साकारको म्याजिक युट्युब ट्रेन्डिङमा

डिसी नेपाल
२८ साउन २०८० १३:५४

काठमाडौं। ‘लिटिल बुद्ध’ का रुपमा परिचित नेपाली र्‍यापर तथा गायक साकारले नयाँ गीत ‘म्याजिक’को भिडियो सार्वजनिक गरेका छन्। ८८ सेभेज गड फिचर्ड गीतको भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा छ ।

साकारका अनुसार भिडियो नेपालमा ट्रेन्डिङ ३ मा, अष्ट्रेलियामा १४ मा र युएईमा १३ मा छ। तीन दिनअघि रिलिज गीतको भिडियो हालसम्म पाँच लाख बढी दर्शकले हेरिसकेका छन्। भिडियोमा फिचर्ड ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आएका कलाकार हुन्।

साकारको एलबम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’को सफलतापछि उनले ‘म्याजिक’ दर्शकमाझ ल्याएका हुन् ।

‘नो पिस इन लभ’ पनि नेपालको युट्युब ट्रेन्डिङमा १ नम्बरमा, अष्ट्रेलियामा ६ नम्बरमा र युएईमा ४ नम्बरमा आएको थियो ।
साकारले ‘म्याजिक’ झण्डै एक वर्षको मेहनतपछि बजारमा ल्याएको बताए।

‘मैले यसअघिको गीतभन्दा फरक संगीतमा म्याजिक ल्याएको छु। यो गीतमा दर्शकले र्‍याप, आरएण्डबी र रेट्रो डान्स म्युजिक सुन्न सक्नुहुनेछ’, उनले भने, ‘गीतमा प्रयोग गरिएको कोरस पनि आकर्षक सुनिन्छ। यो गीतलाई दर्शकले अझ बढी रुचाउनु हुनेछ भन्नेमा आशावादी छु।’

झोलेले नेतृत्व गरेको एनएफटीपी टिमले यो भिडियो निर्माण गरेको हो। भिडियोमा टीमकै निर्देशन, सम्पादन र भीएफएक्स छ। भिडियोमा कलाकारहरुले ब्रह्माण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ।

भिडियो निर्माणमा कुनै कञ्जुस्याई नगरिएको निर्माण टिमले जनाएको छ। केही वर्षयतादेखि झोले र साकारले सहकार्य गरिरहेका छन्। साकारले आगामी दिनमा पनि ८८ सेभेजगडसँग मिलेर अन्य भिडियोमा सहकार्य गर्ने जनाएका छन्।

साकारले आगामी सेप्टेम्बरबाट विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम गर्दैछन्। उक्त कार्यक्रमको व्यवस्थापन गर्दै आएको पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीइ नेटवर्क)का संस्थापक निर्देशक विकेश कायस्थका अनुसार साकारको कार्यक्रमका लागि तयारी तिब्र गतिमा भइरहेको छ। यो कम्पनीले केही समययता साकारको सांगीतिक कर्मको व्यवस्थापन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *