ग्लोबल वार्मिङको युग सकियो, अब ग्लोबल ब्वाइलिङको युग सुरु : राष्ट्रसंघका महासचिव

डिसी नेपाल
१३ साउन २०८० १०:४४

काठमाडौं । ग्लोबल वार्मिङको युग समाप्त भएको छ र अब ग्लोबल ब्वाइलिङ युग सुरु भएको छ। यो कुरा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हो ।

जलवायु परिवर्तनमा एक रिपोर्ट जारी गर्दै गुटेरेसले यस वर्षको जुलाई महिना मानव इतिहासमा रेकर्ड गरिएको सबैभन्दा तातो महिना हुन गइरहेको बताए ।

गुटेरेसले जुलाईको पहिलो तीन हप्ताको पछिल्लो तथ्याङ्कले यो महिना अहिलेसम्म अभूतपूर्व रूपमा तातो भएको देखाउने बताए । युरोप, उत्तर अमेरिका र एसियामा तातो लहरका कारण विश्वव्यापी औसत तापक्रम बढेको छ ।

गुटेरेसले भने, “जुलाई २०२३ मानव इतिहासमा अहिलेसम्मकै सबैभन्दा तातो महिना हुन गइरहेको छ। यसका लागि हामीले यो महिनाको अन्त्यसम्म कुर्नु पर्दैन। पछिल्लो तथ्यांकले यो महिनाको तीन साता अत्यन्तै धेरै गर्मी भएको देखाएको छ। गर्मीका कारण यी तीन दिनमा कीर्तिमानी तापक्रम बढेको छ भने समुन्द्रको तापक्रम पनि अत्याधिक बढेको छ ।

“नतिजा स्पष्ट छ, यो एक त्रासदी हो। मनसुनको वर्षाले बालबालिकालाई विनाश गरिरहेको छ, परिवारहरू जङ्गलमा लागेको आगोबाट भागिरहेका छन्, कामदारहरू चर्को गर्मीसँग लडिरहेका छन्। यो सम्पूर्ण ग्रहको लागि विपत्ति हो।”

उनले भने, “ग्लोबल वार्मिङको युग सकिएको छ र अहिले ग्लोबल ब्वाइलिङको युग सुरु भएको छ। हावामा सास फेर्न गाह्रो छ, गर्मी सहन गाह्रो छ, जीवाश्म इन्धनको फाइदालाई ध्यानमा राख्दै जलवायु परिवर्तन रोक्ने प्रयास असफल भएको छ। त्यसैले यस्तो अवस्था स्वीकार गर्न सकिँदैन।”

यसैबीच विश्व मौसम विज्ञान संगठनले जतिसक्दो चाँडो जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने ठूलो आवश्यकता रहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *