कराची र लाहोरको विषयमा युरोपियन युनियनको चेतावनी, पाकिस्तान आक्रोशित

डिसी नेपाल
१७ साउन २०८० १६:४१

काठमाडौं । पाकिस्तानको हवाई क्षेत्रमा उडान गर्नु विमानको सुरक्षाका लागि प्रमुख समस्या बन्दै गएको छ । आइतबार, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) ले युरोपेली एयरलाइन्सहरूलाई धेरै पाकिस्तानी सहरहरूको हवाई क्षेत्रमा कम उचाइमा उडान गर्दा ‘उच्च जोखिम’ को चेतावनी दियो।

इएएसएले लाहोर र कराँची माथि उडान गर्दा एफएल २६० उचाइ ( २६ हजार फिट) भन्दा तल उडान नगर्न एयरलाइन्सहरूलाई चेतावनी दियो। यो चेतावनीलाई लिएर पाकिस्तान आक्रोशित भएको छ ।

आइतबार ढिलो पाकिस्तानको नागरिक उड्डयन प्राधिकरण (सीएए) ले यी दावीहरूलाई अस्वीकार गर्‍यो। सबै व्यावसायिक उडानका लागि देशको हवाई क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको प्राधिकरणले जनाएको छ ।

सीएएका प्रवक्ताले भने, ‘ईएएसएले पाकिस्तानलाई युरोपेली एयरलाइन्सलाई कुनै खतराबारे जानकारी दिएको छैन।’

इएएसएले युरोपेली एयरलाइन्सहरूलाई चेतावनी दिएको छ कि पाकिस्तानमा केही हिंसात्मक समूहहरूसँग विमानलाई क्षति पुर्‍याउन सक्ने हतियारहरू छन् जसले खतरा निम्त्याउन सक्छ।

युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीले जारी गरेको एडभाइजरीमा ‘नागरिक उड्डयनमा निरन्तर सम्भावित खतरा कायमै रहेकाले २६० भन्दा कम उचाइमा विमान उड्ने उच्च जोखिम रहेको’ भनिएको थियो ।

इएएसएले युरोपेली एयरलाइन्सलाई कराँची र लाहोर माथि उडान गर्दा सावधानी अपनाउन भनेको छ। विमानहरू तोप र क्षेप्यास्त्रबाट प्रभावित हुने जोखिममा रहेको एडभाइजरीमा चेतावनी दिइएको थियो। यसबाट बच्न पाइलटहरूलाई २६ हजार फिटको उचाइमा उडान गर्न सल्लाह दिइएको छ ।

पाकिस्तानको एयरक्राफ्ट ओनर्स अपरेटर्स एसोसिएसन (एओओए) ले यो निर्देशनलाई कडा प्रतिक्रिया दिँदै यसलाई फिर्ता लिन माग गरेको छ। संघले इएएसएलाई पहिले आफ्नै घरपछाडि हेर्न सल्लाह दिएको छ।

एओओएका संस्थापक इमरान असलम खानले ईएएसएका निर्देशनहरूलाई ‘गैरजिम्मेवार’ भनेका छन् र पाकिस्तानी एयरपोर्टबाट हरेक दिन धेरै एयरलाइन्स उडान गर्ने गरेको बताएका छन्।

युरोपेली एजेन्सीलाई आलोचना गर्दै उनले भने, ‘इएएसएले पहिले युरोपेली वायुक्षेत्रको निगरानी गर्नुपर्छ। युक्रेन र रुस युद्धपछि युरोपेली हवाई क्षेत्र विमानका लागि सुरक्षित छैन र धेरै एयरलाइन्सले आफ्नो रुट परिवर्तन गरेका छन् ।

यद्यपि युरोपेली एजेन्सीले यस्तो सल्लाह जारी गरेको यो पहिलो पटक भने होइन। गत वर्ष नोभेम्बरमा पनि यस्तै सल्लाह जारी गरिएको थियो, जसमा सबै अपरेटरहरूले पाकिस्तानमा उडान गर्दा “अत्यन्त सावधानी” अपनाउन र २४ हजार फिट तल नउड्न सिफारिस गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *