घरेलु र साना उद्योग बचाउने सरकारको दायित्व होः मन्त्री महर्जन
काठमाडौं। बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगलाई बचाउने प्रमुख दायित्व सरकारको भएको बताएका छन्।
घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला साना तथा मझौला उद्योग प्रवद्र्धनको जिम्मा सरकारको रहेको भन्दै यस्ता उद्योगलाई बचाएर मात्रै जनताको आयस्तर उकास्न सकिने धारणा राखेका छन्।
साना उद्योगलाई दिगो बनाउने विषय प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै उनले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रवद्र्धनमा प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष श्याम गिरीले सङ्घीयता कार्यान्वयनपछि अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्ने भए पनि तीन तहको सरकारमा अलमल भएको बताए।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघु, घरेलु तथा साना उद्योेगका विषय नसमेटिएको भन्दै उनले बैंकको दबाबले गर्दा उद्योगी आफ्नो व्यवसाय छाड्ने अवस्थामा पुगेको बताएका छन्। महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकहरुले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाउँदा जटिल अवस्था सिर्जना भएको भनाइ राखेका थिए।
Facebook Comment