एमालेमा ओलीको ‘प्रचण्डीकरण’

शरद रिजाल
१ भदौ २०८० १२:४३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीमा सर्वेसर्वा देखिएका छन्। उनले पार्टीमा आफ्नो अनुकूलको अधिकार प्रत्यायोजन गर्दै निर्विकल्प देखिने दाउमा लागेका छन्।

पार्टीमा एकल सर्वसम्मत नेतृत्वका रुपमा रहेका उनी पार्टीमा आफ्ना विरोधीमुक्त एमाले बनाउन सफल भएका छन्। विगत १५ वर्ष माधव नेपाल पार्टीको महासचिव हुँदा कोपभाजनमा परेका आफूपक्षीय नेताहरुलाई पार्टीमा अवसर दिइरहेका छन्।

पार्टीमा सर्वेसर्वा र निर्विकल्प बन्ने दाउमा नेपालका कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका उनको मात्रै मोह होइन। पार्टीमा आजीवन एकल नेतृत्वमा रहने प्रवृति अन्य कम्युनिष्ट पार्टीमा पनि लामो समयदेखि कायमै छ।

नेपालका अन्य कम्युनिष्ट पार्टीहरुमा पनि जीवनपर्यन्त नेतृत्वदायी पदमा आसिन हुने प्रवृत्ति व्याप्त छ। हालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पार्टीमा सर्वेसर्वा र निर्विकल्प देखिन्छन्।

उनी विगत ३७ वर्षदेखि पार्टी नेतृत्वमा अभिछिन्न रुपमा कायमै छन्। उनी २०४३ सालको अन्त्यदेखि हालसम्मै कुनै न कुनै रुपमा पार्टीको नेतृत्वमा छन्।

प्रधानमन्त्री दाहालकै राजनीतिक गुरुसमेत मानिने नेकपा (मसाल) का महामन्त्री रहेका मोहनविक्रम सिंह २०३१ सालदेखि आजपर्यन्त पार्टी नेतृत्वमा छन्। उनी पनि आफ्नो पार्टीमा निर्विकल्प देखिन्छन्। पार्टीमा विमति राख्नेलाई विभाजित हुन बाध्य पार्ने उनको विशेषता हो।

उनकै नेतृत्वको पार्टीबाट हालका माओवादी अध्यक्ष दाहाल र मोहन वैद्य, निर्मल लामालगायतका नेताहरु अलग बनेका हुन्। महामन्त्री सिंहको पार्टीलाई अन्य पार्टीका लागि नेता कार्यकर्ता उत्पादन गर्ने कारखाना भनेर कतिपयले चित्रित गर्दछन्।

अहिले माओवादी घटकका सबैजसो नेताहरु सिंहकै उत्पादन हुन्। हालसम्म पनि उनको पार्टी विभाजित हुने क्रम रोकिएको छैन। राजनीतिक रुपमा फरक मत राख्नेहरु उनको पार्टीबाट अलगै भएर नयाँ पार्टी गठन गरेको दृष्टान्त विगतदेखि हालसम्मै कायमै छ।

पछिल्लो समय यही दिशामा नेकपाका अध्यक्ष ओली देखा परेका छन्। पार्टीमा अलग समूहको नेतृत्व गर्ने माधव नेपाल बाहिरिएपछि एकल राज गरेका ओली अहिले फेरि पार्टीमा आफ्नो तस्विर अनिवार्य गर्नुपर्ने उर्दी जारी गरेका छन्।

उनको पार्टीको औपचारिक कार्यक्रममा कम्युनिष्ट पार्टीका प्रणेता कार्ल माक्र्सको तस्विर अंकित नगरेरै ओलीको राख्ने निर्णय एमालेले गरेको छ। एमालेको सोमबार बसेको सचिवालय बैठकले पार्टीका औपचारिक कार्यक्रममा एमाले अध्यक्ष ओली सहित पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको तस्विर राख्ने निर्णय गरेको हो।

तत्कालीन नेकपा (माले) र माक्र्सवादीबीच एकता भएर २०४७ सालको पाँचौ महाधिवेशन पछि बनेको नेकपा (एमाले)ले माओत्सेतुङलाई कम्युनिष्ट आन्दोलनमा आफ्नो आदर्श मान्न छाडेको थियो।

त्यसयता जनताको बहुदलीय जनबाद (जबज) लाई पथप्रदर्शक सिद्धान्त मानेको एमालेले सार्वजनिक कार्यक्रममा माक्र्स, लेनिन, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको तस्विर राखेर कार्यक्रम सञ्चालन गर्ने गर्दथ्यो।

पछिल्लो समय एमालेको कार्यक्रममा श्रेष्ठ, भण्डारी र अधिकारीको मात्रै तस्विर राखिने गरिन्थ्यो। अब ती नेतासँगै ओलीको पनि तस्विर राखिने भएको छ। कम्युनिष्ट पार्टीमा नेतृत्वको केन्द्रीकरण भन्दै गरिने यस्ता हर्कत यसअघि माओवादीले प्रचण्डपथ निर्माण गरेर देखाइसकेको छ।

माओवादीले सुरु गरेको जनयुद्धमा नेपाली क्रान्तिको मौलिक सिद्धान्त र  नयाँ वैचारिक आयाम भन्दै प्रचण्डपथ नामक मार्गदर्शक सिद्धान्त तय गरेको थियो।यद्यपि शान्ति प्रक्रियामा आएपछि २०६५ मा तत्कालीन एकताकेन्द्र नामक नारायणकाजी श्रेष्ठको सानो समूहसँग पार्टी एकता गर्दै प्रचण्डपथ परित्याग गरेको थियो।

विगतदेखि माओवादीमा  मुख्य एकल नेतृत्व र सम्पूर्ण अधिकार दाहालमाथि केन्द्रीकरण गरेको थियो। त्यसैको प्रभाव स्वरुप माओवादीमा फरक मत राख्न नेताहरुप्रति कठोर बन्दा अलग्गिए र दोस्रो तहबाट नेतृत्वको उत्तराधिकारी विकास हुन नसक्दा दाहाल अहिले पनि सर्वस्वीकार्य बन्नु पर्ने बाध्यात्मक स्थिति छ।

अहिले एमाले अध्यक्ष ओली सम्पूर्ण अधिकार निहित गर्दै आफूमा प्रचण्डशैलीको केन्द्रीकरण लाद्न कोसिस गरेका छन्। पार्टीमा एकछत्र हैकम चलाएका उनको विरोधी र फरक मत राख्ने नेताहरु नहुँदा उनलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्न सहज छ।

विगतमा फरक समूह रहेको माधव नेपाल निकटस्थ नेताहरु पनि ओलीको नेतृत्वसँग पूर्णतया आत्मसर्मपण गर्दै समाहित भएका हुन्। उनीहरुले नेतृत्वविरुद्ध असन्तुष्टि भएपनि संगठित भएर ओली इतर समूह चलाउन सक्ने अवस्था छैन।

यद्यपि भीम रावलले भने दशौं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका थिए। ओलीलाई चुनौती दिएका रावलको हविगत पार्टीमा अहिले भूमिकाविहीन बन्न पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *