प्रचण्डले धानेको माओवादी, २०४३ सालदेखिको नेतृत्वले कहिलेसम्म थेग्ला?

शरद रिजाल
१९ साउन २०८० ७:५५

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरुले पार्टीमा विधान सम्मेलन गरेर विशेष महाधिवेशनमा जानुपर्ने माग समेत गरेका छन्।

बिरलै बस्ने माओवादीको केन्द्रीय समित बैठकमा नेताहरुले यसलाई गुनासो पोख्ने अमूल्य अवसरको रुपमा लिने गर्दछन्। २०७८ पुषमा सम्पन्न भएको आठौं महाधिवेशन पछि दास्रो पटक केन्द्रीय समितिको बैठक बसिरहेको छ।

नेपालको राजनीतिमा मौजुदा पार्टी भन्दा भिन्न परिवेशबाट संसदीय राजनीतिमा आएको माओवादीले आफूलाई सो अनुरुप रुपान्तरण गर्न नसकेपछि बैठकैपपिच्छे नेतृत्वमाथि प्रश्न उठ्ने गरेको छ।

जारी केन्द्रीय समिति बैठकमा नेताहरुले पार्टी र नेतृत्वको बारेमा आआफ्ना धारणा अभिव्यक्त गरिरहेका छन्। उनीहरुले नेतृत्वको आलोचनासम्म गर्न भ्याएका छन्। तर नेतृत्व परिवर्तनको बहस कहिल्यै गर्न सक्दैनन्।

माओवादी केन्द्र समकालीन संसदीय पार्टी भन्दा फरक पृष्ठभूमिका साथ नेपालको राजनीतिमा पर्दापण गरेकाले कार्यशैलीगत प्रवृत्ति केही पृथक छन्।

तर ती प्रवृत्ति समयानुकुल उपयुक्त हुन नसक्दा वर्तमान राजनीतिक परिस्थितिमा माओवादीको विचार र कार्यशैलीको तादाम्यता नमिलेको देखिन्छ। विगत ३७ वर्षयता अभिछिन्न रुपमा नेतृत्वमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा हालसम्मै निर्विकल्प देखिएका छन्।

२०४३ सालमा तत्कालीन नेकपा (मशाल) को निर्देशनमा भएको फौजी कारबाहीमा असफलता व्यहोरेपछि तत्कालीन महामन्त्री मोहन वैद्यले प्रचण्डलाई नेतृत्व सुम्पिएका थिए।

जुन असफल फौजी कारबाहीलाई सेक्टर काण्डको नामले चिनिन्छ। सोही समयदेखि आजसम्म पार्टीको निरन्तर नेतृत्वमा छन्।
पछिल्लो समय उनीसँग वैचारिक विमत्ति राख्ने नेताहरु समेत लर्को लागेर पार्टी छोडिसकेका छन्।

पार्टीमा उनकै एकल बोलवाला मात्रै छ। यसले उनलाई पार्टी आफ्नै अनुकूलतामा दिशानिर्देश गर्न पर्याप्त अवसर छ। तथापि उनकै नेतृत्वकालमा पार्टी अस्तित्व रक्षाको गम्भीर संकटले थलिएको छ।

उनकै एकल नेतृत्वमा रहेको पार्टीको आरोला यात्रा तिव्र गतिमा बढिरहेको छ। यस विषयमा नेताहरुले कहिल्यै समीक्षा गरेको देखिँदैन।

जीवनको सम्पूर्ण समय पार्टीको नेतृत्वमा व्यतित गर्न लागेका अध्यक्ष प्रचण्डपछिको विकल्प समेत माओवादीमा हालसम्म तयार छैन। पार्टीमा नेतृत्व परिवर्तको लाकतान्त्रिक विधि पनि प्रयोगमा ल्याउन सकेको छैन।

२०४३ सालमा तत्कालीन नेकपा(मशाल)को नेतृत्व गरेका प्रचण्ड आजसम्मै अनेकौं आरोह अवरोह पार गर्दै आज सोही पार्टीको मूल घटकको रुपमा रहेको माओवादी केन्द्रको अध्यक्ष छन्।

उनकै नेतृत्वमा २०५२ सालदेखि जनयुद्ध हुँदै शान्तिप्रक्रियामा आएर सरकारको नेतृत्व उनी आफैंले तीन पटक गरिसकेका छन्। तत्कालीन अर्का नेता बाबुराम भट्टराईसहित माओवादीले चार पटक संसदीय राजनीतिमार्फत सरकारको नेतृत्व गरिसकेको छ।

तर, पार्टीले अंगीकार गरेको विचार र कार्यशैली जनयुद्धकालीन शैलीकै छ। बदलिएको परिस्थिति अनुरुप आफूलाई रुपान्तरण नगर्नु नै माओवादीको दुरावस्थाको एक कारकको रुपमा लिन सकिन्छ। जनयुद्धकालमा गरिएको नेतृत्वको केन्द्रीकरण आज पनि यथावत् छ।

एकातिर माओवादको दर्शन अंगीकार गर्दै संसदीय व्यवस्थाविरुद्ध धावा बालेको माओवादी आज संसदीय राजनीतिमा प्रवेश गरेको दुई दशक हुनै लाग्दा उही विचार अवलम्बन गर्न बाध्य छ। यसको गम्भीर समीक्षा माओवादीले कहिल्यै गरेको छैन। छलपफल गर्न रुचिकर पनि ठान्दैनन्।

संसदीय अंकगणितमा कमजोर बन्दै गएपनि प्रचण्डको चातुर्यताले ठूला दलको सारथि बनेर सरकारको नेतृत्व गर्न सफल भएका छन्। यो सबै प्रचण्डकै संसदीय राजनीतिको चतुर्‍याँइकै उपज हो। उनीबाहेक उक्त पार्टीमा यो तहको ल्याकत र नेतृत्व गर्न सक्ने सर्वस्वीकार्य व्यक्तिको अभाव छ।

पार्टीभित्रै एकले अर्कालाई स्वीकार्ने अवस्थामा कतिपय छैनन् भने कतिपयको सामाजिक प्रतिष्ठा विविध कार्यले विवादास्पद र धुमिल बनेको छ। उनको नेतृत्व पछि माओवादीमा भरपर्दो पात्र देखिँदैन।

माओवादीमा नेताको योगदानको मापन गर्ने माध्यम जनयुद्धमा सहभागी भएको आधारमा हुने गर्दछ। उनीहरुले जनयुद्धको पृष्ठभूमि बेगरबाट आएकालाई सौतेलो व्यवहार गर्ने गर्दछन्।अनेकौं अवसर र नेतृत्वमा जनयुद्ध लड्नेहरुकै बोलवाला छ।

यसको विपरित दोस्रो वरियतामा रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जनयुद्ध लडेका पात्र होइनन्। त्यसैले उनले आगामी दिनमा सर्वस्वीकार्य रुपमा नेतृत्व लिनसक्ने सहज सम्भावना नरहेको माओवादीकै नेताहरु बताउँछन्।

उनी प्रचण्ड नेतृत्वमा एउटै पार्टी तत्कालीन एकताकेन्द्रमा रहँदा जनयुद्ध लड्ने पार्टीको निर्णय विरुद्ध असहमति जाहेर गर्दै २०५१ सालमा अलग भएर माओवादी शान्तिप्रक्रियामा आएपछि २०६५ सालमा समाहित भएका हुन्।

यद्यपि आज पार्टीको दोस्रो वरियतामा मनग्ये अवसर लिने नेतामा पर्दछन्। जनयुद्धको क्रममा नेतृत्वदायी भूमिका गरेका नेताहर आज अलग पार्टीमा पुगेका छन्।

माओवादीमा अध्यक्ष प्रचण्ड पछिको नेतृत्व को? भन्ने प्रश्नको मूर्त जवाफ कुनै पनि नेताले दिन सक्दैनन्। न त उनीहरु पार्टीमा लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गर्ने प्रस्ताव राख्न सक्छन्। अहिलेसम्म प्रचण्ड पछिको नेतृत्वको लागि पार्टीमा उपयुक्त पात्र खडा गर्न असमर्थ छन्।

देशमा गणतन्त्र ल्याएको भन्दै व्यवस्था परिवर्तनकोे हुँकार गर्ने माओवादीले आफ्नै पार्टीको भावी नेतृत्व पहिल्याउन नसकेर विगत ३७ वर्षदेखि प्रचण्डको एकल नेतृत्व स्वीकार्न विवश छ।

पार्टीको वर्तमान र भविष्य प्रचण्डमै निहित रहेको माओवादीको राजनीतिलाई नजिकबाट नियालिरहेका जानकारहरुले बताउँछन्। उनीहरुले प्रचण्डको नेतृत्व पछि माओवादीको अस्तित्व नै गम्भीर संकटमा पर्ने तर्क गर्दछन्।

उसो त प्रचण्ड स्वयमले समेत एक सार्वजनिक कार्यक्रममा पार्टीको नेतृत्व सुम्पेर किताब लेखेर बस्ने चाहना प्रकट नगरेका होइनन्।

तर उनले आफैं नेतृत्व लिने पात्रको पार्टीमा अभाव रहेको टिप्पणी गर्नुले प्रचण्ड पछि माओवादीको अस्तित्व रहनेमा आशंका गर्ने आधारहरु प्रशस्तै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *