल्याउने उद्देश्यले हरियो बेलपत्र, भाङ, धतुरो एवं विभिन्न नैवेद्य तयार पारी पूजा-अर्चना गर्नुका साथै उनकै प्रतीक मानी हातमा हरियो चुरा र मेहन्दी सजाइन्छ।
सोमबार भगवान् पशुपतिनाथ एवं शिवको प्रिय दिन भएकाले यो दिन व्रत बस्दा लौकिक र पारलौकिक फल प्राप्त हुन्छ भने ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि एवं अन्तरात्मा शुद्ध हुन्छ। व्रतबाट आफ्नो संस्कारको परिचय मिल्नुका साथै शरीर स्वस्थ एवं मन शान्त रहन्छ भन्ने धारणा छ।
साउनको महिना भगवान् शिवको प्रिय महिना हो तसर्थ यो महिना शिवलाई खुसी पार्न बोलबम जाने परम्परा पनि छ। पिठ्युँमा गेरु रंगको कपडाको सिलाइएको सानो झोला, हातमा कमण्डलु, बोलबम लेखिएको गेरु रंगको भेस्ट, हाफ पाइन्टमा चिट्ट परेका कमण्डलु, बोलबम लेखिएको गेरु रंगकै साडी वा सलवार-कुर्ता लगाएका महिलाहरूले बोलबम-बोलबम भन्दै नजिकैको नदी, पोखरी, कुण्ड, ताल–तलैयाबाट जल ल्याई शिवालयमा गएर अर्पण गर्ने चलन छ।
व्रतलाई एउटा आधुनिक फेसन, देखावटी एवं ढोगको संज्ञा दिनेहरू पनि छन् तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मानसिक एवं भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यो महिना पालन गरिने नियमको आफ्नै महत्व छ।
मानिस जति नै नकारात्मक सोचको भए पनि मन्दिर जाने भनेपछि उसले आफ्नो सोच सकारात्मक बनाएको हुन्छ। उसमा थोरै भए पनि आस्था र श्रद्धाको भाव प्रकट हुन्छ।
विशेष गरी महिलाहरू नै व्रत बस्नुको कारण भने महिला र पुरुषको स्वाभाविक भिन्नता एवं प्राकृतिक बनौट हो। केही शोधकर्ताका अनुसार पुरुष बौद्धिक एवं व्यावहारिक अनि महिलाहरू विश्लेषणात्मक तथा बुद्धिले भन्दा भावनाले सोच्ने अर्थात् भावुक र हृदयले सोच्ने स्वभावका हुन्छन्।
Facebook Comment