चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ असोजको पहिलो साता हुने
चितवन। लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोजको पहिलो साता चितवनमा फिल्मी अवार्ड हुने भएको छ। ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो।
मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले अवार्ड कार्यक्रम आयोजना गरिएको हो। हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले अवार्डको तयारी तीब्र पारिएको जानकारी दिए। अवार्डको कार्यक्रममा दुई दर्जन विधामा कलाकारहरुलाई सम्मान गर्ने उनले बताए।
‘असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौं। कलाकारहरु संँग बसेर मिति तय गर्ने छौं। छिट्टै मिति घोषणा हुन्छ,’ उनले भने।
चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीब्र बनाएको उनले बताए। विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया तथा भेटघाटका कार्यक्रमहरु अघि बढिरहेको कार्कीले जानकारी दिए।
‘अहिले नोमिनेसको काम तीब्र बनाएका छौं,’ उनले भने।
चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उनी बताउँछन्। वि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रर्वद्धनका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
Facebook Comment