३८ वर्षअघि अदालतमा दिएको डिभोर्सको निवेदनमा छोराछोरीको विवाहपछि फैसला आयो

डिसी नेपाल
२२ साउन २०८० १६:४६

काठमाडौं । मध्य प्रदेशको ग्वालियरमा एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक जोडीले सम्बन्धविच्छेदका लागि ३८ वर्ष कुर्नुपरेको छ ।

सन् १९८५ मा श्रीमानले अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । अहिले सोही निवेदनमा फैसला आएको छ । अदालतले दुवैलाई सम्बन्धविच्छेदको अनुमति दिएको छ । त्यो पनि ३८ वर्षपछि ।

पर्खाइ यति लामो भयो कि सम्बन्धविच्छेदका लागि निवेदन दिएका इन्जिनियरका छोराछोरीले पनि विवाह गरेका छन् ।

श्रीमतीसँग सम्बन्ध विच्छेदको यो मुद्दा भोपाल अदालतबाट सुरु भएको थियो । त्यसपछि विदिशा परिवार अदालत, ग्वालियरको पारिवारिक अदालत, त्यसपछि हाईकोर्ट र त्यसपछि सर्वोच्च अदालत पुग्यो।

सेवानिवृत्त इन्जिनियर भोपाल निवासी हुन्। जबकि उनकी श्रीमती ग्वालियर निवासी हुन्। इन्जिनियरले अब ३८ वर्षपछि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने अनुमति पाएका छन् ।

यी सेवानिवृत्त इन्जिनियरले सन् १९८१ मा आफ्नी पहिलो श्रीमतीसँग विवाह गरेका थिए । तर श्रीमतीको सन्तान नभएका कारण सन् १९८५ मा छुट्टिएका थिए । सन् १९८५ को जुलाईमा पतिले भोपालमा ४ वर्षसम्म सन्तान नभएको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन पेश गरे तर उनको दाबी अस्वीकार गरियो।

त्यसपछि श्रीमानले विदिशा अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । उल्टो सन् १९८९ को डिसेम्बरमा श्रीमतीले सम्बन्ध पुनर्स्थापनाका लागि परिवार अदालत ग्वालियरमा निवेदन दिएकी थिइन् । श्रीमान्–श्रीमतीले एकअर्काविरुद्ध गरेको पुनरावेदनका कारण यो मुद्दा लामो समयसम्म अदालतमा घुमिरह्यो ।

सम्बन्धविच्छेदका लागि श्रीमानको निवेदनमा अदालतले श्रीमानलाई सम्बन्धविच्छेदको हकदार मान्दै उनको पक्षमा फैसला गरेको थियो । तर श्रीमतीले सम्बन्धविच्छेदको आदेशको विरुद्धमा अपील गरिन्, जुन अदालतमा स्वीकृत भयो।

अप्रिल २००० मा विदिशामा श्रीमानको विचाराधीन सम्बन्धविच्छेदको मुद्दा अदालतले खारेज गर्यो। त्यसपछि श्रीमानले उच्च अदालतमा पुनरावेदन गरे । उच्च अदालतले सन् २००६ मा श्रीमानको अपील खारेज गरिदियो ।

यसविरुद्ध श्रीमानले सर्वोच्च अदालतमा एसएलपी दायर गरेका थिए । श्रीमानको एसएलपी पनि सर्वोच्च अदालतले २००८ मा खारेज गरेको थियो। श्रीमानले सन् २००८ मा फेरि सम्बन्धविच्छेदका लागि निवेदन दिए ।

जुलाई २०१५ मा विदिशा अदालतले श्रीमानको निवेदन खारेज गरिदिएको थियो । त्यसपछि उनले उच्च न्यायालयको ग्वालियर बेन्चमा अपील गरे। अन्ततः ३८ वर्षको प्रतिक्षापछि दुवैले उच्च अदालतबाट सम्बन्धविच्छेदको अनुमति पाएका छन् ।

श्रीमान्–श्रीमतीबीचको मुद्दाका कारण दुवैजना छुट्टाछुट्टै बस्दै आएका थिए । सन् १९९० मा श्रीमानले दोस्रो विवाह गरेका थिए । यस सेवानिवृत्त इन्जिनियरको दोस्रो श्रीमतीबाट दुई छोराछोरी छन्, जो विवाहित पनि छन्।

३८ वर्ष लामो कानुनी लडाइँपछि श्रीमान् र पहिलो श्रीमतीबीच सहमतिमा सम्बन्धविच्छेद भएको छ । उच्च अदालतले श्रीमतीलाई एकमुष्ट १२ लाख रुपैयाँ तिर्न श्रीमानलाई निर्देशन दिएको छ ।

वास्तवमा महिलाका बुबा प्रहरीमा कार्यरत थिए । छोरीको परिवार नटुटोस् भन्ने उनको चाहना थियो । यही कारणले महिलाले बारम्बार अदालतमा सम्बन्धविच्छेद रोक्न अपिल गरिरहेकी थिइन् ।

तर महिलाका दाजुभाइको छलफलपछि श्रीमान्–श्रीमतीले सहमतिमा सम्बन्धविच्छेद गरेका थिए । उच्च अदालतले रिटायर्ड इन्जिनियरलाई सम्बन्धविच्छेदको सट्टामा श्रीमतीलाई १२ लाख रुपैयाँ शोधभर्ना गर्न आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *