बैतडीमा धाउलाे धुन र छलिया नाचकाे राेमाञ्चकता (तस्विरसहित)

बैतडी। साउने झरीकाकारण बाक्लो हुस्सु लागेर प्रायजसाे अन्धकार देखिने बैतडीकाे खाेडपे बजारमा आजभाेलि साँझकाे समयमा एक छुट्टै प्रकारको उत्साह देख्न पाइन्छ। डिसी नेपालले खाेड्पे बजार पुग्दा बजारका ध्याउलीयाहरु घर बाहिर आगो बाल्दै छालाबाट बनेका बाजाहरु तताउँदै गरेका भटिन्छन्।

बाजा किन त्यसरी तताएकाे भन्ने प्रश्नकाे जवाफमा, बाजा बजाउनेहरु मध्य एकजनाले डिसी नेपाललाई भने, “जस्तै गिटारहरु टुनिङ गरिन्छ, त्यस्तै हाम्रो बाजाहरूलाई मिठो बज्न छाला तन्किन पर्छ। छाला तन्काउन तातो ताप चाहिन्छ। प्राय जसो ठाँउहरुमा घाममा राखेर बाजा तताइन्छ भने हाम्रो खोडपे बजारमा सधैँ कुहिरो लाग्ने भएर घाम खासै देख्न पाइन्न। त्यही भएर हामी आगाेमा तताउने गर्छाैं। खोडपे बजार बैतडीकाे सबै भन्दा उछाइमा रहेको लेक क्षेत्रको बजार हो। बार्है महिना चिसो मौसम हुने खोडपेमा प्राय वर्षातको मौसममा बाक्लो हुस्सु लाग्ने गर्छ। अनि हिउँदमा बाक्लो करिब १ मिटरसम्मको हिउँ पर्ने गर्छ।’

साउन महिना वर्षातकाे महिना। जुन महिनाले आकाशकाे कालाे बादललाई रातदिन अँगालिरहन्छ। त्यही भएर हाेला याे साउन महिनालाई यता खोडपेमा कालो महिना भनेर चिन्निछ।

स्थानीय बिर्खराज अवस्थिले भने “यस कालो महिनाको १ देखि १५ गते सम्म भगवानहरुलाई समझेर ध्याउलो धुन बजाउने परम्परागत चलन छ”। अवस्थिसँगकाे कुराकानीकाे क्रममा ध्याउलियाहरु ताताे बाजा लिएर आउँछन्। र बाजाको तन्केको छालामा तोरीको तेल लगाउँदै बाजा बजाउन तयार हुन्छन्।

ध्याउलो धुन साँच्चिकै अतभूत धुन रहेछ। ध्याउलो धुन सुरु हुँदै गर्दा न्यानोपन सुरु हुन्छ। शक्तिशाली ध्वनीले मुटुकाे ढुकढुकी झन तेज भएको अनुभुती दिलाउँदाे रहेछ। धुन सुन्दा लाग्छ शरीर भित्रको सानो सानो कणहरुले कम्पन छाेडेर सिरिङ्ग भएकाे चिसाे ज्यान तातेकाे जस्ताे महशुस हुन्छ।

६० वर्षीय स्थानीय बासिन्दा बहादुरसिंह भाट भन्छन्, “पहिले पहिले अस्पताल हुँदैन थियाे र यो श्रावणको महिनामा अत्याधिक वर्षातको कारण, प्राय स्थानीयहरु बिरामी हुने गर्थे। आजकाल टाइफाइड भन्छन् नि, त्यस्तै खालकाे काम ज्वराेहरू आउने गर्थ्याे। साउनमा बिरामी हुनेहरुलाई बचाउन धेरै मुस्किल हुन्छ भन्ने चलन थियो।”

साउनको झरीमा पानीबाट सर्ने रोगहरु धेरै नै फैलिने गर्छन्। खोडपेमा मात्रै नभइ नेपालको विभिन्न भूभागहरूमा साउनलाई कालो अनि बिरामी हुने महिना भनेर बुझ्ने मन्यता छ। रोगबाट बच्न खानपीनमा नियन्त्रण गर्ने चलन अझै पनि यथावत नै छ।

धेरैले शुद्ध सात्विक भोजन गर्ने गर्छन्। शुद्ध सात्विक भोजन अर्थात् आफनो घरमा सफासँग लसुन-प्याज, माछा-मासु केही पनि नहाली सफा अनि सरल आहारकाे सेवन गर्छन्।

साउन महिनालाई कालाे र बिरामी हुने महिनाकाे साथै प्राकृतिक प्रकाेपकाे महिना भन्दा फरक नपर्ला। किनकि साउनमा पहाडी भेगहरुमा पहिरो अनि तराईमा बाढीको जोखिम बढ्ने गर्छ।

प्राकृतिक प्रकोपबाट बच्न र रोग फैलिन नदिनलाई भगवानलाई सम्झिने, पूजाआजा गर्ने र व्रत बस्ने चलन धेरै ठाँउमा देख्न सकिन्छ। साउनमा ध्याउलो बजाउने चलन पनि सायद रोग तथा प्रकोपबाट समाजलाई बचाउनको निम्ति एउटा पौराणिक चलन हुनुपर्छ।

अवस्थीका अनुसार पहिले पहिले मन्दिरमा हिँडेर गएर साँझमा बत्ती बाल्ने अनि सबैजना एकमुष्ट भएर ध्याउलो बजाउने चलन थियो। तर आजकल समयको व्यस्तताको कारण ध्याउलो घरघरमा, टाेलटाेलमा बजाउने चलन छ।

तन भन्दा पनि बढी मनकाे व्यस्तताले गर्दा हाेला मान्छेहरूमा एकैछिन मन्दिर जाने पनि समय छैन्। आफ्नो चलन आफनो संस्कार जोगाउनको लागि मात्र औपचारिकता जस्ताे भएको छ।

“आजकाल अस्पताल, डाक्टर,औषधि सबै छ। बिरामी हुँदा काठमाडाैंबाट हेलिकप्टर पनि लिन आइपुग्छ। पहिले जस्ताे काम ज्वारो आएर, उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता छैन।  त्यसबेला समाजमा पाैराणिक बाजा बजाउने पुजा गर्ने परम्पराहरुलाई एकदम मान्यता अनि विश्वास गर्ने चलन थियो। त्यो परम्पराहरु आजकालका पिँढीलाई रमाइलोको बिषय जस्ताे छ। आफनो चलन आफनो संस्कार जोगाउनको लागी मात्र औपचारिकताकाे रूपमा याे यथावत छ,” स्थानीय भन्छन्।

करिब आधि घण्टा ध्याउलो बजेपछि टाेलका युवाहरु जम्मा हुन थाल्छन्। त्यतिकैमा युवाहरूबाट छलिया नाच पनि नाचाैँ न भन्ने अनुरोधहरु आउन थाल्छन्। छलिया नाच बैतडीको अनौठो अनि रमाइलो नाचमा पर्छ।

ध्याउलोलाई भगवानलाई समझेर गम्भिर भएर बजाइन्छ भने छलिया नाच चाहिँ रमाइलो गर्न, बिहे अनि भोजहरुमा खुशीयाली मनाउन नाचिन्छ। अनुरोध आएपाछि त्यही अनुरूप ध्याउलीयाहरु ध्याउलोमा छलिया नाचलाई पनि समावेश गर्छन्।

ध्याउलो बजाउनेहरु मध्यमा एक जना उठेर बाजा लिएर नाच्न थाल्छन्। उसकाे वरिपरीका दर्शकहरुले खुशीयाली स्वरूप दिएका बक्सिस् पैसाहरु मुखले टिप्छ र मुखमा नोटको झुप्पा रखेर फेरि केही बेर नाच्छ।

बीचमा बाजाको टाेली नाच्दै गर्दा वारिपारिबाट स्थानीयहरु एउटै तालमा नाच्ने गर्छन्। छलिया नाचको रमाइलोको बारेमा थाहा पाउँदै गर्दा वारिपरीका बासिन्दाहरु जम्मा हुन्छन्।

धाउलाे धुन र छलिया नाच हेर्दा मन राेमाञ्चित भावमा पुगिसक्छ। राेकथामकाे एउटा कारण भनेकाे हाँस्नु र नाच्नु हाे भन्ने कुरालाई याे परम्पराद्वारा अपनाएकाे हुनुपर्छ।

कुनै बेलामा प्रकोप बाट बच्न भगवानलाई सम्झिने साउनकाे ध्याउलोले आजभोलि व्यस्ततामा हराएकाे समाजका सदस्यलाई एकैठाँउमा जम्मा गर्ने र जोड्ने काम गर्छ। अखिर मर्दा पर्दा चाहिने भनेकाे समाज नै हाे।

त्यही भएर समाज, छिमेकी र आफन्तबीच आत्मियता, गहिरो सम्बन्ध भयो भने रोगप्रकोप र जतिसुकै जटिल समस्याहरू किन नहाेस् मिलेर लड्न सकिन्छ। अनि जित्न सकिन्छ। समाजलाई जाेड्ने र समय अनुसार चल्न सिकाउने यस्ता परम्परालाई हामीले जीवन्त राख्दै आउने पिँढीलाई सकुशल हस्तान्तरण गर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *