सिंगापुरमा बीस वर्षपछि महिलालाई मृत्युदण्ड

डिसी नेपाल
१२ साउन २०८० १५:०१

सिंगापुर। अपराध नियन्त्रण गर्न मृत्युदण्ड प्रभावकारी हुने दाबी गर्दै आएको सिंगापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएकी एक महिलालाई आज मृत्युदण्ड दिएको छ।

एम्नेष्टि इन्टरनेश्नललगायत मानवअधिकारवादी संस्थाले प्राण हरणको उक्त दण्ड स्थगनका निम्ति गरेको अपीललाई बेवास्ता गर्दै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएकी ४५ वर्षीया सरिदेवी जामानीलाई फाँसी दिएको हो।

सिंगापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो। सन् २०२२ को मार्चदेखि कार्यान्वयन गरिएको यो पन्धौँ मृत्युदण्ड हो। बीस वर्षअघि यस्तै प्रकृतिको अपराधमा केशकर्तन एवम् सौन्दर्य सेवा प्रदायक केन्द्रमा काम गर्ने ३६ वर्षीय एक महिलालाई झुन्ड्याइएको थियो।

लागू औषध नियन्त्रण कार्यालयले एक विज्ञप्ति निकालेर जामानीलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ। हेरोइन तस्करीमा दाषी मानिएका ७९ वर्षका मोहम्मद अजिज बिन हुसेनलाई गत बुधबार चंगी जेलमा मृत्युदण्ड दिइएको थियो।

विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अंगीकार गरिरहेको परिप्रक्ष्यमा सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ। लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी पनि एम्नेस्टीले गरेको छ।

कोभिड–१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेको हो। अधिकारवादी संगठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले अगामी बिहीबार लागू औषध मुद्दाका अर्का दोषीलाई मृत्युदण्डको सजाय हुन लागेको जनाएको छ। पचास ग्राम हेरोइन तस्करी गरेको आरोपमा सन् २०१६ मा पक्राउ परेका उनलाई २०१९ मा अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

गत बुधबार र आज झुन्ड्याइएकाहरूलाई आममाफी दिन त्यो सम्भव नभए प्राणदण्डको सट्टा त्यसलाई आजीवन कारवासको सजायमा रुपान्तरण गर्न राष्ट्राध्यक्षसमक्ष अपील पनि गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *