सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी बर्खास्त
काठमाडौं । गृहमन्त्रालयले डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । ३५ तोला सुनसहित पक्राउ परेका डिएसपी केसी बर्खास्त गरेको हो ।
मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उनलाई बर्खास्त गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको छ । ‘उहाँलाई बर्खास्त गरेको पत्र प्रहरी प्रधानकार्यालयमा आएको छ’, प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने ।
प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई जागिरबाटै हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो । यसअघि केसीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डिएसपी गत पुस ११ गते डीएसपी केसी ३५ तोला सुनसहित पक्राउ परेका थिए । सो विषयमा तत्कालिन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएर प्रहरी प्रधानकार्यालयले अनुसन्धान गरेको थियो । समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्षसहित निकालेको थियो । प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्तमा परेका उनी दोस्रो डिएसपी हुन यसअघि रुपकुमार न्यौपाने बर्खास्तमा परेका थिए ।
Facebook Comment