समानान्तर समिति गठनकाे तयारी भएपछि नेविसंघ अध्यक्षले भने-भ्रममा नपर्नु
काठमाडौं। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले कुनै भेला नबोलाएको बताएका छन्। उनले नेविसंघमा आवद्ध विद्यार्थी नेतालाई भ्रममा नपर्नसमेत आग्रह गरेका छन्।
नेविसंघको अध्यक्षको जिम्मेवारी पाएको दिनदेखि नै आफूले केन्द्रीय समिति गठनका लागि निरन्तर प्रयास गरेको उनले बताएका छन् । उनले विशेष परिस्थितिका कारण केन्द्रीय समितिले पूर्णता पाउन १७ महिना कुर्न परेको पनि बताएका छन्।
केन्द्रीय समितिमा नअटाएका विद्यार्थी नेताहरुको उचित व्यवस्थापन गर्ने कुरामा आफू गम्भीर रहेको उनले बताएका छन्। केन्द्रीय समिति विस्तारका क्रममा असन्तुष्ट रहेका नेविसंघका केही विद्यार्थी नेताले समानन्तर समिति गठन गर्न लागेपछि शेर्पाले यस्तो बताएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः
आदरणीय साथीहरु जय नेपाल !
नेपाल विद्यार्थी संघको अध्यक्षको जिम्मेवारी प्राप्त गरेको दिन देखि नै केन्द्रीय समिति गठनको निमित्त निरन्तर प्रयत्न गरिरहेको थिएँ।
तिनै तहको निर्वाचन, स्ववियु निर्वाचन, उपनिर्वाचन र मातृ पार्टीको आन्तरिक गतिविधि साथै राष्ट्रिय राजनीतिको विशेष परिस्थितिको कारण करिव १७ महिनामा केन्द्रीय समितिले पूर्णता पाएको छ।
विगत लामो समयदेखि हुन नसकेको महाधिवेशन, उमेर हदबन्दी र स्ववियु निर्वाचनलाई सफल बनाउन विभिन्न जिल्ला र क्याम्पसहरूमा साथीहरुले गर्नुभएको त्याग र मेहनतलाई सम्मान गर्न ठूलो संख्याको समिति बनाइएको छ।
अझै पनि विविध कारणवश धेरै महत्वपूर्ण साथीहरु छुट्नु भएको छ। समितिमा नाटाएका विद्यार्थी नेता साथीहरुको समेत उचित व्यवस्थापन गर्ने कुरामा म प्रतिबद्ध रहेको छु।
नेपाल विद्यार्थी संघको कलम मसाल अंकित झण्डा मुनी रहने जिम्मेवार साथीहरु प्रति अवश्य न्याय हुनेछ। तसर्थ आज नेपाल विद्यार्थी संघको नामबाट हुने भनिएको कुनै भेला नरहेको र यस्ता भ्रममा नपर्नु हुन सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु। जय नेपाल
Facebook Comment