जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेलाई कारबाही गर्न युवा संघको माग

डिसी नेपाल
११ साउन २०८० २०:४७

काठमाडौं। राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा नकारात्मक पोस्टहरू देखिएपछि युवा संघले आपत्ति जनाएको छ।

युवा संघ नेपालले बिहीबार एक विज्ञप्ति जारी गरी थेबेको तस्बिर सहित श्रद्धाञ्जली दिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो कार्य गर्नेलाई पहिचान गरी हदैसम्मको कारबाही गर्न संगठनले आग्रह गरेको छ। ‘होइन भने राष्ट्रिय युवा संघ नेपाल आफैँ प्रतिरोधमा उत्रने चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

अध्यक्ष थेबेमाथि केही समयदेखि सामाजिक सञ्जालमार्फत श्रृंखलाबद्ध रूपमा प्रहार भइरहेको र यही सन्दर्भमा बिहीबार बिहानैदेखि अध्यक्षको तस्बिरलाई दुरुपयोग गर्दै श्रद्धाञ्जलीका पोस्टहरू देखिन थालेका संगठनले जनाएको छ

‘यस संगठनका नेतृत्वकर्तालाई नै श्रद्धाञ्जली दिइएको विषय आपत्तिजनक मात्रै छैन, यसले मानवीय संवेदनशीलताको परिधिलाई पार गरेको हाम्रो ठहर छ’, संगठनका महासचिव सुमन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यी र यस्ता भ्रामक पोस्टहरूले सिङ्गो राष्ट्रिय युवा संघ नेपाल नै आक्रोशित बनेको छ, सामाजिक सञ्जाललाई दुरुपयोग गरी यस्ता पोस्टहरू मार्फत मानवीय संवेदनशीलताको परिधिलाई उलङ्घन गरिएको विषय हामीलाई सह्यै छैन र हुँदैन’, विज्ञप्तिमा लेखिएको छ ।

समाज र देशका लागि केही गर्ने हुटहुटीले युवा आन्दोलनमा होमिएको योद्धालाई प्रहार गर्नु मुलुकको भविष्यमाथि नै आक्रमण गर्नु सरह भएको संगठनको ठहर छ । राजनीतिक मतभेदकै आधारमा मानवीय संवेदनशीलताको परिधिलाई बिर्सनु आफैमा जीर्ण सोचको परिणाम भएको संगठनले जनाएको छ ।

जिउँदो मानिसलाई प्रहार गर्न श्रद्धाञ्जली दिने जस्तो जीर्ण सोचलाई निरुत्साहन गर्न र यस्ता अमानवीय, घृणित एवं मर्यादितता कार्यलाई रोक्न गृह प्रशासन तथा नेपाल प्रहरी समक्ष राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *