विसं २०८१ को पञ्चांग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने

डिसी नेपाल
४ साउन २०८० १२:११

काठमाडौँ। विसं २०८१ को पञ्चांग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चांग निर्णायक विकास समितिले आह्वान गरेको छ।

पञ्चांगकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चांग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो।

आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो। गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चांग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन। स्वीकृति बिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए।

नयाँ पञ्चांगकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चांग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। म्याद नाघी आएका र अंग नपुगेका पञ्चांगलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ। भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिनसकिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *