अनररी कन्सुलर कर्प्स नेपालको १६ औं साधारणसभा तथा चार्टर डे सम्पन्न

‘देशको आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुन्छ’

डिसी नेपाल
७ साउन २०८० २०:४०

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताएका छन्।

अवैतनिक वाणिज्य दूतहरूको सङ्गठन अनररी कन्सुलर कर्प्स नेपालको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरूलाई आह्वान गरे ।

मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

चार्टर डे २०२३ को समेत उद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

कन्सुलर १७औँ वर्षमा प्रवेश गरेको सुखद् उपललक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संस्थाले नेपालमा लगानी व्यापार र पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गरे ।

उनले संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आमजनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले भने, “यस कार्यका लागि संस्थाको पूर्ण सहयोगको अपेक्षा गर्दछु, दौत्य राष्ट्रका नागरिकलाई नेपालमा पर्यटनका रूपमा भित्र्याउन यो संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ ।”

नेपालमा लगानीका सम्भाव्यहरू जलविद्युत्, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि संस्थाले थप योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे।

कन्सुलरले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्न सम्बन्धित राष्ट्रहरूसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले विकासमा दुई पक्षीय सम्बन्ध भएका देशहरूबाट नेपाललाई आर्थिक विकासमा सक्रिय हुन आह्वान गरे। नेपालको पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा सहयोग जुटाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूतहरू, विभिन्न देशका महावाणिज्य दूत तथा वाणिज्य दूतहरू र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *