एमालेमा सक्रिय बन्ने लेखराजको प्रस्तावमा मणिको जवाफ- सक्रिय रहन्न, अन्यत्र पनि जान्न

शरद रिजाल
३२ साउन २०८० १४:०३

काठमाडौं। नेकपा(एमाले)का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीमा सक्रियता जनाउन आनाकानी गरेका छन्।

सोमबार बसेको एमाले पदाधिकारी बैठकले लामो समयदेखि पार्टीमा सक्रियता नजनाएको भन्दै थापाको धारणा बुझ्ने अनौपचारिक निर्णय गरेको थियो।

उनको धारणा बुझ्न पदाधिकारी बैठकले दिएको जिम्मेवारी अनुसार एमाले सचिव लेखराज भट्टले बुधबार थापासँग भेट गरेका थिए।पूर्वमाओवादी समेत रहेका भट्टले थापालाई भेटेर पार्टीको सक्रिय जिम्मेवारीमा फर्कनका लागि राय समेत लिएका थिए।

एमाले सचिव भट्टको पार्टीमा सक्रिय बन्ने  प्रस्तावमा थापाले अन्योलता प्रकट गर्दै अस्वीकार गरेका छन्। एमालेमा भूमिकासहित जिम्मेवारी दिने विषयमा परामर्श गर्न भेटेका भट्टलाई उनले पार्टीमा सक्रियता जनाउने विषयमा ठोस जवाफ दिन नसकेर अनिर्णित बनेका हुन्।

थापाले पार्टीमा सक्रियता जनाउने बारेमा यथोचित जवाफ नदिएको भट्टले जानकारी दिए। पार्टीमा सक्रिय भूमिकामा रहन गरिएको आग्रहलाई थापाले अनिच्छा प्रकट गर्दै ठोस जवाफ दिन नसकेको उनले बताए।पार्टीमा सक्रिय सहभागीताका लागि आग्रह गर्दा थापाले एमालेको जिम्मेवारीमा नफर्कने आशय व्यक्त गरेको भट्टले औंल्याए।

उनले भने, ‘पार्टीमा भूमिका सहित सक्रियता जनाउने बारेमा कुनै जवाफ दिनु भएन। अहिले अन्यत्र गैहाल्ने मनस्थिति पनि नबनाएको र पार्टीमा सक्रिय रहने इच्छा पनि उहाँको देखिएन।’ पार्टीमा सक्रियता जनाउने या छाड्ने बारेमा ठोस जवाफ दिन थापा असमर्थ भएको भट्टको भनाइ छ।

भट्टसँगको भेटमा अन्य पार्टीमा जाने मनस्थितिमा पनि  नरहेको र एमालेमा सक्रियताका लागि उचित अवस्था नरहेको गुनासो थापाले गरेका थिए।अन्य पार्टीमा प्रवेश नगर्ने जिकिर गर्दै थापाले एमालेमा पनि सक्रिय भूमिकामा नरहने अन्योलपूर्ण कुरा गरेको सचिव भट्टले जनाए।

लामो समयदेखि पार्टीमा असन्तुष्ट रहेका थापा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी भएका छैनन्। गत चैत ४ देखि पार्टीबाट स्वेच्छिक बिदा लिएर देशव्यापी सांगीतिक अभियानमा हिँडेका उनी त्यसयता पार्टीमा निष्कृय देखिएका छन्।

केही समय अगाडि उनले काभ्रेमा आयोजित एक कार्यक्रममा एमाले दक्षिणपन्थी पार्टी भएको आरोप लगाएका थिए। उनको सोही आरोपपछि एमाले अध्यक्ष केपी ओली चिढिएर थापालाई पार्टीमा प्रश्रय नदिएको बताइन्छ।

तत्कालीन माओवादीको चुनवाङ बैठकमा विमति राखेर २०६२ मा पार्टीबाट बाहिरिएका उनले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका थिए। २०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा समाहित भएका थिए।

२०७५ मा एमाले र माओवादीको एकता हुँदा नेकपामा पुगेका नेता थापा सर्वोच्चको २०७७ फागुन २३ को निर्णयले दुबै पार्टीलार्ई पूर्ववत् अवस्थामा फर्काएपछि थापा एमालेमै रहेका थिए।

उनीसँगै रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, लिलबहादुर थापा, दावा तामाङलगायतका नेताहरु एमालेमै रहेका थिए।

यो पनि पढनुस्

एमालेमा निष्कृय बने मणि थापा : न पार्टी परित्याग, न त जिम्मेवारी वहन

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *