माओवादीका पदाधिकारीको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं। नेकपा(माओवादी केन्द्र)को आइतबार बिहान बसेको पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन गर्दै ११ जना पदाधिकारीहरुलाई विशेष जिम्मेवारी दिइएको हो ।
माओवादीका एक पदाधिकारीका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण पार्टीको जिम्मेवारी दिँदै उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी दिइएको छ ।
उपाध्यक्ष अग्नी सापकोटालाई प्रचार विभागको जिम्मेवारी दिइएको छ भने पम्फा भुसाललाई जनवर्गीय संगठनको जिम्मेवारी दिइएको छ ।
गैरभौगोलिक प्रदेशको जिम्मा उपमहासचिव वर्षमान पुनले पाउँदा अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेशको जिम्मेवारी पाएका छन् ।
उपमहासचिव मातृका यादवलाई लुम्बिनी प्रदेशको जिम्मेवारी दिँदा सचिव देवेन्द्र पौडेललाई मधेश र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको छ ।
यस्तै कोशी प्रदेशको जिम्मेवारी लिलामणि पोखरेलले पाएका छन् भने कर्णाली प्रदेशको जिम्मेवारी चन्द्रप्रकाश खनालले पाएका छन् ।
१७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठक चलिरहँदा आइतबार पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको कार्यविभाजन तोकेका हुन्।
Facebook Comment