सन्दर्भ : विपी स्मृति दिवस

के नेपाली कांग्रेस विपीवादमा फर्किएला ?

विजयप्रसाद मिश्र
६ साउन २०८० ९:०४

नेपाली कांग्रेसले महामानव भनेर प्रचार गरेको विपी कोइरालाले तयार गरेको समाजवादलाई आजका दिन कांग्रेसले खुबैसंग संझना गर्दछ। बीपीको नेपाल सुहाउँदो समाजवादको मोडलको बारेमा भाषण, लेख, विज्ञप्ति, गोष्ठीहरु खुबै आउँछन्।

नेपाली कांग्रेसले आफूलाई अहिलेसम्म विपी दर्शनकै आधारमा अगाडि बढाई रहेको छ। तर के वीपीको दर्शनलाई बीपीवादमा परिणत गर्ने गरी कांग्रेस अघि सर्छ त? कि कांग्रेसले वीपीवादलाई गुमानेको कोटमा परिवर्तन गरिसकेको छ? यो प्रश्नको उत्तर पाउन भने गाह्रो छ।

विपी बिचार समाजले विपीवाद बनाउनका लागि पटक पटक प्राज्ञिक छलफल अगाडि बढाई रहेको छ। नेपाली कांग्रेस आफैंले भने बीपीका बारेमा प्रकाशित पुस्तक लेखहरुको संग्रह गरेर ईपुस्तकालय बनाएको छ।

संग्रहको क्रम जारी रहेको देखिन्छ। हिजो आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ चलिरहेको छ। कांग्रेसका महामन्त्री गगन थापा प्रत्येक दिनजसो केही न केही बोलेर चर्चामा आइरहेका हुन्छन्।

कहिले रामचन्द्र पौडेल संसदीय दलको नेता हुँदा हुँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको उदाहरण दिएर आफू हारेको भएपनि प्रधानमन्त्री बन्न किन मिल्दैन भनेर बचकना तर्क दिन पनि छोड्दैनन्।

जबकी उनले उदाहरण दिएको संविधान कोपिक्याँच भएर नयाँ संविधान आइसकेको छ र नयाँ संविधानको धारा ७६ को (३) मा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र नियुक्त प्रधानमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने भन्ने छ।

गगन थापाले प्रधानमन्त्री हुन पाउने भनेको संविधानको धारा ७६ को (५) को प्रक्रियामा पुगेपछिको अवस्थामा हो। तर, छोरा पाउनु कहिले कहिले कन्दनी बाट्नु अहिले भनेजस्तै गगन थापालाई के लागि रहेको छ भने संसदमा पनि भावी प्रधानमन्त्रीको नामबाट चुनाव जिते।

अब त्यो नारा नै कायम राखिरहेमा २०८४ को निर्वाचन जीत्न सहज हुन्छ र ताक परे पार्टी सभापतिमा हामफाल्न पनि सहज हुन्छ भनेर हो जस्तो अनुमान लगाउन सकिन्छ।

सिरहाका प्रदीप गिरिको लागि भोट माग्दा गाउँघरमा उहाँ त प्रधानमन्त्री हुन योग्य मान्छे हो, जिताउनु भएमा प्रधानमन्त्री पक्का भन्ने गर्दथे र चुनाव जितेर आउँथे। तर प्रधानमन्त्री त के मन्त्री पनि कहिल्यै हुन चाहेनन्।

यता गगन थापा छन्, जो बेमौसममा पनि प्रधानमन्त्री कै कुरा झिकिरहन्छन्। कांग्रेसलाई विपी दर्शनलाई अहिलेको परिवर्तन अनुसार तिखारेर एउटा वाद बनाएर त्यसलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नु पर्ने कांग्रेसले पदकै लागि लुछाचुडी गरेको देख्दा कांग्रेसका साधारण सदस्यलाई लाज लाग्न थालेको गगन थापाले थाहा भएका छ्रैनन् कि भन्ने लागेको छ।

कांग्रेसले विपीको आदर्श, दर्शनलाई लिखित रुपमै छोडेको धेरै भइसकेको छ। विपीको विचार रुपी दस्तावेजलाई गिरिजाप्रसाद कोइराला र उनका अनुयायीहरुले गोमानेको कोट जस्तै बनाइसकेका छन्।

वीपीको दर्शनलाई गुमानेको कोट बनाउने अधिकार कांग्रेसका पदाधिकारीहरुलाई छैन। यहाँ गुमानेको कोट भनेको प्रसंग पनि खुलाउँदा अझ राम्रो होला। एक जना गुमानेको विवाहमा पाएको एउटा कोट थियो।

त्यही कोटी जीवनभरी लगाइ रहने, फेर्ने अर्को कोट किन्ने आर्थिक हैसियत नभएकोले कोटलाई फाटेको ठाउँमा टाल्दै लगाउँदै गरिरहन्थे। टाल्दा टाल्दा कोट जोकरले लगाउने पोशाक जस्तो भइसकेको थियो।

त्यो कोट गुमानेको कोटको रुपमा चर्चामा आयो। अहिले नेपाली कांग्रेसले पनि आफ्नो विपीको दर्शनलाई गुमानेको कोट नै बनाएको छ।

विपीको असल विचारहरुको पूर्ण संकलन पछि त्यसलाई बाद बनाउन तर्फ लाग्नु पर्दछ। गुमानेको कोटबाट मुक्त भएर ग्रामीण विकासको वीपीको मूल अवधारणा अनुसार नेता कार्यकर्ताहरुले पनि आचरण, व्यवहार, सेवा गर्न थालेभने २०८४ मा हुने निर्वाचनमा कांग्रेसको पूर्ण बहुमत आउन सक्दछ।

तर यसका लागि महामन्त्री गगन थापाको कुरिलोको खेतीको बजार नपाएकोले खेतमा जोतिदिनु परेको जस्तो ग्रामीण विकास भने गर्नु हुँदैन। गगन थापालाई नै खसीको व्यापारमा लोदर लागेको जस्तो पनि हुनु भएन।

विपीले भोला चटर्जीलाई दिनु भएको अन्तर्वार्ता पुस्तकको रुपमा प्रकाशित छ। उक्त पुस्तकको अन्त्यमा भोला चटर्जीले विपीले केही कुरा मेरो मृत्यु पछि मात्र प्रकाशन गर्नु भनेकोले कलकत्ताको आई.एस.आई. ल्याब्रेरीमा टाइप गरेर राखिदिएको छु भनेर लेखेका छन्।

उक्त सूचना लिन प्रदीप गिरिले भने बमोजिम कलकत्ता समेत पुगियो। तर चटर्जीको परिवारको सदस्यको स्वीकृति विना प्राप्त गर्न नपाइने भएपछि अहिलेसम्म त्यो कसैले खोजेको छैन। यो खोज्ने दायित्व नेपाली कांग्रेसको हो।

प्रधानमन्त्रीको दौडमा कुदिरहनेहरुको त सबैभन्दा बढी दायित्व हो। त्यसपछि विपीले आफ्नो पहिलो लेख पटनाबाट प्रकाशित हुने सर्चलाईट पत्रिकामा छापिएको छ भनेर आफ्नो डायरी र अन्तर्वार्ताहरुमा उल्लेख गर्नु भएको छ।

तर त्यो सर्च लाइट पत्रिकामा भएको पहिलो लेख खोज्ने काम गरिएको देखेको छुइन। करिब १० बर्ष अघि उक्त पत्रिका खोज्न पटनाको एक पुस्तकालयमा पुग्दा पत्रिकाहरु छरपस्ट अवस्थामा रहेको र डिजिटलमा राखेपछि भेट्न सकिन्छ भन्ने जवाफ लाइव्रेरियनले दिएका थिए। त्यो खोज्ने काम पनि कत्तिको भइरहेको छ जानकारी छैन।

प्रदीप गिरि, पद्मबहादुर थापा, जगत नेपाल लगायतका व्यक्तिहरुले विपीको बारेमा महत्वपूर्ण दस्तावेजहरु संकलन गरेको पाइन्छ। तर त्यतिमात्र पूर्णता होइन।

अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा डा. सुरेश आचार्यले नेपाली कांग्रेस र वीपीका बारेमा उपलब्ध भएसम्मका दस्तावेजहरु संकलन गर्नेकार्यमा सक्रियता देखाउनु भएको छ।

विपी विचार समाज आफैले पनि डकुमेण्डहरु संकलन गरिरहेको देखिन्छ। तर केन्द्रीय समितिको बैठकमा गोमानेको कोटमा परिवर्तन भइसकेको बीपीको दर्शनलाई कांग्रेस पार्टीभित्र कठोर रुपमा पुर्नजीवित गराउने कुरामा कसैले बोलेको वा चाँसो लिएको देखिँदैन। त्यसैले यसपालीको वीपीको संझना पनि औपचारिकतामा नै सीमित रहने पक्का पक्की छ।

आधुनिक राजनीति शास्त्रमा धेरै राजनीतिक सिद्धान्तहरु प्रतिपादन भए। बाग्मती नदीमा धेरै पानी बगिसकेजस्तै संसारमा धेरै राजनीतिक सिद्धान्तहरु आउनेजाने क्रम चलिरहेको छ।

तर विपीको दर्शनलाई वादमा परिवर्तन गर्नका लागि नेपाली कांग्रेसले चासो नदेखाई नहुने भएको छ। वीपीले मानिसको सर्वाङ्गीण विकास अथवा जीवनको सम्पूर्ण पक्षलाई छुने यस्तो कुनै संस्कृति छ, तिनलाई समात्नु, प्राप्त गर्नुलाई नै समाजवाद भनेका थिए।

समाजवाद कुनै छुट्टै कानुन होइन, आन्दोलन होइन बरु यो एउटा सांस्कृतिक आन्दोलन हो भनेका थिए। बीपीको विचारमा समाजवादको एउटा मुख्य लक्ष्य समानता हो र समानता पनि राजनीतिक तथा आर्थिक समानतामा जोड दिएका थिए।

कांग्रेसले यी दुबै समानताका लागि केही गरेजस्तो गरेको छ। तर, त्यसको प्रचार प्रसार गरेको छैन। किनकी म प्रधानमन्त्री भएपछि परिवर्तन हुन्छ भन्ने हरिलठ्ठक सोच बोक्ने प्रबृत्ति हावी हुन थालेपछि यस्तै हुन्छ।

लिडरले आफूले गरेर देखाउँछ र यसरी गर्नु पर्दछ भन्दछ। तर भविष्यका प्रधानमन्त्री बन्नेहरुले आफूलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सकेका छैनन्।

विपी कोइराला चिन्तन बढी गर्दथे। उनले हाम्रो मुलुक गरिब छ, नेपाल किसानको मुलुक हो भनेका थिए। बीपीले मिहिन रुपमा समाजवादलाई व्याख्या गर्ने क्रममा ‘जसले किसानको, हलो जोत्नेहरूको भलाइ गर्छ, जसले गाउँलाई चिनेको छ, गाउँमा बस्ने मानिसको अवस्था बुझेको छ, गाउँको भलाइको जुन नीति छ, जुन कार्यक्रम छ, त्यही नै समाजवादी नीति र कार्यक्रम हो जमिनको स्वामित्व जमिनमा काम गर्ने किसानलाई नै दिनु समाजवाद हो’ भनेका थिए।

सन् १९५२ को जनवरीमा बर्माको रङ्गुनमा एसियाली समाजवादीको सम्मेलन भएको थियो। नेपाल, भारत, जापान, इजरायल, इन्डोनेसिया, बर्मा आदि देशका प्रतिनिधिले यस सम्मेलनमा भाग लिए।

नेपालबाट विपी कोइराला र कृष्णप्रसाद भट्टराई गएका थिए। सम्मेलनले राष्ट्रिय स्वतन्त्रता, प्रजातन्त्र र आर्थिक समानतालाई प्रमुखता दिएको थियो।

समाजवाद भित्र प्रजातान्त्रिक राज्य व्यवस्था हुनुपर्ने जसमा मताधिकार, जननिर्वाचित सरकार, शासन प्रणाली, स्वतन्त्र न्यायालय, विकेन्द्रीकरण र कानुनी राज्यजस्ता विशेषताहरु अनिवार्य रहनुपर्ने भनिएको थियो।

सम्मेलनले व्यक्तिको श्रम, योग्यता, प्रतिभा आदिको सम्मान गर्दै, निजी सम्पत्तिको अधिकार रक्षा गर्ने, विपन्न वर्गलाई समान अवसरको व्यवस्था गर्ने, धर्म, संस्कृति, वर्ग, वर्ण, जाति आदि सामाजिक विविधतालाई उचित सम्मान गर्दै सन्तुलनमा राख्ने कुरालाई समाजवादको व्याख्या भित्र समेटेको थियो।

नागरिकको आधारभुत आवश्यकताको रुपमा रहेको गाँस, बास, कपास, सिशक्षा, स्वास्थ्य, सुरक्षा र अन्य कतिपय मानवीय आवश्यकता परिपूर्ति गर्न अवसर जुटाइने कुरा सम्मेलनबाट पारित भएका धारणाहरु थिए।

न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने, व्यक्तिगत महत्व र अस्तित्वको रक्षा गरी समन्वय, सद्भाव र पारस्परिक हितमा आधारित समाज निर्माण गर्ने बिषयलाई समाजवादको अवधारणा भित्र समावेश गरिएको थियो। त्यसलाई नै वीपी कोइरालाले नेपालमा पनि लागु गर्न चाहे।

२००७ सालको क्रान्तिले स्थापित नेपाली कांग्रेसले समाजवादी आन्दोलन सञ्चालन त गरेको थियो, तर अहिलेसम्म आइपुग्दा कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादको तीन खम्बालाई अवलम्बन गरेको दस्तावेजमा देखिए पनि तीनवटै विशेषताको प्रतिशत घटेर चौपट भएको देखिन्छ।

हुन त अरु राजनीतिक पार्टीहरुको हाल पनि त्यस्तै छ। तर अरुको के छ भन्नु भन्दा नेपाली कांग्रेसले के गर्दैछ भन्ने चाँसो विश्वलाई हुन्छ। त्यसैले विश्व परिवेशमा जसरी वीपी कोइरालाले आफ्नो चिन्तन दिन सफल भएका थिए त्यसैले उनका अनुयायीहरुले पनि कुनै नीति, कार्यक्रमहरु लागु गर्दा बीपीको सिद्धान्तलाई मूख्य आधार मानेर गर्नु पर्दछ। जुन पाइँदैन।

किनकी नेपाली कांग्रेसको वि.सं. २०१२ सालको वीरगञ्ज महाअधिवेशनबाट आफ्नो घोषणामा ‘समाजवाद’ भन्ने मूल सिद्धान्त पारित गरिएको थियो। बीपीले समाजवादी कार्यक्रमबाट मात्र मुलुकको विकास हुनसक्ने बताएका थिए।

तर उनकै भाइ गिरिजाप्रसाद कोइराला सत्तामा पुगेपछि देखि नै पूँजीवादी अर्थव्यवस्थालाई अनुशरण गर्न महत एण्ड कम्पनी, महेश आचार्य जस्ता मार्फत बीपी दर्शनलाई पुस्तक र दस्तावेजमा मात्र सिमित राखेर व्यवहारमा विदेशीको इशारामा विदेशीकै डम्फू बजाउने काममात्र गरिरहेका छन्।

बीपी कोइरालाले माक्र्सले चलाएको समाजवादले व्यक्तिको स्वतन्त्र अस्तित्व समाप्त पारेको बुझेर प्रजातान्त्रिक समाजवादी धारणा अघि सारेको पाइन्छ। वि.सं. २०१३ सालदेखि नेपालले सोसलिस्ट इन्टरनेसनलको पूर्ण सदस्यता प्राप्त गरेको थियो।

कांग्रेस अहिलेपनि यसको कार्यक्रममा जाने गरेको छ। तर त्यहाँ भिजन दिनभन्दा संख्या पूरा गर्नका लागि मात्र गएको हो कि भन्ने देखिएको छ। तर विपीले पटक पटक आर्थिक समानता र राजनीतिक स्वतन्त्रताको एउटा आदर्श व्यवस्था नै प्रजातान्त्रिक समाजवाद हो भन्ने गरेका थिए।

विपीले नेपाल भनेको गाउँ हो र नेपालको विकास भन्नु नै गाउँको विकास हो भन्ने कुरालाई मूल आधार बनाएर झुपडी, गाउँ र बस्तीबाट विकासको बिगुल फुक्नु पर्ने तर्क दिने गरेका थिए। आफ्नै पाखुराले आफ्नै माटोमा परिश्रम गरेर आर्थिक उन्नती गर्नुपर्दछ भन्ने उनको तर्क थियो।

प्रत्येक योजना र कार्यक्रम जनस्तरबाट सञ्चालन गराई ग्रामीण विपन्न वर्गलाई प्रोत्साहित गर्न सक्ने आधार तयार पार्न सहकारिता, विकेन्द्रीकरण आयोजनालाई ग्राहयता दिनुपर्ने तर्क दिएका थिए।

नेपाली कांग्रेसले आफ्ना सबै नेता कार्यकर्तालाई सहकारी बनाएर तयसमा आवद्ध गरायो भने कम्तिमा बीपीको विचार अनुशरण गरेको देखिन्यो।

विपीले व्यापारिक क्षेत्रमा राष्ट्रियस्तरका पुँजीपतिलाई छुट्टै संलग्न गराएर, स-साना उद्यमी एवं व्यवसायीलाई खुला आर्थिक प्रणालीका आधारमा निष्पक्ष, स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार पार्नुपर्ने तर्क दिने गरेका थिए।

उनले समाजको बहुसङ्ख्यक तल्लो वर्ग शोषणमा नपरोस भनेर सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए। तर सरकारले ध्यान नदिंदा मिटर व्याजीहरु, सहकारीमा पैसा बचत गर्नेहरु अहिले घरको न घाटको भएका छन्।

शुरुमै सरकारले अनुन्धान गरेर यत्तिको अवस्था आइनपर्ने गरी कदम चाल्नु पर्दथ्यो। तर नेताहरुलाई सिद्धान्तभन्दा सत्तामा बढी मोह, झुकाव हुन थालेपछि वीपीको दर्शन पुस्तक लेखहरु मै सिमित हुन पुगको अनुभुति भएको छ।

विपीले प्रजातान्त्रिक समाजवाद मार्फत सबैलाई त्याग, इमानदारी, कर्तव्यपालन, सिद्धान्त र व्यवहारप्रति आस्थावान बनाउने काम गर्नुपर्ने बताएका थिए। उनले स्वार्थी प्रवृत्ति, अहंकार, पदलोलुपता, इष्र्या-द्वेष, आपसी गुटबन्दीबाट पार्टी र नेता कार्यकर्ता मुक्त हुनुपर्दछ भन्दथे। तर खोई?

साच्चिकै भन्नु पर्दा वीपीले समग्रमा व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, पार्टी संगठनको अधिकार, बालिग मताधिकार, राजाको वैधानिक स्थान, संसद्प्रति उत्तरदायी सरकारको पक्षमाम वकालत गरिरहेका थिए।

राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किदा समेत उनी कानुनी शासन, पिछडिएका जनजातिको उत्थान, विकेन्द्रीकरण, सामन्ती, पुँजीवादी शोषणको अन्त्य, उत्पादन वृद्धिका उपायको प्रयोग गर्नुपर्दछ भनेर पटक पटक भनिरहन्थे।

विदेश नीतिमा पनि इमानदारीपूर्वक तटस्थ परराष्ट्र नीति हुनुपर्ने भनेपनि कांग्रेसले नै उनको विचारबाट विस्तारै आफूलाई पर पर सारिरहेको छ।

अहिलेको अवस्थामा कम्तिमा ग्रामीण क्षेत्र र समुदायलाई स्वावलम्बी बनाउनेतर्फ कांग्रेस अग्रसर भयो भने वीपीको पनि कुराको पालना हुने र २०८४ को निर्वाचनमा पनि इज्जत बच्ने सम्भावना रहन्छ। हैन भने भीरवाट लड्न लागेको कसैलाई पनि रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *