पत्रकारको मृत्युपछि युक्रेनप्रति रुस आक्रोशित, भन्यो- ‘जिम्मेवारले सजाय भोग्नुपर्छ’

डिसी नेपाल
७ साउन २०८० १५:३८

काठमाडौं । युक्रेनमा शनिबार एक रुसी पत्रकारको मृत्यु र तीनजना घाइते भएपछि दुई देशबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।

रुसी रक्षा मन्त्रालयले युक्रेनले क्लस्टर बम प्रयोग गरी गरेको आक्रमणमा पत्रकार मारिएको बताएको छ ।

अर्को घटनामा, जर्मन प्रसारक ड्यूचे वेलेले युक्रेन भित्रका आफ्ना एक पत्रकार रुसी आक्रमणमा घाइते भएको बताएको समाचार एजेन्सी रोयटर्सले बताएको छ। यस आक्रमणमा एक युक्रेनी सैनिकको पनि ज्यान गएको छ । पत्रकारको ज्यान अहिले खतरामुक्त छ ।

यही महिनामा युक्रेनले अमेरिकाबाट क्लस्टर बमको खेप प्राप्त गरेको थियो, त्यसपछि यो चर्चामा छ ।

क्लस्टर हतियारहरू अत्यन्त खतरनाक छन्। तिनीहरू विष्फोट नभइ लामो समयसम्म रहन्छन्। यसलाई नागरिकका लागि निकै खतरनाक मानिन्छ, त्यसैले विश्वका १०० भन्दा बढी देशमा यसलाई प्रतिबन्ध लगाइएको छ ।

यद्यपि समाचार एजेन्सी रोयटर्सले शनिबारको आक्रमणमा क्लस्टर हतियारको प्रयोग भएको कुरा अहिले नै पुष्टि गर्न नसकिने स्पष्ट पारेको छ। तर युक्रेन र रुस दुवैले युद्धको सुरुवातदेखि नै क्लस्टर बम प्रयोग गर्दै आएका छन्।

आक्रमणमा मारिएका रुसी पत्रकारको नाम रोस्टिस्लाभ झुराभलेभ रहेको छ । उनी सरकारी समाचार एजेन्सी रियाको युद्ध संवाददाताका रूपमा कार्यरत थिए । आक्रमणको बीचमा युक्रेनको जापोरोज्ये क्षेत्रबाट उनका तीन सहकर्मीलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आक्रमणको निन्दा गर्दै यसलाई युक्रेनको ‘आपराधिक आतंक’ भनेकी छन् । युक्रेनले यो हमला जानाजानी गरेको उनले बताइन्, यद्यपि आफूले प्रमाणित गर्ने कुनै प्रमाण भने नदिएको उनले बताए ।

जाखारोभाले भनिन्, “रुसी पत्रकार विरुद्धको क्रूर प्रतिशोधका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्छ। किभलाई क्लस्टर हतियार आपूर्ति गर्नेहरूले पनि यो जिम्मेवारी वहन गर्नुपर्छ।”

युक्रेनले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *