कविता : तिमी आउ

दिनेश घिमिरे
३० साउन २०८० १०:५७

दु:खै दु:खको संग्रह हो जीवन भने
म दुःखकोअनबरत खेती गरिरहेछु
सु:खदु:खको मिश्रणहोजीवन भने
म आजकल जीवनको मिश्रणमा छु
यहि रंगमा रमाउँछौभने तिमी आउ

ज्ञान र अज्ञानको द्वन्द्व हो जीवन भने
म आफ्नै भित्र द्वन्द्व सृजना गरिरहेछु
जीवन आफ्नै अहंकारको भीड हो भने
म आफ्नै अहंकारको आकार बनाइरहेछु
यही आकारको आहुति बन्ने भए तिमी आउ।

आफ्नो र पराई बीचको भिन्नता हो जीवन हो भने
म भिन्नताको आफ्नै पहाड बनाइरहेछु
जीवन प्रकृतिको सृजना हो भने
म आफ्नै सुगन्ध फैलाइ रहेछु
यही सृजनाको हिस्सा बन्ने भए तिमी आउ।

जीवन आशाहरूको भिड हो भने
म आफ्नै आशाहरूको गोडमेल गरिरहेछु
जीवन आफैं माथिको प्रश्न हो भने
म आफैंमा प्रश्नमाला बनाइरहेछु
यही प्रश्नहरूको उत्तर भएर आउँछौ भने तिमी आउ।

जीवन आफैंमा आफ्नाहरूको भोक हो भने
म आफ्नाहरूको अनन्त भोक बोकिरहेछु
जीवन मृत्युसम्मको गतिशीलता हो भने
म आफ्नै लागि मलामी जोडिरहेछु
मेरो मलामीको लस्करमा बस्ने मन भए तिमी आउ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *