शिक्षक! तिमी को हौ?

ईश्वर अर्याल
२४ साउन २०८० ७:५८

“मिस, हेर्नुस त! नरेशलाई रुघा लागेछ” हेडसरको बोली खस्न नपाउदै आंशु र सिंगान पुछिदिदै मिसले भन्नुभयो, “आम्मै सानुलाई रुघा लागेछ, नआत्तिउ ठीक हुन्छ”।

स्कुलमा कहिले बा भए कहिले आमा भए, खेल्नलाई साथी भए, डुल्नलाई सारथी भए, बिरामीमा बैद्य भए डाक्टर भए, शिक्षकमात्रै कहाँ हो र के के भए के के भए, यी सबै नाता भुलेर, चिन्दै नचिने झै देशले भन्छ, शिक्षक! तिमी को हौ?

सामुदायिक वनको हिसाब राख्न, मै अघि सर्नुपर्ने, आमा समुहको रेखदेख मैले नै गर्नु पर्ने, दशैका खसी र गाई-भैसीका किनबेचमा मै साक्षी बस्नु पर्ने, यी सारा गुन बिर्सिएर देशले भन्छ, शिक्षक! तिमी को हौं?

गाउँमा कुलो खन्न सरले नै अघि सर्नुपर्ने, सामुदायिक वनमा सर नै बसिदिनु पर्ने, तिहारको भैलीमा, गाउँको रतौलीमा, रङ्मट्टे होस वा लिङ्गे, पिङ हाल्न सरकै भर पर्नु-पर्ने, भोजमा होस वा मेलामा सबैले सोध्छन, सर खै? तर देशले भन्छ, शिक्षक! तिमी को हौ?

तिमी सचिव भयौ, स्कुल भरि सबैलाई खाजा खुवाए, तिमी मन्त्री भयौ, गाउमा छाती फुलाए, मन्त्री नै भएनी चेला मेरै होइनौ र ? सचिव भएनी चेला मेरै होइनौ र ? गुरुकै लागि कानुन लेख्दा तिमीले नै चिनेनौं, अरुले के चिन्छ, त्यसैले त देशले भन्छ, शिक्षक! तिमी को हौं?

चौतारामा निशाफ गर्न गुरु चाहिने, अफ्ट्यारोमा हिसाब हेर्न गुरु चाहिने, बाढीमा खोला तार्न, पाटाका डाले घाँस झार्न, बिरामीलाई काँध हाल्न, ढुकढुकीमा मोठ सार्न मै पुग्नु पर्ने, कानुन लेख्ने बेला चेलाले नै गुरु बिर्सिएर त होला, देशले पनि भन्छ, शिक्षक! तिमी को हौ?

गाउँभरिको स्याहार-सुसार मैले गर्नु पर्ने, घर-गोठलाई माटो मुछ्न, गाह्रो लाउन, मै पुग्नु पर्ने, बलो र खांबो बोक्न अघि लाग्नु पर्ने, झ्याल ढोका कता राख्ने, मैले तोक्नु पर्ने, फेरि पनि देशले भन्छ, शिक्षक! तिमी को हौ?

अक्षर चिनाउने म, आँखा देखाउने म, सबलाई माया गर्न प्रेम गर्न र सहयोग गर्न सिकाउने म, मेरा लागि चेलाले नै कानुन उल्टो लेखेर त होला, कानुन लेख्ने वेला आफ्नै चेलाले गुरु, नचिनेर होला। देशले पनि भन्छ, शिक्षक! तिमी को हौं?

डटपेनले सुरुवालमा इँजार छिराएको बिर्स्यौ, ह्रस्व-दीर्घ बिर्सिरहँदा भात खाने हात र नखाने हात भनी-भनी घोकाएको बिर्स्यौ, आफ्नै चेलाले गुरु बिर्सिएर त होला, देशले पनि भन्छ, शिक्षक! तिमी को हौ?

थोरै पढ्यौ, ठूलै नेता भयौ। धेरै पढ्यौ, सचिव भयौ, ठूलै मान्छे भयौ। जति पढ्यौ, मैले नै पढाएँ। जति लेख्यौ मैले नै लेखाएँ। जब मेरा लागि कानुन लेख्नु पर्ने भयो, अंशै दिनपरेको झै किन गर्छौ, तिमीले नै नचिनेसि देशले के चिन्छ, त्यसैले त देशले भन्छ, शिक्षक! तिमी को हौ?

नागरिकतामा तिम्रो सही हुँदा खुशीले गद-गद हुने म, तिमी फेल हुँदा, कसैले नदेख्ने गरी घुक्क-घुक्क रुने म, तिमी डाक्टर तिमी ईन्जिनियर तिमी वकिल, मन्त्री, सचिब भएको देखेर/सुनेर मख्ख पर्ने म, अनि देशले भन्छ, शिक्षक! तिमी को हौ?

कर्मचारी भएकै नाताले, खरदारले मोटरसाईकल चढ्छ, सुब्वा र हाकिमले मोटर चढ्छन्, प्रा.डा. ले रु २५ बसभाडा तिर्दै, ठेलम्-ठेल गर्दै, कीर्तिपुर धाउनु पर्छ, समाजले नै नचिनेसि कसकाे के लाग्छ, त्यसैले त देशले भन्छ, शिक्षक! तिमी को हौ?

तिमी सचिव भयौ, स्कुल भरि सबैलाई खाजा खुवाए, तिमी मन्त्री भयौ, गाउमा छाती फुलाए, मन्त्री नै भएनी चेला मेरै होइनौ र ? सचिव भएनी चेला मेरै होइनौ र ? गुरुकै लागि कानुन लेख्दा तिमीले नै चिनेनौं, अरुले के चिन्छ, त्यसैले त देशले भन्छ, शिक्षक! तिमी को हौं?

कानुन लेख्ने चेला, कानुन पास गर्ने चेला, हुन्छ भन्ने चेला, हुन्न भन्ने चेला, गुरुकैलागी कानुन लेख्दा लिडेढिपी गर्दै, हुदैहुन्न भन्ने पनि मेरै चेला, त्यसैले त देशले भन्छ, शिक्षक! तिमी को हौ?

सरकार त कता हो कता माथि बस्छ, पोलियो खुवाउँदा होस वा गणनामा घर-घर पुग्दै, उसको साटो माया गासिदिनु पर्ने, जनतासँग साक्षी मै बसिदिनु पर्ने, यी सबै भुलेर फेरि पनि देशले भन्छ, शिक्षक! तिमी को हौ?

युरोप भरी शिक्षकको हाई-हाई छ, अमेरिकामा शिक्षक ठुल्दाई छ, जापानमा शिक्षकको कत्रो रवाफ छ, अष्ट्रेलिया र क्यानडामा वाह-वाही छ, यी सबै सम्झिएर, गुरु दक्षिणा ठान्दै, मनै देखि गुरु मान्दै, दिल खोलेर मेरालागी कानुन लेखिदेउन चेला, तिमीलाई सदा शुभाशिष छ, चेला तिमीलाई सदा शुभाशिष छ!!!

लेखक  अर्याल  त्रि.वि. भूगोल केन्द्रीय बिभाग कीर्तिपुरबाट विद्यावारिधी गर्दैछन्।

याे पनि पढ्नुस्

सेना…. तिमी किन चाहियो ?

तिम्रै भागमा ‘बालेन’ पर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी

देश त पहिलेकै ठिक, कसैलाई मन परोस् कि नपरोस्

कथा : लामिछाने बा का सात भाइ छोरा

हर्क, बालेन र गोपीले जोगाइदिएको गणतन्त्रको लाज

नेपालको सन्दर्भमा सामाजिक व्यवस्था र भू-उपयोग नीति

उप-निर्वाचन, रास्वपा र निर्वाचन-२०८४




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *